कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत खेलमा फर्कियो

एएफपी

कोलकाता — ओपनरद्वय लोकेश राहुल र शिखर धवनको सम्हालिएको अर्धशतकसँगै भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा राम्रो पुनरागमन गरेको छ । पहिलो इनिङमा पछि परेको भारतले वर्षाले प्रभावित टेस्टको चौथो दिनमा सुधारिएको ब्याटिङ गरेको हो ।

भारत खेलमा फर्कियो

पहिलो विकेटका लागि धवन र राहुलले १ सय ६६ रनको साझेदारी गरे । धवन ९४ रनको व्यक्तिगत स्कोरमा पेस बलर दासुन सानाकाको बलमा आउट भए । दोस्रो इनिङको सुरुआतमा १ सय २२ रनले पछि परेको भारत ४९ रनले अगाडि छ । कोलकाताको इडन गार्डेनमा खराब प्रकाशका कारण आइतबारको खेल रोकिनुअघि चेतेश्वर पुजारा दुई र राहुल ७३ रन बनाएर खेलिरहेका छन् ।

फर्ममा रहेका राहुलले पछिल्ला ११ इनिङमा नवौं अर्धशतक बनाउँदा दायाँ हाते धवनले चौथो टेस्ट अर्धशतक बनाए । सानाकाले दिनको अन्त्यतिर धवनको विकेट लिंदै उनलाई सातौं टेस्ट शतक बनाउन दिएनन् । उनले राहुलसँग मिलेर १९ चौका प्रहार गर्दा श्रीलंकाले निरन्तर बलर परिवर्तन गर्नुपरेको थियो । धवनले आफ्नो पारीमा २ छक्का प्रहार गरे ।

त्यसअघि स्पिनर रंगना हेराथले सुदृढ ब्याटिङ गर्दै ६७ रनको पारी खेलेपछि श्रीलंकाले २ सय ९४ रनको योगफल तयार परेको थियो । त्यसअघि भारत १ सय ७२ रनमा अलआउट भएको थियो । १६५–४ को स्थितिमा दिनको खेल सुरुआत गरेको श्रीलंकाको मध्यक्रम खस्किएपछि हेराथले श्रीलंकाको इनिङलाई उकासेका थिए । उनले भारतका पेस बलरलाई परास्त गर्दै १ सय ५ बल खेल्ने क्रममा ९ चौका प्रहार गरे । तेस्रो अर्धशतक बनाएका हेराथ भुवनेश्वर कुमारको बलमा डिप पोइन्टमा क्याच आउट भए ।

तीव्र गतिका बलर मोहम्मद सामीले अघिल्ला दिनका दुवै ब्याट्सम्यानलाई पेभेलियन फर्काउँदै सुखद सुरुआत गरे । विकेटकिपर ब्याट्सम्यान डिकवेलाले ३५ र दिनेश चण्डिमलले २८ रन जोडे । भारतका लागि भुवनेश्वर र सामी दुवैले ४–४ विकेट लिए । दुई विकेट उमेश यादवको नाममा रह्यो । श्रीलंका भारतीय भूमिमा पहिलो टेस्ट जितको खोजीमा छ ।

प्रकाशित : मंसिर ४, २०७४ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?