कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी र पुलिस सेमिफाइनलमा

काठमाडौं — आयोजक त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रधानसेनापति पाँचौं अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

आर्मी र पुलिस सेमिफाइनलमा

आइतबारको पहिलो खेलमा आयोजक आर्मीले सिक्किमलाई ५–० ले पराजित गर्‍यो । सपना लामाको १४ औं मिनेटको गोलमा अग्रता लिएको आर्मीले ४२ औं मिनेटमा कृष्णा खत्रीको गोलमा अग्रता दोब्बर पार्‍यो । पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीले दोस्रो हाफमा तीन गोल थप्यो । रेना घिसिङको आत्मघाती गोलमा अग्रता बढाएको आर्मीका लागि सपना लामा र कृष्णा खत्रीले पुन: १–१ गोल थपे । दुई गोल गरेर उत्कृष्ट प्रदर्शन गरेकी सपना वुमन अफ द म्याच भइन् ।

आर्मीका प्रशिक्षक आदर्श मल्ल टोलीको प्रदर्शनबाट सन्तुष्ट देखिए । ‘खेलाडीले योजनाअनुसार नै खेले । हामीले गोल थप्ने धेरै अवसर गुमायौं । सोचेजति गोल नहुँदा पनि यस जितबाट म सन्तुष्ट छु । अबको लक्ष्य फाइनल पुग्नुहुनेछ,’ उनले भने । आर्मीले सेमिफाइनलमा मध्यमाञ्चलको सामना गर्नेछ ।

दोस्रो खेलमा नीरु थापाले ह्याट्रिक गरेपछि पुलिसले बिहारलाई ५–१ ले पाखा लगायो । खेलको सातौं मिनेटमा खाता खोलेकी नीरुले २१ औं मिनेटमा दोस्रो गोल थपिन् । उनले ५४ औं मिनेटमा मैदानको दायाँ भागबाट आएको क्रसलाई उत्कृष्ट फस्ट टच भलीमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसअघि ममता कुमारीले बिहारका लागि गोल गर्दै अग्रता घटाएकी थिइन् । निशा सुनारले दुई गोल थप्दै टोलीलाई सहज जित दिलाइन् । नीरु खेलको म्यान अफ द म्याच भइन् ।

पुलिसका प्रशिक्षक सञ्जीव जोशीले जितसँगै सेमिफाइनल यात्रा तय गर्दा खुसी व्यक्त गरे । ‘भारतको टोली पनि बलियो नै थियो । हामीले सुरुमै गोल गरेपछि खेलमा जित दर्ता गर्न सहज भयो । हामीले फाइनल पुग्ने लक्ष्य राखेका छौं,’ उनले भने । पुलिसले सेमिफाइनलमा एपीएफको सामना गर्नेछ । दुवै सेमिफाइनल खेल मंगलबार हुनेछन् ।

प्रकाशित : मंसिर ४, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?