कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमा झापाको जित

अर्जुन राजवंशी

दमक — झापा एघारले दोस्रो सताक्षी गोल्डकप फुटबलको मंगलबार उद्घाटन खेलमा पोखरा ११ लाई ५–० ले पराजित गर्दै सेमिफाइनल तय गरेको छ ।

घरेलु भूमिमा झापा हाबी हुँदा स्ट्राइकर कर्ण लिम्बूले २, गिल्सन कन्दङ्वा, विशाल राई ‘ए’ र विदेशी खेलाडी अजय मार्टिन्सले १–१ गोल गरेका थिए । झापाले पहिलो हाफमै ३ गोल गरेको थियो । मार्टिन्सले १२ औं मिनेटमा टोलीलाई अग्रता दिलाए । विशालको पासमा उनले सेकेन्डबार च्याप्दै गोल गरेका थिए । १७ औं मिनेटमा कर्णले वान टचमै गोल गरे । कप्तान योगेश गुरुङले दिएको क्रसमा कर्ण पोखरेली गोलकिपर दीप कार्की अगाडि बढेको अवस्थामा गोल गर्न सफल भए ।

त्यसको दुई मिनेटमै विशालले टोलीका लागि तेस्रो गोल गरेका थिए । उनले पेनाल्टी एरिया नजिकबाट प्रहार गरेको बल गोलमा परिणत भयो । ५१ औं मिनेटमा मिडफिल्डर गिल्सनले मैदानको मध्यभागबाट प्रहार गरेको बल गोलकिपर दीप बिट हुँदा पोस्टभित्र छिरेको थियो । कर्णले ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरेका थिए ।

पोखराका खेलाडीले पाएका सबै अवसर खेर फाले । पहिलो हाफको दर्शनीय एउटा प्रहार पोस्ट माथिबाट बाहिरियो । किरण थापामगरले ५५ औं मिनेटमा पेनाल्टी एरिया नजिकैबाट गरेको सशक्त प्रहार झापाका गोलरक्षक किशोर गिरी पन्च गरेर बचाए ।

पोखराले ५८ औं मिनेटमा पाएको पेनाल्टीसमेत खेर फालेको थियो । कप्तान विष्णु गुरुङको पेनाल्टी प्रहार बाहिरियो । झापाका कप्तान योगेश म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए । बुधबार एपीएफ र भारत मध्यप्रदेशको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?