कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचौं हुने मौका

नेपालले आज यूएईसँग खेल्दै
विनोद पाण्डे

काठमाडौं — विश्व क्रिकेट लिग डिभिजन २ अगाडि आफूलाई अब्बल साबित गर्ने प्रयासमा छन् नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) । यी दुई टोली बुधबार र शुक्रबार विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गर्दै छन् । यूएईको अबुधाबीमा हुने खेलले नतिजा जस्तो आए पनि खासै उलटफेर हुने छैन ।

पाँचौं हुने मौका

 

नतिजा आफ्नो पक्षमा पार्ने टोलीले भने फेब्रअरीमा नामिबियामा हुने डिभिजन २ मा उच्च मनोबल बनाउने निश्चित छ । नेपाल र यूएई शीर्ष चारको दौडबाट बाहिरिइसकेका छन् । दुवै टोलीले विश्वकप छनोटमा पुग्ने सोझो बाटो गुमाइसकेका छन् । त्यसैले यी दुईका लागि च्याम्पियनसिपको अन्तिम खेलले खासै अर्थ राख्दैन । डिभिजन २ अर्को वर्ष हुने विश्वकप छनोटमा पुग्ने घुमाउरो बाटो हो । त्यसैले दुवै टोलीको ध्यान डिभिजन २ मै केन्द्रित छ । 
यूएईले च्याम्पियनसिप तयारीका क्रममा जिम्बावे ‘ए’ सँग खेलेका ५ खेलको शृंखला ‘क्लिनस्विप’ गरेको थियो । त्यसमा पाँचौं खेलमा यूएईले ३ सय १३ रनको लक्ष्य पछयाएको थियो । त्यसपछि अफगानिस्तानसँगको अन्तरमहादेशीय कप चारदिवसीय प्रतियोगितामा भने घरेलु टोली यूएई १० विकेटले पराजित भएको थियो । 
अफगानिस्तानसँग यूएईले पहिलो इनिङ्समा १ सय ९७ रनमात्र बनाउन सकेको थियो । साइमन अनवरले नटआउट ८५ रन बनाए पनि यूएईले पर्याप्त स्कोर बनाउन सकेको थिएन । चिराग सुरीले ८१ रनको इनिङ्स खेल्दा यूएईले दोस्रो इनिङ्समा ३ सय ३१ रन बनाए पनि अफगानिस्तानलाई अन्तरमहादेशीय कप च्याम्पियन बन्नबाट रोक्न सकेन । इन्डियन प्रिमियर लिगमा गुजरात लायन्सबाट खेल्ने सुरी च्याम्पियनसिपका लागि नेपालसँगको खेलमा भने यूएई टोलीमा छैनन् । 
अनवरले सन् २०१४ मा न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा नेपालसँग १ सय ९ रन प्रहार गरेका थिए । नेपालसँगको खेल जित्दै यूएईले सोही वर्ष अस्ट्रेलियामा विश्वकप नै खेलेको थियो । त्यसयता टोलीको प्रदर्शन निकै ओरालोलाग्दो छ । त्यसैले स्वाभाविक रूपमा यूएईको टोलीमा धेरै परिवर्तन आइसकेको छ । मुख्यत: त्यही विश्वकप छनोट र विश्वकप खेलेका रोहन मुस्ताफा यूएईका कप्तान बनिसकेका छन् । 
आफ्नो पहिलो खेलमा केन्यालाई पराजित गरेको यूएईले त्यसपछिका लगातार ७ खेल हारेको थियो । पपुवा न्युगिनी र नामिबियासँगका पछिल्ला २–२ खेलमा १–१ मा विजय हात पारे पनि यूएई ६ अंकसाथ ८ राष्ट्रसम्मिलित च्याम्पियनसिप अंकतालिकाको पुछारमा छ । नेपालले पनि पहिलो चार खेल हारेर च्याम्पियनसिप सुरुआत गरेको थियो । त्यसयता नामिबिया, नेदरल्यान्ड्स, केन्यासँग विजय हात पारेपछि नेपालको शीर्ष चारमा पुग्ने आशा पलाएको थियो । तर, हङकङसँगको पछिल्लो हारले नेपाल शीर्ष चारको दौडबाट बाहिरिएको हो । 
