कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाद्वारा शृंखला बराबर

एएफपी

चित्तागोङ — नाथन लायनको स्पिनमा अस्ट्रेलियाले बिहीबार दोस्रो तथा अन्तिम टेस्टमा बंगलादेशलाई ७ विकेटले पराजित गरी शृंखला १–१ को बराबरीमा टुंग्याएको छ । अफ स्पिनर लायनले १ सय ५४ रन खर्चेर कुल १३ विकेट लिँदै घरेलु टोलीलाई तहसनहस पारेका थिए ।

 अस्ट्रेलियाद्वारा शृंखला बराबर

८६ रनको लक्ष्य अस्ट्रेलियाले चित्तागोङमा शीर्ष तीन ब्याट्सम्यान गुमाए पनि चौथो दिन खेलको अन्तिम सत्रमा मात्र पूरा गरेको हो । विजयी छक्का प्रहार गरेका ग्लेन म्याक्सवेल २५ र पिटर ह्यान्ड्सकोम्ब १६ रनमा नटआउट रहे । बंगलादेशले ढाकाको टेस्टमा ऐतिहासिक विजय हात पारी शृंखलामा अग्रता लिएको थियो ।

सिरिज जित्ने बंगलादेशको आशालाई लायनको स्पिन बलिङले घुमाइदिएको थियो । टेस्ट क्रिकेटमा यो उनको उत्कृष्ट बलिङ पनि हो । उनले लगातार तेस्रो पटक एकै इनिङ्समा ६ विकेट लिएपछि बंगलादेशको दोस्रो इनिङ्स १ सय ५७ रनमा सीमित भयो । उनले शृंखलामा कुल २२ विकेट लिए । दुई टेस्टको शृंखलामा अस्ट्रेलियाली बलरको यो सबैभन्दा बढी विकेट हो ।
ओपनर डेविड वार्नर पनि लगातार दुई शतक बनाउँदै प्रभावशाली रहे । उनले पहिलो इनिङ्समा बनाएको १ सय २३ रनमा अस्ट्रेलियाले ७२ रनको अग्रता लिएको थियो । ‘बेला बेलामा हामीले राम्रो क्रिकेट खेल्यौं, उनीहरूलाई पहिलो इनिङ्समा जुन स्कोरमा रोक्यौं त्यो हाम्रो सफलता थियो,’ स्टिभ स्मिथले लायनका बारेमा भने, ‘विकेटमा त्यस्तो केही चहलपहल थिएन । तर उनी असाधारण थिए ।’

लायनले ९४ रन खर्चेर ७ विकेट लिँदा अस्ट्रेलियाले बंगलादेशको पहिलो इनिङ्सलाई ३ सय ५ रनमा रोकेको थियो । ‘उनले राम्रो प्रयास गरेर सिरिजमा २२ विकेट लिए । तर यसको श्रेय बंगलादेशलाई दिनुपर्छ, उनीहरूले शृंखलामा हामीलाई निकै चुनौती दिए,’ स्मिथले भने । अस्ट्रेलियाले पहिलो इनिङ्समा ३ सय ७७ रन बनाएको थियो ।

बंगलादेशबाट कप्तान मुस्फिकर रहिमले १ सय ३ बलमा सर्वाधिक ३१ रन बनाए । तर लायनलाई रोक्न बंगलादेशका अन्य ब्याट्सम्यानलाई हम्मे–हम्मे पर्‍यो । बंगलादेशले ११ औं नम्बरका ब्याट्सम्यान लायनलाई दोस्रो ओभरमा आउट गरी दिनको खेल सुरु गरेको थियो । तिनै लायनले भोजन समयसम्म बंगलादेशलाई ८३–५ को स्थितिमा पुर्‍याइदिए ।

मुस्फिकर र सबिर रहमानले छैटौं विकेटमा ५४ रनको साझेदारी गरेपछि बंगलादेशको स्कोर हेर्नलायक बनेको हो । सबिरलाई २४ रनमा लायनले स्टम्पआउट गराएर यो साझेदारी तोडे । मुस्फिकरलाई प्याट कुमिन्सले आउट गरी बंगलादेशलाई घुँडा टेकाए । कुमिन्स र स्टिभ ओ’किफले २–२ विकेट लिए । अस्ट्रेलियाबाट दोस्रो इनिङ्समा वार्नर ८, म्याट रेनस २२ र स्मिथ १६ रनमा आउट भए ।

अस्ट्रेलियाले अब भारतसँग ५ वान डे अन्तर्राष्ट्रिय र तीन ट्वान्टी–ट्वान्टी खेल्नेछ ।

प्रकाशित : भाद्र २३, २०७४ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?