कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल पराजित

काठमाडौं — यूएईसँग एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप क्रिकेट छनोटमा अप्रत्यासित पराजय भोगेपछि नेपालको छनोट हुने सम्भावना कमजोर बनेको छ । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा यूएईले बिहीबार नेपालमाथि ५ रनको विजय पायो । नेपालले यसअघि आयोजक थाइल्यान्ड र हङकङसँगको खेलमा वर्षाका कारण १ अंकमै चित्त बुझाएको थियो ।

महिला ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल पराजित



बैंककस्थित एआईटी मैदानमा टस जितेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ७९ रन बनायो । नेपालले ९ विकेट गुमाई ७४ रनमात्र बनाउन सक्यो । यूएईसँग नेपालको यो पहिलो पराजय हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आयोजना गरेको प्रतियोगिता पहिलोपल्ट खेलिरहेको यूएई तीन खेलमा दोस्रो विजय हात पार्दै तेस्रो स्थानमा उक्लेको छ ।

नेपाल २ अंकमात्र बटुलेर ६ राष्ट्रसम्मिलित प्रतियोगिताको पुछारबाट दोस्रो स्थानमा छ । राउन्ड रोबिनमा एकले अर्कोसँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल खेल्ने छन् । फाइनलमा पुग्ने टोलीले नेदरल्यान्ड्समा हुने विश्व टान्टी–२० छनोटमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान छ । थाइल्यान्ड र हङकङ ५–५ अंकसहित शीर्ष दुई स्थानमा छ ।

सात वर्षपछि पहिलो अन्तर्राष्ट्रिय म्याच खेलिरहेकी रितु कनोजियाले तल्लोक्रममा नटआउट २२ रन बनाए पनि नेपालले विजय हात पार्न सकेन । २३ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । उनीबाहेक दोहोरो स्कोर बनाउनेमा ओपनर ज्योति पाण्डे (१२) मात्र थिइन् । अर्की ओपनर सीता रानामगर व्यक्तिगत ७ रनमा आउट भएसँगै नेपालको विकेट जानेक्रम सुरु भएको थियो । २७ रन हुँदा नेपालको ५ विकेट झरिसकेको थियो ।

इन्दु वर्मा र नेरी थापामगरले खाता खोल्न सकिनन् । काजोल श्रेष्ठ ८, सरिता मगर ५, करुणा भण्डारी ६ रनमा आउट भए । कप्तान रुबिना क्षेत्री पनि शून्यमा आउट भइन् । रोमा थापाले ३ रन बनाइन् । यूएईका निशा अली र हुमरिया तास्निमले २–२ विकेट लिए ।

यसअघि यूएईको ४ ओभरभित्र १० रन बनाउँदा नेपालले ४ विकेट झरेको थियो । ईशा रोहित ओजाले २२ र नताशा चेरिएठले २३ रन बनाउँदै यूएईलाई सम्मानजनक स्कोरमा उभ्याए । नेपालबाट रुबिनाले ४ ओभरमा १२ रन खर्चेर ३, रितुले ३ ओभरमा ९ रन खर्चेर २ र नेरीले १ विकेट लिए । नेपालले शुक्रबार मलेसियासँग चौथो खेल खेल्नेछ ।

प्रकाशित : मंसिर ८, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?