कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानबहादुर माल्दिभ्स जाने

काठमाडौं — भलिबलका राष्ट्रिय खेलाडी मानबहादुर श्रेष्ठ व्यावसायिक खेलका लागि माल्दिभ्स जाने भएका छन् । उनलाई माल्दिभ्सको स्पोर्ट्स क्लब सिटीले एउटा प्रतियोगिता खेल्नलाई आमन्त्रण गरेको हो ।

मानबहादुर माल्दिभ्स जाने

मानबहादुरले असोज २ बाट हुने एसोसिएसन कपको २६ औं संस्करणमा सहभागिता जनाउने छन् । साताव्यापी प्रतियोगितामा भाग लिन उनी बुधबार माले जाँदै छन् । 

प्रतियोगितामा भाग लिने प्रत्येक टोलीले एक अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधानअनुरुप मानबहादुरले उक्त अवसर पाएका हुन् । गत वर्ष माल्दिभ्समा सम्पन्न एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा देखाएको उनको प्रदर्शनबाट स्पोर्टस क्लब सिटी प्रभावित भएको थियो । च्याम्पियनसिपमा नेपाललाई तेस्रो स्थान दिलाउँदा उनले उत्कृष्ट आउटसाइड अट्याकरको उपाधि जितेका थिए । त्यति बेलादेखि उनी क्लब सिटीको सम्पर्कमा थिए । 

प्रतियोगिताका लागि ३–४ महिनायता उक्त क्लबसँग निरन्तर सम्पर्कमा रहेको मानबहादुरले बताए । ‘क्लबले माल्दिभ्समै हुँदा मसँग छलफल गरेको थियो । प्रतियोगिता हुने तय भएपछि कुराकानी अघि बढेको हो । क्लबले अन्तर्राष्ट्रिय कोटामा मलाई राख्ने भनेपछि मैले प्रस्ताव स्वीकारें,’ उनले कान्तिपुरसँग भने ।

सोमबार सम्पन्न पल्सर स्पोर्ट्स अवार्डको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका उनले राष्ट्रिय पुरुष भलिबल टोलीमा रहेर टिम अफ द इयरको अवार्ड थापेका थिए । 

क्लब सिटीबाट प्रतियोगिता खेलेवापत उनले एक हजार डलर पाउने छन् । उनको आतेजाते र बस्ने सम्पूर्ण खर्च क्लबले नै बेहोर्ने छ । सहभागी अन्य क्लबबाट भारत, श्रीलंका लगायत दक्षिण एसियाली राष्ट्रका खेलाडीले सहभागिता जनाउने बताइएको छ । 

मानबहादुर माल्दिभ्समा व्यावसायिक भलिबल खेल्ने नेपालका पहिलो पुरुष खेलाडी हुन् । यसअघि नेपालका महिला खेलाडीले माल्दिभ्सबाट लिग भलिबल खेलिसकेका छन् । हालको राष्ट्रिय टोलीका सदस्य प्रतिभा माली, मन्जु गुरुङ, अरूणा शाही, कोपिला उप्रेतीलगायत खेलाडी पनि बेला–बेलामा प्रतियोगितामा सहभागिता जनाउन माल्दिभ्स पुग्ने गरेका छन् ।


मानबहादुर श्रेष्ठ
उमेर : २२ वर्ष
जन्मस्थान : पुरानो कावासोती, नवलपरासी
राष्ट्रिय टोलीबाट डेब्यू : सन् २०१५ (बंगलादेशविरुद्ध)
आबद्ध क्लब : पश्चिमाञ्चल (२०६८), नेपाल पुलिस क्लब (२०६९/७०), त्रिभुवन आर्मी क्लब (२०७१/हाल)
व्यक्तिगत उपाधि : प्रधानसेनापति कप २०७३ (उत्कृष्ट खेलाडी), केशवलाल स्मृति कप २०७२ (उत्कृष्ट खेलाडी), एनभीए कप २०७३ (उत्कृष्ट सर्भर)

प्रकाशित : भाद्र २८, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?