कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिफा भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

एएफपी

न्युयोर्क — विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबल जगतमा साढे दुई वर्षअगाडि नसोचेको घटनाक्रम घट्यो । अमेरिकी सरकारको आग्रहमा स्विस पुलिसले ज्युरिचको पाँचतारे होटलबाट सात जना फुटबलका पदाधिकारीलाई गिरफ्तार गर्‍यो ।

फिफा भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

वर्षौंदेखिको मिहिनेतपश्चात् मे २७, २०१५ मा अमेरिकी अनुसन्धानकर्ताहरूले जारी गरेको रिपोर्टमा लगाएको आरोपहरू आश्चर्यजनक थिए । २५ वर्षदेखि फिफामा भएको भ्रष्टाचारको भण्डाफोर हुँदा ४२ जना पदाधिकारी र व्यापारिक अधिकारीहरू अनुसन्धानको दायरामा परे । २ सय ३६ पाना लामो रिपोर्टमा २ सय मिलियन डलर बराबरको ९२ अपराध र १५ भ्रष्टाचार योजना सामेल थिए । यो फुटबलकै सबैभन्दा ठूलो भ्रष्टाचारको भन्डाफोर थियो । तीमध्ये अझै पनि आफूलाई निर्दोष छु भन्ने तीन पदाधिकारीको सोमबार न्युयोर्कमा सुनुवाइ हुँदै छ । तीनै जना दक्षिण अमेरिकाका धनाढ्य र कुनै समय निकै शक्तिशाली फुटबल पदाधिकारी थिए ।

‘दुई पुस्ताका फुटबल पदाधिकारीले आफ्नो संस्थामा पदको दुरुपयोग गरेर खेल व्यवसायीबाट फाइदा लिई त्यसको सट्टामा फुटबल प्रतियोगिताहरूको व्यावसायिक अधिकार दिए । यो कार्य पटक–पटक, वर्षैपिच्छे र प्रतियोगितापिच्छे जारी रह्यो,’ महान्यायाधिवक्ता लोरेट्टा लिन्चले बताइन् । दसौं मिलियन डलर हङकङ, केमन आइल्यान्ड र स्विटजरल्यान्डको बैंक खातामा लुकाएर राखिएको खुलेको थियो ।

सोमबार ब्रुकलिनको संघीय अदालतमा बेन्च गठनसँगै सुनुवाइको सुरुआत हुँदै छ । यद्यपि अदालतको कारबाही अगाडि बढ्न केही समय लाग्नेछ । ३ लाख ५० हजार पाना लामो सबुत र दर्जनौं साक्षी प्रस्तुत हुने कारण निर्णय आउन महिनौं लाग्ने आकलन गरिएको छ ।

प्रतिवादीमध्ये ८५ वर्षीय जोसे मारिया मारिन ब्राजिल फुटबल संघका पूर्व–अध्यक्ष हुन् । ज्युरिचमा पक्राउ परेर धरौटीमा छुटेका उनी त्यसयता ट्रम्प टावरमा विलासी जीवन बिताइरहेका छन् ।

उनीसँगै फिफाका पूर्वउपाध्यक्ष रहेका ५९ वर्षीय जुआन एन्जल नापुट र पेरु फुटबल संघका पूर्वअध्यक्ष म्यानुयल बुर्गा पनि छन् । आरोप सावित भएमा उनीहरूलाई २० वर्षसम्म जेल सजाय हुनेछ । कुल ४२ प्रतिवादीमा २४ जनाले आरोप स्विकार्दै कम सजाय हुने आशामा कारबाहीमा सहयोग गरे । २ जनाविरुद्ध गत महिना ८ र १५ महिना जेल सजाय सुनाइयो । अन्य २२ जना अझैसम्म अदालतको निर्णयको पर्खाइमा छन् । बाँकी १५ जना आफ्नै देशमा छन् ।

गिरफ्तारको समयमा सेप ब्लाटर पुन: फिफाको अध्यक्ष हुने प्रतीक्षामा थिए । तर अनुसन्धानको रिपोर्टले उनको यात्रा रोकियो । ब्लाटर त्यसपछि ६ वर्षका लागि फुटबलबाट प्रतिबन्धित भए । उनको उत्तराधिकारी मानिएका मिसेल प्लाटिनी पनि ४ वर्षे प्रतिबन्धमा परे ।

फिफा कार्यसमितिका पूर्व–सदस्य चक ब्लेजरले लामो समयदेखि आयकर नतिरेकाले अमेरिकी सरकारले सन् २०११ मा अनुसन्धान सुरु गरेको थियो । ब्लेजरले कम सजाय पाउने आशामा एफबीआईसँग सहकार्य गरेर अनुसन्धानमा सहयोग गरे । उनको क्यान्सरका कारण गत जुलाईमा मृत्यु भयो ।

प्रकाशित : कार्तिक २०, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?