कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आधा उमेर फुटबलमै

पर्वत पोर्तेल

काँकडभिट्टा — पूर्वराष्ट्रिय खेलाडी पूर्ण सुब्बाको उमेर ४३ पुग्यो । यिनले आफ्नो आधाभन्दा वढी उमेर फुटबलमै बिताए । ‘ढुंगा पचाउने’ उमेरमा देशका लागि धेरै खेले । तर, खेलजीवनको उत्तराद्र्धमा फुटबललाई चटक्कै माया मारेर विदेसिनु पर्‍यो ।

आधा उमेर फुटबलमै

विदेसिनु रहर थिएन बाध्यता थियो । ‘फुटबलवाट जीवन नचलेपछि विदेसिनुपरेको हो,’ पूर्णले सुनाए, ‘अझै नेपालमा खेलेर बाँच्न सक्ने अवस्था बनेकै छैन ।’ 

यी भेट्रान फुटबलरलाई बुधबार आफ्नै गाउँले फुटबल क्लबले मोटरसाइकल दिएर सम्मान गर्‍यो । त्यतिवेला उनी भावविहल वने । फुटबलमा पूर्णको योगदानको कदर गर्दै धाइजन–चारआली भेट्रान फुटबल क्लबले १२५ सिसिको डिस्कोभर मोटरसाइकल प्रदान गरेको हो । ‘पूर्व खेलाडीको योगदानको कदर भएको छ,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले भने, ‘पुरानालाई सम्मान र नयाँलाई माया गर्ने परिपाटी खेलकुद क्षेत्रमा जरुरी छ ।’ 

२०४० सालदेखि फुटबल खेल्न थालेका थिए पूर्णले । गाउँमा हुने भाले कपदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा उनले आफ्नो खेलकौशल देखाए । तत्कालीन धाइजन गाविसबाट वडास्तरीय फुटबलवाट करिअर सुरु गरे । जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टोलीमा स्थान बनाए । झापाकै हरि 
खड्कासहित देवनारायण चौधरी, बालगोपाल महर्जनहरूसँग खेले । 

सन् २००० ताका पूर्णले युथ १९ टिमबाट बंगलादेशमा खेल्ने अवसर पाए । पछि राष्ट्रिय टोलीबाट भारत कोचविहारको एयरलायन्स गोल्डकपमा खेले । भारतमा खेलेर आएपछि पूर्ण टोलीमा परेनन् । खासगरी एन्फामा भएको चरम विवादको सिकारमा परे पूर्णजस्ता धेरै खेलाडी । ‘एन्फा विवाद, राजनीति यस्ता कुराले फुटबलप्रति मनै मर्‍यो’, पूर्णले अनुभव साटे, ‘लोभीपापी दुनियाँ देखेर वाक्क–दिक्क लाग्यो ।’ 

खासमा फुटबलवाट गुजारा नभएकैले उनले आफ्नो प्यारो खेले छाड्नुपऱ्यो । यी भेट्रान फुटबलरले करिब ३ वर्ष खाडीमा बिताए । दु:खजिलो गरी विदेशमा पसिना बगाएर थोरै रकम जम्मा गरेर फर्किए । अहिले धाइजन चोकैमा सानो होटल सञ्चालन गरेर बसेका छन् । त्यही होटलको कमाइले ५ जनाको परिवार धान्नुपर्ने बाध्यता छ । 

नेपालमा अझैसम्म खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेकामा दु:खी बन्छन् यिनी । ‘खेलकुदबाटै गुजारा गर्न सक्ने स्थिति म चाहिँ अझै देख्दिनँ,’ पूर्ण भन्छन्, ‘उमेर हुन्जेल आफ्नो लगानीमा खेल्यो, बूढेसकालमा खाली हात ।’

प्रकाशित : कार्तिक ३, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?