कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारस तेस्रो नम्बरमा तयार

कान्तिपुर संवाददाता

काठमाडौं — शरद टोलीका प्रमुख ब्याट्सम्यान हुन् । उनले १० खेलमा नेपालबाट ३ सय २१ रन बनाएका छन् । उनीभन्दा बढी रन च्याम्पियनसिपमा कप्तान पारस खड्का (३५२) ले बनाएका छन् । शरद नखेल्ने भएपछि तेस्रो नम्बरमा पारसले खेल्ने भएका छन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनपछि पारस ब्याटिङमा आउने छन् । ‘हामीले अभ्यास खेल र सिनारियो ट्रेनिङमा प्रमुख ब्याट्सम्यानलाई फरक र जुनै स्थितिमा ब्याटिङ गराएका थियौं, त्यही भएर अब स्थिति आउँदा जिम्मेबारी लिने बेला भएको छ,’ पारसले भने, ‘शरद नहुनु घाटा हो, तर टिम पहिलो हो । म तेस्रो नम्बरमा ब्याटिङ गर्न तयार छु ।’

पारसको अनुपस्थितिमा केन्यासँग ‘डेब्यू’ गर्दै चौथो नम्बरमा खेलेका दीपेन्द्रसिंह ऐरी पुन: सोही स्थानमा आउने छन् । आरिफ शेख पाँचौं, विनोद भण्डारी छैटौं, सोमपाल कामी सातौं, करण केसी आठौं र वसन्त रेग्मीलाई नवौं नम्बरमा खेलाउने नेपाली टोलीको तालिका छ ।

‘नेपाल सजिलो प्रतिद्वन्द्वी होइन’
अस्ट्रेलियामा चार अभ्यास खेल खेलेर हङकङ टोली नेपालसँगको खेलका लागि तयार भएको हो । ‘यो अहिले हाम्रो अफ सिजन हो, तर अस्ट्रेलियामा हामीले ११ दिन बिताएर राम्रो अभ्यास गर्‍यौं, हामी राम्रो लयमा छौं,’ हङकङका इङलिस प्रशिक्षक साइमन कुकले भने, ‘वेस्टर्न अस्ट्रेलियाका टिमहरूसँग खेल्यौं । त्यहाँ र यहाँको पिच मिल्दोजुल्दो छ ।’

च्याम्पियनसिपमा हङकङ ११ अंकसहित पाँचौं र नेपाल ८ अंकसहित छैटौं स्थानमा छन् । च्याम्पियनसिपका शीर्ष चार टोली अर्को वर्ष जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने प्रावधान छ । नेपालले पछिल्लो पटक हङकङसँग मार्चमा खेलेको थियो । ज्ञानेन्द्रको ७० रनमा नेपालले उक्त खेल ७ विकेटले जितेको थियो ।
कुक नेपाललाई कमजोर नआँक्ने बताउँछन् । ‘नेपाल जुनै प्रतियोगिता वा म्याच होस् हङकङका लागि राम्रो प्रतिद्वन्द्वी हो, हामी उनीहरूलाई कमजोर आँक्दैनौं,’ कुकले भने, ‘नेपाल र हङकङ दुवै लामो समयदेखि एकअर्कासँग खेल्दै आएका छन् । दुवै एकअर्कासँग परिचित छन् । हामी दुवै खेल जित्नका लागि खेल्नेछौं ।’

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?