विश्वकप कप छनोटमा खेलेको वर्ष नै नेपालले मलेसियामा एसीसी प्रिमियर लिगमा यूएईलाई ४ विकेटले पराजित गरेको थियो । त्यसयता नेपाल र यूएई आमनेसामने भएका छैनन् । ‘यूएईमा ३–४ पुराना खेलाडी छन्, अरु सबै नयाँ भए पनि उनीहरूको टिम राम्रो छ,’ प्रशिक्षक जगत टमाटाले भने, ‘हामीले पनि यूएईसँगको खेलका लागि राम्रो तयारी गरेका छौं । पछिल्लो दुई दिन हाम्रो ब्याटिङ, बलिङ र फिल्डिङ अभ्यास राम्रो भएको छ । सबैले मिहिनेत गरेका छन् ।’
बुधबार यूएई गएको नेपालले त्यहाँ अमेरिका र केन्यासँग दुई अभ्यास खेलमा मिश्रित नतिजा निकालेको थियो । डिभिजन ३ को टोली अमेरिकासँग ८९ रनमै अलआउट भएर ५ विकेटको पराजय भोगेको नेपालले त्यसपछि अर्को खेलमा केन्यालाई १ सय १० रनमा अलआउट गर्दै ६ विकेटको विजय हात पारेको थियो । यी दुवै खेल नियमित कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले खेलेका थिएनन् । शरद भेषावकरले नेपालको कप्तानी गरेका थिए । 
नयाँ खेलाडीलाई मौका दिने उद्देश्यले पारस र ज्ञानेन्द्र नखेलेको बताउँदै प्रशिक्षक टमाटाले बुधबार पारस र ज्ञानेन्द्र दुवै मैदानमा उत्रने जनाए । ज्ञानेन्द्रले दिलीप नाथसँग ओपनिङमा खेल्ने छन् । अमेरिकासँग १६ रन बनाएका दिलीप केन्यासँग शून्यमा आउट भएका थिए । उनले नै नेपालको विकेटकिपिङ पनि सम्हाल्नेछन् । शरद तेस्रो नम्बरमा ब्याटिङ गर्न आउने छन् । उनले त्यही पोजिसनमा खेल्दै केन्याविरूद्ध ३१ रन बनाएका थिए । 
यूएईसँग ५ ब्याट्सम्यान, २ अलराउन्डर र ४ बलरसाथ सन्तुलित टिम उतार्न लागेको प्रशिक्षक टमाटाले जनाए । ‘अहिलेसम्म हामी दुई प्रमुख स्पिनर लिएर खेल्ने निर्णयमा पुगेका छौं,’ उनले भने, ‘बुधबार बिहानको विकेट हेरेर यो निर्णयमा परिवर्तन आउन पनि सक्छ ।’ केन्या दुवै खेलमा पराजित भएमा तथा यूएईसँगको दुवै खेल जितेमा नेपालले पहिलोपल्ट खेलेको च्याम्पियनसिपको यात्रा पाँचौं स्थानमा टुंगिनेछ । 
सन् २०१५ मा सुरु भएको च्याम्पियनसिपको अन्तिम चरणको खेल सबै टोलीले तटस्थ भूमिमा खेल्ने आईसीसीले जनाएको थियो । यूएईलाई नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले तटस्थ भूमि मान्दा नेपालले यूएईसँग अबुधाबीमा खेल्न लागेको हो । अन्तिम चरणमा केन्याले स्कटल्यान्ड, हङकङले पपुवा न्युगिनी र शीर्ष स्थानको नेदरल्यान्ड्सले नामिबियासँग यूएईमा खेल्दै छन् ।

प्रकाशित : मंसिर २०, २०७४ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?