कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी च्याम्पियन

पर्वत पोर्तेल

काँकडभिट्टा — विभागीय टोली त्रिभुवन आर्मी क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल च्याम्पियन बनेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङी क्लबलाई टाइव्रेकरमा ३–२ ले हराउँदै आर्मीले झापामा दोस्रोसहित यस सिजन उपाधिमा ह्याट्रिक गरेको हो ।

आर्मी च्याम्पियन


सताक्षी गोल्डकप च्याम्पियन आर्मीले सातापछि मोफसलकै सर्वाधिक राशिको गोल्डकपमा जित दोहोर्‍याएको हो । आर्मीले यसै वर्ष वीरगन्जको विशाल मेमोरियल कप जितेको थियो । आर्मीले मनाङलाई बदला लिनबाट रोक्यो । आर्मीले ८ लाख १ हजार र मनाङले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाए । सताक्षी गोल्डकपमा पनि मनाङ टाइब्रेकरमै आर्मीसँग हारेको थियो । 
स्थानीय काँकडभिट्टा मावि मैदानमा भएको फाइनलमा आर्मीले जित पाउन निकै संघर्ष गर्नुपरेको थियो । सुरुआती २० मिनेट जति मनाङको कडा दबाब सामना गरेको आर्मी त्यसपछि अन्तिम समयसम्म आक्रामक ढंगमा उत्रियो । ‘सुरुआतमा सेट मिलाउन समस्या भयो,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘पहिलो हाफको २० मिनेटपछि बल्ल लय समात्यौं ।’
निर्धारित ९० मिनेट गोलरहित भएपछि टाइब्रेकरबाट निर्णय छिनोफानो भयो । टाइब्रेकरमा मनाङका अनिल गुरुङले गरेका पहिलो प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरिदिए । आर्मीका नवयुग श्रेष्ठको प्रहार मनाङका गोलरक्षक दिनेश थापा मगरले रोक्न सकेनन् । मनाङको दोस्रो प्रहारमा विमल बस्नेतले गोल गरे । आर्मीका जितेन्द्र बस्नेतले पोस्ट वाहिर हाने । तेस्रोमा मनाङका कमल श्रेष्ठको प्रहार पनि विकेशले विफल पारे । लगत्तै आर्मीका सन्तोष तामाङको प्रहार भने गोल भयो । हेमन गुरुङको प्रहार गोल हुँदा आर्मीका पदम तामाङको आक्रामक प्रहार गोलरक्षक दिनेशले रोके । अन्तिम समयमा मैदान छिरेका निराजन मल्ल पनि पेनाल्टी गोल गर्न चुके । आर्मीका विवश बस्नेतको अन्तिम प्रहार नै निर्णायक बन्यो । उनले गोल गर्दा दिनेशले पत्तै पाएनन् । 
पहिलो हाफको १९ औं मिनेटमा फरवार्ड नवयुगले मौका चुकाए । अघिल्लो खेलमा ‘बेन्च’ रहेका नवयुगलाई प्रशिक्षक न्यौपानेले फाइलनमा पूरा समय मैदान ओराले । घाइते भएकाले उनले आशातीत खेल देखाउन सकेनन् । मनाङका विक्रम लामा, फरवार्ड विमल घर्तीमगर र विमल बस्नेत पनि पटक–पटक चुके । मध्यान्तरपछि मैदान छिरेका स्टार फरवार्ड अनिलले ८४ औं मिनेटमा ‘वान भर्सेज वान’ अवसर गुमाउँदा मनाङका समर्थक निराश बने । 
फाइनल हेर्न मैदानमा करिब ५ हजार दर्शक ओइरिएका थिए । आर्मीका फरवार्डहरू भरत खवास र जर्ज प्रिन्स कार्कीको प्रदर्शन पनि औसत रह्यो । 
मनाङका प्रशिक्षक विजय गोलेले स्ट्राइकिङ पक्ष कमजोर रहँदा सताक्षी गोल्डकपमा बेहोरेको हारको बदला लिन नसकिएको बताए । उनले भने, ‘मिडफिल्डमा पनि तालमेल मिस भयो ।’ उनले फाइनलमा स्टार फरवार्ड सुजल श्रेष्ठको अनुपस्थिति खडकएको बताए । सेमिफाइलनमा सुजलले रातो कार्ड पाएका थिए । 
आर्मीले उत्कृष्ट प्रशिक्षकसहित ५ विधामा उपाधि जित्यो । नवीन न्यौपानेले उत्कृष्ठ प्रशिक्षक बन्दै २० हजार थापे । उत्कृष्ट गोलरक्षक विकेश कुथु भए । उनले २० हजार पाए । आर्मीका दिनेश हेन्जन सर्वाधिक गोलकर्ता भए । उनले २५ हजार पाए । कप्तान भरत खवास उत्कृष्ट फरवार्ड बने । उनले २० हजार पाए । विकास खवास फाइनलका म्यान अफ द म्याच बन्दै १० हजार जित्न सफल भए । 
प्लेयर अफ द टुर्नामेन्ट बने मनाङका गोलरक्षक दिनेश थापामगर । उनले ५१ हजार पुरस्कार पाए । मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर बन्दै २० हजार जित्न सफल भए । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका भूषण लिम्बू उत्कृष्ट डिफेन्स र सोही क्लबका मिलन राई राइजिङ प्लेयर बन्दै २०–२० हजार जित्न सफल भए । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा भारतका एकसहित १० टोलीले भाग लिएका थिए ।

 

प्रकाशित : मंसिर १६, २०७४ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?