कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९२ करोडमा रंगशाला बनाइने

कान्तिपुर संवाददाता

काठमाडौं — कीर्तिपुरमा करिब ९२ करोड लागतमा नेपाल जोरखाने खेलकुद संघले बहुउद्देश्यीय रंगशाला बनाउने भएको छ । त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष रहेका इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले आर्थिक सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे । कुल लागतको ७५ प्रतिशत अन्तर्राष्ट्रिय महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था गर्ने जनाइएको छ ।

जग्गासम्बन्धी सम्झौतामा अध्यक्ष मानन्धर र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले हस्ताक्षर गरे । कीर्तिपुर नगरपालिका–१० मा १८ देखि २० रोपनी जग्गा रंगशाला निर्माणका लागि उपलब्ध गराउने मेयर महर्जनले बताए ।

चाँडै नै डीपीआर तयार गरी निर्माण  थाल्ने जनाउँदै अध्यक्ष मानन्धरले ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । रंगशाला हातामा जोरखाने स्टेडियमसहित बहुउद्देश्यीय कभर्डहल, स्विमिङ पुल, आवास गृह, रेस्टुरेन्ट र जिम्न्याजियम रहनेछ । 

दक्षिण एसियाली जोरखाने
यसैबीच प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता राखेप कभर्डहलमा शुक्रबार सुरु हुँदै छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी हुने जनाइएको छ । जोरखानेमा ७ र कुस्तीमा ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?