कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको लक्ष्य पहिलो जित

सुबास हुमागाईं

काठमाडौं — एएफसी एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ का सुरुआती तीन खेलमा जितविहीन नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार ताजिकिस्तानको सामना गर्दै छ । एक अंकसहित नेपाल पुछारमा छ भने फिलिपिन्स ७ अंक लिएर शीर्षस्थानमा छ ।

नेपालको लक्ष्य पहिलो जित

दोस्रो स्थानको यमनसँग ५ अंक छ । नेपाललाई पराजित गरेको ताजिकिस्तानको खातामा ३ अंक छ । नेपाललाई प्रतियोगिताको अन्तिम चरणमा छनोट हुने सम्भावना बलियो राख्न यो खेल जित्नैपर्ने दबाब छ ।

नेपालले यो खेलमा नयाँ संरचना प्रयोग गर्दै छ । नेपालले विगतका खेलमा प्रयोग गर्दै आएको ४–४–२ को रणनीति छाडेर ३–४–३ अपनाउँदै छ । टोलीले तीन सातायता यसै संरचनामा अभ्यस्त हुन दैनिक प्रशिक्षण गरिरहेको छ । यो रणनीति प्रयोग गर्दा टोलीमा पहिलाभन्दा बढी सन्तुलन आउने प्रशिक्षक ग्योतोकु कोजीको विश्वास छ ।

खेलको पूर्वसन्ध्यामा प्रशिक्षक कोजीले नेपाली टोली पहिलो जितका लागि उत्रने बताए । ‘ताजिकिस्तानसँगको खेल निकै कठिन हुनेछ तर हामी जितका लागि यहाँ आएका हौं । पछिल्लो खेलमा घरेलु मैदानमा पराजित भए पनि हामी त्यसको बदला लिने छौं,’ उनले थपे, ‘ताजिकिस्तान हामीभन्दा माथिल्लो स्तरको टोली भए पनि उसका पनि कमजोरी पक्ष छन् । हामी त्यसैको फाइदा उठाउने प्रयासमा हुन्छौं ।’

प्रशिक्षक कोजीले समूहमा फिलिपिन्स सबैभन्दा बलियो टोली रहेको बताए । यमन र ताजिकिस्तान नेपालभन्दा केही राम्रो स्तरको टोली रहेको उनको बुझाइ छ । यद्यपि उनले फुटबलमा राम्रो खेल्ने टोलीले जित्ने हुनाले मैदानमा प्रदर्शन गर्न नसके टोलीको वरीयता र स्तरले केही फरक नपर्ने बताए ।

नेपालका कप्तान विराज महर्जनले ताजिकिस्तानविरुद्धको खेल निकै कठिन हुने बताए । ‘ताजिकिस्तानमा निकै बलिया खेलाडी छन् । प्रशिक्षकले भनेझैं हामी ३ अंककै लागि आएका हौं, ’ उनले थपे, ‘हामीले खेलमा पाएको मौकाको सदुपयोग गरेर आयोजक टोलीमाथि दबाब सिर्जना गर्ने प्रयास हुनेछ ।’

नयाँ संरचनामा उत्रने नेपाली टोलीमा पछिल्लो खेलको तुलनामा केही परिवर्तन हुने सम्भावना छ । तीन सेन्टर डिफेन्डर खेल्ने भएपछि कमल श्रेष्ठ र विराज महर्जन बेन्चमा रहने सम्भावना छ । अनन्त तामाङसँग आदित्य चौधरी र देवेन्द्र तामाङले डिफेन्स सम्हाल्ने छन् । वाइड मिडफिल्डको भूमिकामा प्रशिक्षक कोजीले भरत खवास र सुजल श्रेष्ठलाई उतार्ने तयारी गरेका छन् । यस संरचनामा पहिलाको तुलनामा दुवै खेलाडी बढी रक्षात्मक भूमिकामा हुनेछन् ।

मिडफिल्डको मध्यभाग सम्हाल्ने जिम्मेवारी रोहित चन्द र विशाल राईको काँधमा हुनेछ । पछिल्लो खेलमा डेब्यू गरेका फरवार्ड जर्ज प्रिन्स कार्की पहिलोपल्ट सुरुआती लाइनअपमा पर्ने सम्भावना छ । उनीसँगै विमल घर्तीमगर र अन्जन विष्टले आक्रमणको जिम्मेवारी सम्हाल्ने छन् ।

ताजिकिस्तानविरुद्ध नेपाल 
हिसोर रंगशाला
समय – साँझ ६:४५ बजे (नेपाली समय)

प्रकाशित : आश्विन २४, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?