कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोनाको दोस्रो प्रस्ताव अस्वीकृत

कोटिन्हो बिक्रीमा छैनन् : लिभरपुल
एएफपी

लन्डन — बार्सिलोनाले ब्राजिली प्लेमेकर फिलिप कोटिन्होमाथि राखेको दोस्रो प्रस्तावलाई पनि लिभरपुलले अस्वीकृत गरिदिएको ब्रिटिस मिडियाले दाबी गरेका छन् । बार्सिलोनाले कोटिन्होलाई भित्र्याउन बुधबार राति १० करोड प्रस्ताव राखेको बताइएको छ ।

बार्सिलोनाको दोस्रो प्रस्ताव अस्वीकृत

ब्राजिली स्ट्राइकर नेयमरलाई गत साता विश्व कीर्तिमानयुक्त २२ करोड २० लाख युरोमा पेरिस सेन्ट जर्मेनमा बेचेपछि बार्सिलोना उनको विकल्पमा भौंतारिरहेको छ । बीबीसीले जनाएअनुसार लिभरपुलले बार्सिलोनालाई कोटिन्हो बेच्नका लागि नभएको बताएको छ । कोटिन्हो सन् २०१३ मा १ करोड ५० लाख युरोमा इन्टर मिलानबाट लिभरपुल आएका थिए ।

लिभरपुल इचो समाचारपत्रले भनेको छ, ‘लिभरपुलले बार्सिलोनालाई यदि कोटिन्होमाथि उसले तेस्रो प्रस्ताव लिएर आउँछ भने त्यो समयको बर्बादीमात्र हुनेछ । नोउ क्याम्पमा नेयमरलाई कोटिन्होले स्थानान्तरण गर्दैनन् ।’

बार्सिलोनाले लियोनल मेसी र लुइस स्वारेजसँग अग्रपंक्तिको जोडी मिलाउन नेयमरको विकल्ममा मात्र नभएर कोटिन्होलाई ३३ वर्षे कप्तान आन्द्रेज इनिस्टाको सहयोगी भूमिकामा पनि हेरिएको हो । लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले गत साता बार्सिलोनालाई ‘आफ्नो शक्ति बचाएर राख्नू’ भन्दै कोटिन्हो बिक्रीका लागि नभएको जनाएका थिए ।

तर उनी सप्ताहन्तमा एट्लेटिको म्याड्रिडमाथि डब्लिनमा विजय हात पारेको खेलमा कोटिन्होलाई नलिई गएका थिए । पिठ्युँमा लागेको चोटका कारण उनले शनिबार वाटफोर्डसँग हुने आफ्नो क्लबको पहिलो प्रिमियर लिग खेल गुमाउने स्थिति देखिएको छ । कोटिन्होलाई स्पेन ल्याउन नसकेमा बार्सिलोनाले निकै प्रतिभावान मानिएका बोरुसिया डर्टमुन्डका फ्रान्सेली स्टार ओस्माने डेम्बलेमा नजर राख्ने छ ।

गत साता डर्टमुन्डका गोलरक्षक रोम बुर्कीसँग अभ्यासका क्रममा बाझाबाझ गरेका २० वर्षे डेम्बलेले एकदिन बार्सिलोनाबाट खेल्न चाहेका बताएका थिए । बार्सिलोनासँग जोडिएर नाम आएलगत्तै उनी बुधबार डर्टमुन्डको प्रशिक्षणमा देखिएका थिएनन् ।

प्रकाशित : श्रावण २७, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?