कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनपेक्षित नतिजाको आशा

सुबास हुमागाईं

काठमाडौं — एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट चरणमा खेल्ने भएसँगै औपचारिक रुपमा नेपाल अन्तर्राष्ट्रिय फुटसलमा प्रवेश गरेको छ । आइतबार इरानमा सुरु हुने छनोट स्पर्धामा नेपाल साउथ एन्ड सेन्ट्रल जोनको समूह ‘ए’ मा छ ।

अनपेक्षित नतिजाको आशा

यस समूहमा नेपालसँगै पछिल्लो संस्करण विजेता उज्वेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान शीर्ष दुई स्थानमा पर्ने प्रयासमा हुनेछन् । समूहका शीर्ष दुई टोली चाइनिज ताइपेईमा फेब्रुअरीमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा छनोट हुनेछन् ।

प्रतियोगितामा सहभागिता जनाउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले डेढ महिनाअघि राष्ट्रिय फुटसल लिग आयोजना गरेर टोली तयार पारेको हो । प्रतियोगिताका उत्कृष्ट २७ खेलाडी प्रारम्भिक छनोटमा राखेर दुई चरणको छनोटपछि १४ सदस्यीय फुटसल टोली घोषणा गरियो । 

टोलीका प्रशिक्षक राकेश श्रेष्ठले पहिलो सहभागिता भएकाले अनुभवसँगै नतिजा ल्याउने प्रयास रहने बताए । ‘हामी पहिलो पटक औपचारिक प्रतियोगितामा सहभागी हुँदै छौं । हाम्रो मुख्य लक्ष्य अनुभव बटुल्नु हुनेछ । डेढ महिनाको अथक मिहिनेतपछि एसियाकै बलिया टोलीको सामना गर्न जाँदै छौं । सकेसम्म राम्रो नतिजा ल्याउने प्रयास हुनेछ,’ उनले भने ।

पहिलो सहभागिता भए तापनि सोचेभन्दा राम्रो तयारी भएको प्रशिक्षक श्रेष्ठले बताए । ‘पहिलो पटक भए पनि मैले सोचेभन्दा निकै राम्रो तयारी भएको छ । निकै चुनौतीमाझ पनि हामीले बलियो टोली तयार परेको मलाई आभास भएको छ,’ उनले थपे, ‘हाम्रो टोलीमा निकै राम्रो समन्वय विकास भएको छ । दोस्रो चरणमा पुग्ने लक्ष्य कठिन भए पनि अनपेक्षित नतिजा ल्याउने प्रयास हुनेछ ।’ 

टोलीका कप्तान सुरज राउतले लामो समयपछि फुटसल औपचारिक रूपमा सुरु हुँदा निकै खुसी लागेको बताए । ‘आधा दशकदेखिको मिहिनेत अन्तत: सार्थक भएको छ । हामीले प्रतियोगिताका लागि एक महिना प्रशिक्षण गरे पनि लामो समयदेखि फुटसलमै लाग्दै आएका छौं । हामीले यस अवसरको सक्दो फाइदा लिने लक्ष्य राखेका छौं,’ उनले भने । 

पहिलो अन्तर्राष्ट्रिय अनुभवका लागि टोली पूर्ण रुपमा तयार रहेको कप्तान राउत बताउँछन् । ‘हामीले बितेको डेढ महिनामा निकै मिहिनेत गरेका छौं । खेलाडीसँगै प्रशिक्षकले पनि टोली बनाउन हरप्रयास लगाउनुभएको छ । नतिजा ल्याउन नसके पनि आफूले सक्दो प्रदर्शन गरेर राम्रो अनुभव बटुल्ने छौं,’ उनले भने ।

टोलीलाई किट प्रायोजन
फुटसल राष्ट्रिय टोलीलाई जर्सी पसल नेपालले वार्षिक १० लाखबराबरको खेलसामग्री प्रायोजन गर्ने भएको छ । बिहीबार एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र जर्सी पसलका प्रमुख कार्यकारी अधिकृत कृष्ण गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गरे । तीनवर्षे सम्झौताअनुसार प्रायोजकले राष्ट्रिय टोलीलाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता एवं प्रशिक्षणका लागि आवश्यक सामग्री दुईपटकसम्म उपलब्ध गराउने छ । तेस्रो पटकदेखि भने म्याच जर्सीबाहेकका सामग्रीमा एन्फाले खरिद गर्दा २५ प्रतिशत छुट पाउनेछ । यसबाहेक फुटसल जर्सीको उत्पादन एवं बिक्री गर्ने अधिकार पाएको जर्सी पसलले प्रतिजर्सीबाट ५ प्रतिशत रोयल्टी एन्फालाई बुझाउनुपर्नेछ । 

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?