कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो हाफमा नेपालको लय

कान्तिपुर संवाददाता

काठमाडौं — फिफा वरीयतामा ५९ स्थान माथिको टिम फिलिपिन्सविरुद्ध सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पहिलो हाफमा नेपाली टिम निकै कमजोर देखिएको थियो । दोस्रो हाफमा भने नेपाली टिमले राम्रो लय समात्यो र आक्रामक खेल पस्कियो । तर खेल गोलरहित बन्यो ।

दोस्रो हाफमा नेपालको लय

पहिलो हाफमा नेपाली टिम फिलिपिन्सको आक्रमण रोक्न व्यस्त थियो । पाहुना टिमले गोलका चार राम्रा अवसर पनि सिर्जना गर्‍यो । पेनाल्टी क्षेत्रभित्रबाट कार्लोस डे मुर्गा र माइक ओटले गरेको फ्रि–हेडरमा बल पोस्ट नजिकिँदै माथिबाट बाहिरियो । कप्तान फिलिप जेम्स योङहजब्यान्डले २९ औं मिनेटमा पाएको अवसरमा रोहित चन्दले उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए । फिलिपले ३८ औं मिनेटमा पाएको अर्को अवसरमा बल पोस्ट बाहिर प्रहार गरेका थिए ।

नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेलमा पकड जमाएको थियो । अन्जन विष्टले ५७ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट सेकेन्डबार च्याप्दै सशक्त रूपमा प्रहार गरेको बलमा फिलिपिन्सका किपर नेइल लियोनार्ड इथिरिजेले लोभलाग्दो बचाउ गरेका थिए । अरु अवसर पाए पनि खेलमा नेपालको गतिलो आक्रमण त्यही हो ।
विमल घर्तीमगर र सब्स्टिच्युट नवयुग श्रेष्ठले ७८ औं मिनेटमा गोलको राम्रो मौका पाए । तर पेनाल्टी क्षेत्रमा नवयुगले आफै बल प्रहार नगरी दिएको बल ‘अनमार्क’ विमलले पोस्ट बाहिर प्रहार गरे । अन्त्यतिर विमलले पेनाल्टी क्षेत्रमा एक्लै रहेका अनिल गुरुङलाई बल नदिएर आफैंले पोस्ट बाहिर प्रहार गर्दा पनि नेपालले छनोटमा पहिलो जित हात पार्ने सम्भावना तुहिएको थियो ।

दोस्रो हाफमा फिलिपिन्सले पनि केही आक्रमण गर्‍यो । चेल्सीको एकेडेमीमा हुर्किएका फिलिप जेम्सले ६१ औं मिनेटमा पोस्ट नजिकबाट बल बाहिर हानेका थिए । सेन्टर–ब्याक अनन्त तामाङले माइक ओटसँगको वान भर्सेस वानमा उत्कृष्ट रूपमा बल खोस्दै क्लियर गरेका थिए । डिफेन्समा अनन्त र रोहितको जोडीले सेन्टर–ब्याकमा उत्कृष्ट प्रदर्शन गरेको थियो । मिडिफल्डर विशाल राईले पनि अन्त्यतिर खाली पोस्टबाट बल क्लियर गरेका थिए । एसियन कप २०१९ छनोटको समूह ‘एफ’ मा जित पाउन नसकेको नेपाल एक्लो टिम हो । जेठमा हल्चोकमा भएको यमनसँगको खेल पनि गोलरहित टुंग्याएको नेपाल २ अंकसहित समूहको पुछारमा छ । नेपलको फाइनल चरण पुग्ने सम्भावना दुई खेलअघि नै समाप्त भइसकेको थियो ।

समूहको अर्को खेलमा ताजिकिस्तानले पनि घरेलु मैदानमा यमनसँग गोलरहित नतिजा निकालेको थियो । त्यसैले शीर्ष दुईमा रहेर एसियन कप २०१९ मा छनोट हुने होडमा फिलिपिन्स (९ अंक), यमन (७) र ताजिकिस्तान (७) छन् । त्यसको छिनोफानो मार्चमा हुनेछ । नेपालले छनोटको अन्तिम खेलमा मार्चमा यमनसँग दोहामा खेल्नेछ ।

 

एसियन कप २०१९ छनोट, समूह ‘एफ’

टिम खेल जित ड्र हार गोल अंक

फिलिपिन्स ११–४

यमन ५–४

ताजिकिस्तान ९–७

नेपाल २–९

प्रकाशित : कार्तिक २९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?