कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डच फुटबलको पीडा

एएफपी

हेग — सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि एकपल्टको विश्व फुटबल महाशक्ति नेदरल्यान्ड्सका समर्थकले यो पीडा अझै भुल्न सकेका छैनन् ।

डच फुटबलको पीडा

जुन देशले ‘टोटल फुटबल’ विकास गरेको थियो, त्यही देशको फुटबल अहिले हामी कहाँनिर चुक्यौं भनेर खोज्न तल्लीन छ । स्वीडेनविरुद्धको अन्तिम छनोट खेलमा आर्येन रोबेनले दुई गोल गरे, तर त्यो पनि पर्याप्त रहेन । लगातार दुई ठूला प्रतियोगितामा छनोट हुन नसकेपछि डच फुटबल अवसानतर्फ अग्रसर छ । 

नेदरल्यान्ड्स विश्वकपमा छनोट हुन त सकेन नै, डच टिमका एक योद्धा रोबेनले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । यो डच फुटबलमा एक पुस्ताको अन्त्य जस्तै थियो । नेदरल्यान्ड्सका वेस्ली स्नाइडर, रोबिन भान पर्सी र राफेल भान डेर भार्टले कुनै पनि ठूला उपाधि जित्न सकेनन् । ठ्याक्कै दुई वर्षअगाडि नेदरल्यान्ड्स घरमै भएको युरोपेली छनोटमा चेक गणतन्त्रको हातबाट पराजित भएको थियो, त्यो पनि १० खेलाडीमा सीमित प्रतिद्वन्द्वीविरुद्ध । 

नतिजा डच टिम सन् २०१६ को युरोका लागि छनोट हुन सकेन । अब एक वर्षपछि रुसमा विश्वकप हुने तय भइसकेको छ, त्यसमा पनि नेदरल्यान्ड्स हुने छैन । यो त्यही टिम हो, जुन सन् २०१० को वरीयतामा दोस्रो थियो अनि सन् २०१४ मा तेस्रो । दुई ठूला प्रतियोगितामा रहने अनुपस्थितिले डच फुटबलको एक कालखण्डलाई अब सधैंका लागि ग्रहण लागेको युगका रूपमा सम्झिइनेछ । डच फुटबलका पण्डित ह्युगो ब्रस्टले कतिसम्म लेखेका छन् भने उनी लाजले मर्ने स्थितिमा छन् । 

‘विश्व फुटबलमा डच टिम नै एकमात्र त्यस्तो समूह साबित भएको छ, जसले पछाडि फर्केर पतनतर्फ जाने फुटबल खेलिरहेको छ,’ उनले भनेका छन्, ‘अहिले डच टिममा आत्मविश्वास भन्ने नै छैन ।’ पूर्वखेलाडी मार्को भान डेर हेडले पनि मानेका छन्, अहिले डच टिम प्राविधिक रूपमा वास्तवमै निकै कमजोर देखिएको छ । उदाहरणका लागि, अहिले नेदरल्यान्ड्स विपक्षी खेलाडीलाई ‘कभर’ गर्ने नीतिमा हुन्छ, जबकि अरू टिम अचेल ‘जोनल डिफेन्ड’ मा लागेका छन् । 

आखिरमा नेदरल्यान्ड्स ‘टोटल फुटबल’ को जन्मदाता त रह्यो । यही रणनीतिमा उसले सन् १९७४ र १८७८ को विश्वकप फाइनल खेलेको थियो । डच लेजेन्ड योहान क्रुफलाई श्रेय दिइन्छ, यो प्रसिद्ध रणनीतिका लागि । अहिलेसम्म पनि डच फुटबललाई यसमै गर्व छ अनि घमण्ड पनि । तर यसबीच अरू देशले फुटबलमा के गरे त ? यो भने नेदरल्यान्ड्सले देखेन । भान डेर हेड भन्छन्, ‘दुई दशकअघि जुन फुटबल शैली राम्रो थियो, अहिले पनि त्यो उत्तिकै निर्णायक छ भनेर भन्न सकिन्न ।’

डच मिडियाले नेदरल्यान्ड्स यसपल्टको विश्वकपमा पनि पुग्न नसकेकोलाई ‘क्लिन स्विप’ भनेका छन् । दुई वर्षअघि युरोमा पनि छनोट हुन नसकेको इतिहाससमेत जोडेर । डच फुटबलका समर्थकलाई भनिएको छ, अब रुसमा हुने विश्वकपलाई बिर्सन प्रयास गरे हुन्छ । अब त डच फुटबलले सन् २०२० को युरोका लागि तयारी सुरु गरे हुन्छ । तर यो कस्तो हुनेछ त ? यो उत्तर थाहा पाउन अझै कुर्नुपर्नेछ ।

प्रकाशित : कार्तिक ३, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?