कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलाडीको तिहार

सुवास हुमागाईं

काठमाडौं — गत वर्ष सारा नेपाल लक्ष्मी पुजामा व्यस्त हुँदा नेपाली राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा विदेशिनु पर्दा खेलाडीको मुहारमा केहि नैराश्यता प्रष्ट देखिन्थ्यो ।

खेलाडीको तिहार

घर–परिवारलाई छाडेर देशको प्रतिनिधित्व गर्दै खेल्न जानु खेलाडीको लागि नौलो थिएन। चाडबाडको समय भएकाले भने खेलाडीहरु केही खिन्न थिए ।

टोली मलेसिया पुगेको भोलिपल्ट भाइटिका थियो । मलेसिया पुगेका ३२ सदस्यीय नेपाली टोलीको निधार खालि नहोस भनेर टोलीका गोलरक्षक विशाल श्रेष्ठकी दिदि विद्याले नेपाल जानुअघि योजना बनाइसकेकी रहिछन् । टोली नेपालमा छँदै उनले उपकप्तान विराज महर्जनको हातमा टिका सामाग्रीसँगै कोसेली पनि मलेसियानै पठाइन्, यो कुरा विशाललाई भने पत्तो थिएन । टिकाको दिन टोलीका सम्पूर्ण सदस्य नियमित कार्यतालिका अनुसार ब्रेकफास्टमा सरिक हुन् पुगे । त्यस समय विशालको टेबलमा कोसेलीको पोको रखिएको थियो । विशाल त्यो देखेर अन्यौलमा परे । जब विराजले उनलाई दिदीले नेपालदेखि भाइटिकाको कोसेली पठाएको खुलासा गरे, विशाल भावुक भए ।

ब्रेकफास्टपछि टोलीका सम्पूर्ण सदस्य एकै कोठामा भेला भए । त्यो भिडमा टोलीका महत्त्वपूर्ण सदस्य मध्यका एक विमल घर्तीमगर भने थिएनन् । बहिनीको निधनका कारण उनको निधार खाली रहने हुनाले उनी त्यो दिन निकै ढिला उठे । विमल निन्द्रामै छँदा यता नेपाली टोलीका अन्य सदस्य टिका लगाउँदै थिए । विशालसँगै रन्जन विष्ट, विकेश कुथु र विराज महर्जनले सम्पूर्ण सहकर्मीलाई टिका लगाईदिए । टोलीका प्रशिक्षक राजु काजी शाक्य सहित अन्य पदाधिकारी पनि त्यसमा सरिक भए ।

टिकाटालो सकिएपछि फोटो खिच्दा सबैजना हसिँलो मुद्रामा थिए । नेपाल छाड्दा विमानस्थलमा देखिएको उदाशीपन उडिसकेको थियो । मलेसियाको मुस्कानले यता नेपालमा विशालकी दिदि विद्या पनि गदगद भइन् । विद्याले त्यस बेलाको अवस्थाको बेलिबिस्तार लगाइन् । ‘विशाल एन्फा एकेडेमीमा छँदा देखिनै तिहार कहिल्यै छुटेको थिएन । दशैं भने एकदुई पटक खेलका कारण मनाउन पाएको थिएन । तिहार मनाउन नपाउँदा मन खिन्न भएको थियो । तर मैले विराजसँग कुरा गरेर उतै केहि गर्न सकिन्छ कि भन्ने योजना बनाएँ ।’

‘टिकाको दिन बिहानै फेसबुकमा भाइहरुले फोटो र भिडियो हालेको देख्दा एकदम खुसी लाग्यो । विशालसँगै अन्य खेलाडीले पनि टिका लगाएको देख्दा यहाँ भन्दा रमाइलो भयो,’ उनले सुनाइन् ।

विशाल आफैं पनि निकै खुसी देखिन्थे । ‘त्यसबेला तिहार मनाउन पाइन्छ भन्ने एक मनले पनि सोचेको थिएन । निकै खुसी लाग्यो । मसँगै अन्य साथीहरुले पनि सँगै टिका लगाइयो, तिहार मिस भएन,’ उनले भने ।
यसपटक विशाल नेपालमै छन् र दिदि विद्या सपरिवार तिहार मनाउने सुरमा छन् । ‘यसपटक विगत जस्तै तिहार हुन्छ । चाडबाडमा हाम्रो परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला हुन्छौं । विशालसँगै दिदि बिना र पार्वती पनि आउनुहुन्छ ।’

‘पछिल्लो वर्ष विशाल नभए पनि मलेसियाको खुसीले तिहार विशेष रहयो । यसपटक पनि योजना बुन्दै छु, हेरौं के हुन्छ’

विद्याजस्तै नेपाली तेक्वान्दोकी दिग्गज संगीना वैद्यपनि तिहारको पर्खाइमा छिन् ।  अन्य चाडभन्दा संगीनालाई तिहारको व्यग्र प्रतिक्षा रहने गर्दछ । संगीनाको परिवारमा एक भाई र उनिसमेत सात दिदिबहिनी छन् । भाइटिका उनको परिवारमा यस्तो अवसर हो जहाँ परिवारका सबै एकै स्थानमा भेला हुन्छन् ।

सक्रिय खेल जीवनका क्रममा उनले कतिपटक तिहार मनाउनै पाइनन् । ‘खेलाडी भएको बेलामा विदेशमा खेल्न जाँदा तिहार मनाउन नपाउँदा निकै नरमाइलो लाग्थ्यो । तर अहिले सबै सँगै रहेर तिहार मनाउँछौं ।,’ उनले भनिन् । खेल जीवनबाट संन्यास लिएपनि संगीना हाल तेक्वान्दो प्रशिक्षकका छिन् । गत वर्ष रियो ओलम्पिकमा उनी तेक्वान्दो खेलाडी निशा रावलकी प्रशिक्षक थिइन् । दिदिबहिनी मध्यकी पाँचौ उनले भाइलाई के कोसेली दिने भन्ने अझै टुंगो लगाएकी छैनन् ।

त्रिशुलीमा घर भएर विगतमा त्यहाँ टिका लगाउने गरेको उनको परिवार अहिले काठमाडौंमा छ । यसपटक काठमाडौंमा तिहार मनाउने उनले उपत्यकाका विभिन्न मठ–मन्दिर जाने बताइन । ’सबै सँगै हुने कारण यतै नजिक घुम्न जाने योजना छ । यसरी आफ्नो मान्छेसँगै रमाइलो गर्दा जतिको मजा सायदै अरु होला । परिवारमा सबै एकै ठाउँमा जम्मा हुँदा छुट्टै उल्लास हुन्छ, ’ उनले भनिन् ।

प्रकाशित : कार्तिक ४, २०७४ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?