कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोमीको लक्ष्य कुशल व्यवस्थापक

कान्तिपुर संवाददाता

काठमाडौं — खेलकुद विकासका लागि शिक्षाको अन्योन्याश्रित सम्बन्ध हुन्छ । नेपाली खेलकुदको वर्तमान अवस्था हेर्ने हो भने शिक्षित कर्मचारी र पदाधिकारीको अभावकै कारण खेलकुदको विकास आशाअनुसार भएको पाइँदैन ।

रोमीको लक्ष्य कुशल व्यवस्थापक

नेपाली खेलकुदमा व्यवस्थापनको पाटो कमजोर हुनाले खेलाडीहरू बेला–बेलामा समस्यामा परेका थुप्रै उदाहरण छन् ।

जोरपाटीकी रोमी गिरी अहिले २३ वर्ष पुगिन् । २०५८ सालमा काकाको सिको गर्दै तेक्वान्दो खेलमा छिरेकी रोमी अहिले खेलाडीभन्दा रेफ्री र प्रशिक्षकको भूमिकामा देखिन्छिन् । पढाइलाई प्राथमिकतामा राखेकी उनले खेललाई पनि त्यत्तिकै आत्मसात् गर्दै आएकी छन् । खेलाडीमात्र बनेर अगाडि बढ्दा पढाइमा असर पर्ने भएपछि उनले खेलाडी बन्ने सपना छोडिन् ।

अहिले केएफएमा एमबीए पढ्दै गरेकी रोमी भविष्यमा तेक्वान्दो खेलको विकासका लागि जुट्ने प्रण गर्छिन् । अहिले वाणिज्य मन्त्रालयअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समितिमा कार्यरत रोमीले अहिले पनि आफ्नो स्थानबाट तेक्वान्दोलाई सक्दो सहयोग गर्दै आएको बताइन् । तेक्वान्दो खेलाडीका रूपमा उनी गत वर्ष अमेरिकी दूतावासको युवा काउन्सिलको सदस्य पनि रहेकी थिइन् ।

रोमीका लागि पछिल्लो वर्ष विशेष रह्यो । गत वैशाखमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले विश्व तेक्वान्दो महासंघ, नेपाल तेक्वान्दो संघ र युथ लिडरसिप कार्यक्रमको प्रतिनिधित्व गरिन् । कार्यक्रममा शान्ति र विकासका लागि खेलकुदलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा उनले आफ्नो अभिव्यक्ति दिएकी थिइन् । नेपालको तर्फबाट यस कार्यक्रममा सहभागिता जनाउने रोमी पहिलो व्यक्ति हुन् । उनले त्यहाँबाट धेरै कुरा सिकेको र आउने दिनमा त्यसलाई अवलम्बन गर्ने बताइन् ।

रोमी अहिले पारा तेक्वान्दो कार्यसमितिमा छिन् । यस क्षेत्रमा नेपालको भविष्य राम्रो रहेको उनको बुझाइ छ । ‘हामीले पारा तेक्वान्दोमा नेपालको भविष्य राम्रो रहेको पायौं । त्यसैको विकासका लागि मैले अन्य निजी क्षेत्रसँग सहकार्य गरेर केही कार्यक्रम ल्याउने प्रयास गरिरहेको छु । हामीले छिट्टै बेलायतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभगिता जनाउँदै छौं,’ उनले भनिन् । यसबाहेक उनले महिला समितिको कोषाध्यक्षमा पनि काम गरेकी छन् । उनकै सहभागितामा गत वर्ष पहिलो महिला तेक्वान्दो प्रतियोगिता पनि भएको थियो । उनले आउने दिनमा पनि महिलालाई खेलमा आकर्षित गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने बताइन् ।

सन् २०१५ मा जापानमा आयोजित युवा लिडरसिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेकी रोमी आउने दिनमा तेक्वान्दोमा पूर्ण रूपमा लाग्न चाहन्छिन् । उनले नेपालको वर्तमान स्थितिबारे चिन्ता व्यक्त गरिन् । ‘हाम्रो अहिलेको स्थिति खासै राम्रो छैन । तर खेलाडीहरूले निकै मिहिनेत गरेर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । व्यवस्थापन अझै सुधार्दै जाने हो भने खेलाडीको स्तर पनि माथि पुग्छ ।

खेलको विकासमा शिक्षित व्यवस्थापन चाहिने हुन्छ, जुन अहिले व्याप्त छैन,’ उनले भनिन् । रोमीकी बहिनी रोजी पनि तेक्वान्दोकै खेलाडी हुन् । उनले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदै आएकी छन् । रोजीजस्ता अन्य धेरै खेलाडीको भविष्य खेलमै रहेर सुनिश्चित पार्ने लक्ष्य रोमीको छ । आफ्नो पढाइ सकिएपछि तेक्वान्दोमै रहेर खेलको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको लक्ष्य छ ।

प्रकाशित : आश्विन १२, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?