कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जितका भारतीय सारथि

सुबास हुमागाईं

क्वालालम्पुर — राहुल द्रविडले सन् १९९६ अप्रिल ३ मा सिंगापुरको पादाङ क्रिकेट रंगशालामा श्रीलंकाविरुद्ध वान डे अन्तर्राष्ट्रिय ‘डेब्यू’ गर्दा भारतीय टोलीका स्पिनर बैंकटपथी राजु त्यस बेला क्रिकेटको छोटो स्वरुपमा आफ्नो करिअरको अन्त्यतिर थिए । त्यस खेलमा द्रविड नचले पनि राजुको उत्कृष्ट प्रदर्शनमा भारत १२ रनले विजयी रहेको थियो ।

 जितका भारतीय सारथि

२१ वर्षको अन्तरालमा आइतबार पादाङ रंगशालाबाट करिब ४ सय किलोमिटर टाढा वायुमास ओभलमा यी दुई विपक्षी टोलीमा थिए । द्रविड भारतीय यू–१९ टोलीका मुख्य प्रशिक्षकको भूमिकामा थिए भने राजु नेपालको कन्सल्टयान्टमा । 

एक वर्षयता राजु नेपाली टोलीमा कन्सल्टयान्टका रूपमा छन् । गत वर्षको वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेयता उनी विश्व क्रिकेटको सर्वोच्च निकायबाट नेपाली टोलीमा विभिन्न भूमिकामा खटाइएका छन् । द्रविडले दुई वर्षदेखि भारत ‘ए’ र यू–१९ टोलीको प्रशिक्षण सम्हालिरहेका छन् ।

सन् २०१६ का फेब्रुअरीमा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकपमा द्रविडको प्रशिक्षणमा रहेको भारतले नेपाललाई समूह चरणमा सजिलै ७ विकेटले पराजित गरेको थियो । नेपालले ४८ ओभरमा ८ विकेट गुमाई बनाएको १ सय ६९ रनलाई भारतले १९ ओभरभित्र पूरा गरेको थियो । रिसव पन्तले ३७ बलमा ७८ रन बनाउनेक्रममा १८ बलमा अर्धशतक बनाएका थिए । 

राजुसँगै भारतका मोन्टी देशाई पनि ब्याटिङ कन्सल्टयान्टका रूपमा नेपाली टोलीमा छन् । यसअघि राष्ट्रिय टोली सन् २०१५ मा ट्वान्टी–२० विश्वकप छनोट खेल्दा देशाईले पुवुदु दसानायकेसँग सहकार्य गरेका थिए । त्यसबेला राष्ट्रिय टोलीका बलिङ प्रशिक्षक विनोद दास अहिले नेपाली यू–१९ टोलीका प्रशिक्षक छन् । दासका अनुसार देशाईको आगमनले टोलीको ब्याटिङमा धेरै सहयोग पुगेको छ ।

जुलाईमा भएको यू–१९ विश्वकप छनोटअन्तर्गत नेपालले खेलेको ६ मध्ये एउटा खेलमा मात्र सय रन कटाउन सकेको थियो । अफगानिस्तानसँग ४९ रनमै आउट भएर नेपालले यू–१९ मा अहिलेसम्मकै न्युन स्कोर बनाएको थियो । उक्त प्रतियोगितामा खराब प्रदर्शनसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना सकिएको थियो । सेप्टेम्बरमा भएको एसीसी इस्टर्न रिजन प्रतियोगिताका लागि ब्याटिङ कन्सल्टयान्ट भएर देशाई १० दिनलाई नेपाल आएका थिए । नेपालको ब्याटिङमा केही सुधार देखिन थाग्यो । नेपाली टोली बंगलादेश भ्रमण जानुअघि आएका देशाई त्यसयता टोलीसँगै छन् ।

भारतीय भए पनि देशाईले जन्मभूमिको टिममाथिको जितले आफू भित्रैदेखि खुसी भएको बताए । ‘नेपालमा क्रिकेटप्रतिको माया देखेर म निकै खुसी छु । खेलाडी मात्र नभएर समर्थकमा पनि क्रिकेटको क्रेज व्यापक छ । म यो खेललाई एकदम माया गर्छु । नेपालले भारतलाई हराउँदा म उत्तिकै खुसी छु जति टोलीका अन्य सदस्य छन् । नेपालले भारतविरुद्ध जित्नुले क्रिकेट खेलको सुन्दरता झनै बढेको मान्छु,’ उनले भने ।

देशाईले नेपाल र भारतमा मैदान बाहिर धेरै भिन्नता भए पनि नेपालले मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेकै कारण जित हासिल गरेको बताए । ‘भारतीय क्रिकेटमा भएको बजेट, सुविधा र प्रशिक्षण निकै माथिल्लो स्तरको छ । विश्व क्रिकेटमै आफूलाई महाशक्तिक रूपमा स्थापित गरेको टोलीलाई हराउनु चानचुने कुरा होइन । यो सबै टोलीको परिश्रमको फल हो,’ उनले थपे ।

भारतविरुद्ध खेलपछि आफ्नो फेसबुकमा नेपालको झण्डा राख्दै विजय सन्देश लेख्ने क्रममा देशाईले ड्रेसिङ रूमको हाइट बोर्डको तस्बिर राखेका छन् । बिना कुनै डर, खुलेर र जिम्मेवारीपूर्वक खेल्न सुझाएको उक्त तस्बिरमा देखिन्थ्यो । उनले फिल्डिङ गर्दा सबैले आफ्नो दायित्व रहेको बुझ्न भने जस्तै खेलमा पनि नेपालको फिल्डिङ चुस्त थियो ।
देशाईले टोलीको प्रदर्शन समग्रमा राम्रो रहेको प्रतिक्रिया दिए । ‘नेपाली टोलीले खेलको भावना बुझेर हृदयदेखि खेलेको हो । बंगलादेशसँगको हारपछि टोलीले आफूले गरेको गल्ती सच्याउने अवसर पायो । त्यसैले भारतविरुद्ध अझै निखारिएको प्रदर्शन आयो । यसले नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ भन्ने बाटो देखाएको छ । टोलीले निकै राम्रो प्रदर्शन गरेको छ ।’

प्रकाशित : कार्तिक २८, २०७४ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?