कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटीको उडान

राजु घिसिङ

काठमाडौं — म्यानचेस्टर युनाइटेडका व्यवस्थापक जोसे मोउरिन्होले आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध प्रिमियर लिगमा पराजित भएपछि भनेका थिए, ‘भाग्यद्वारा संरक्षित सिटी राम्रो टिम हो ।’ उनी हार स्वीकार गर्न नचाहने प्रशिक्षक हुन् । त्यसैले उनले खेल पूर्णत: सिटीको नियन्त्रणमा भए पनि आफ्नो हारको दोष रेफ्रीमाथि थोपरेका थिए ।

सिटीको उडान

ठीकविपरीत छन्, सिटीका व्यवस्थापक पेप ग्वार्डिओला । 

भलाद्मी स्वभावका उनी कसरी राम्रो खेलेर जित्ने भन्नेमा केन्द्रित हुन्छन् । मोउरिन्हो भने जसरी हुन्छ खेल जित्नेमा जोड दिन्छन् । उनको शैली हेर्दा नै प्रस्ट हुन्छ कि राम्रो खेल होइन जित चाहिएको हो । त्यस्तो खेल असली फुटबल प्रेमी रुचाउँदैनन् तर उनी राम्रो खेलप्रति खासै मतलब गर्दैनन् । उनी जसरी भए पनि जित चाहन्छन् ।

घरेलु मैदानमा अपराजित यात्रा ४० खेलमा टुंगिएपछि मोउरिन्होले उपाधि होड पनि सम्भवत: सकिएको बताएका थिए । उनले बुधबार बोर्नमाउथलाई पराजित गरेपछि भने उपाधि होड सकिएको भए अहिले आफू ब्राजिल वा लस एन्जल्समा बिदा मनाइरहेको हुने बताए । उनी पत्रकार सम्मेलनमा आफ्नो उपस्थितिलाई सनसनीपूर्ण बनाउन सिपालु छन् ।

प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले ओल्ड ट्राफोर्डमा २—१ को जितपछि ११ अंकको अग्रता लिएको थियो । तैपनि ग्वार्डिओलाले उपाधि होडबारे अहिले नै बोल्न हतार हुने बताएका थिए । उनको टिमले बुधबार स्वन्सीलाई ‘अवे’ खेलमा ४–० ले हराएर ११ अंकको अन्तरलाई निरन्तरता दियो । र, यो सिटीको लगातार १५ औं जित हो, जुन प्रिमियर लिगको कीर्तिमान पनि । यो सिजन दोस्रो खेलमा एभर्टनसँग बराबरी खेलेयता सिटीले निरन्तर जित हात पारेको छ ।


प्रिमियर लिगको १७ खेल सकिँदा सिटीले ४९ अंक जोडेको छ । यस अवधिमा यति अंक प्रिमियर लिग इतिहासकै सबभन्दा बढी हो । लिगमा अझै २१ खेल बाँकी छन् तर अहिलेसम्मको अवस्था हेर्दा सिटीलाई रोक्न त्यति सजिलो देखिन्न । म्यानचेस्टर युनाइटेड ११, डिफेन्डिङ च्याम्पियन चेल्सी १४, टोटेनहम र लिभरपुल १८ तथा आर्सनल १९ अंक पछाडि परिसकेका छन् । त्यसैले म्यानचेस्टर सिटीलाई सन् २०१७—१८ को प्रिमियर लिग च्याम्पियनको रूपमा हेरिएको छ । तर जनवरीपछि गर्ने प्रदर्शन उपाधि होडमा सधैं निर्णायक बन्ने गरेको छ ।

सिटीले लिगमा जति अंकको अग्रता लिएको छ उसले मैदानमा पनि उत्तिकै सानदार प्रदर्शन गरिरहेको छ । म्यानचेस्टर डर्बीमा युनाइटेडले ‘नेगेटिभ फुटबल’ खेल्नुलाई सिटीकै डर मान्नुपर्छ । प्रिमियर लिगको तथ्यांक उपलब्ध गराउने ओप्टाकाअनुसार सिटीले स्वान्सीविरुद्ध ७२% र युनाइटेडमाथि ६५% ‘बल पोजेसन’ राखेको थियो । यो सिजन उसको औसत बल पोजेसन नै ७२% रहेको छ भने उसका खेलाडीको पासको निश्चितता पनि ८८% छ । विपक्षीको क्षेत्रमा सबभन्दा बढी खेल्ने पनि सिटी नै हो । यी तीन पक्षमा प्रिमियर लिगका अरू टिम धेरै पछाडि छन् ।

तीव्र गतिमा आक्रामक खेल पस्किँदै गोल गर्ने प्रिमियर लिगका क्लबहरूको साझा रणनीति नै हो किनभने प्राय: सबै टिम राम्रो खेलभन्दा अंक बटुल्नेमा बढी जोड गर्छन् । यसमा सिटी भने जुलाई २०१६ मा स्पेनी प्रशिक्षक ग्वार्डिओलाको आगमनपछि अलि पृथक् देखिएको छ । उनले बार्सिलोनामा चार सिजन रहँदा तीन ला लिगा र दुई युरोपेली च्याम्पियन्स लिगसहित १४ उपाधि जितेका थिए । त्यसपछि तीन सिजन जर्मन महारथी बायर्न म्युनिख सम्हाल्दै सात उपाधि जितेर उनी म्यानचेस्टर आएका हुन् ।

योहान क्रयुफले बार्सिलोनामा स्थापित गरेको ‘टोटल फुटबल’ को दर्शन पछ्याउँदै ग्वार्डिओलाले बार्सिलोनालाई ‘टिकीटाका’ शैलीमा ढालेका थिए । बल पोजेसनमा हावी हुने, कुनै पनि अवसरमा आक्रमण गर्ने र हरेक खेल जित्ने उनको दर्शन हो । तर इंग्लिस फुटबलको व्यस्त तालिका, मौसम र उच्चस्तरको प्रतिस्पर्धाले उनको ‘ट्याक्टिस’ प्रिमियर लिगमा सफल नहुने धेरैले दाबी गरेका थिए । ग्वार्डिओलाको पहिलो सिजन भयो पनि त्यस्तै । उनको टिम गत सिजन अन्तिम दिन मात्रै शीर्ष चारमा स्थान पक्का गर्दै च्याम्पियन्स लिगमा छनोट भयो । च्याम्पियन चेल्सीभन्दा १५ अंक पछाडि पर्‍यो । सिटी च्याम्पियन्स लिगमा पनि अन्तिम १६ बाटै बाहिरियो ।

पहिलोपल्ट ट्रफीविहीन सिजन बिताउँदा पनि ग्वार्डिओलाले आफ्नो दर्शन त्यागेनन् । उनले म्यानचेस्टर आउँदा नै आफूले इंग्लिस फुटबललाई परिवर्तन गर्न नचाहेको बरु आफै परिवर्तन हुनका लागि आएको बताएका थिए । उनी प्रशिक्षक छंदा बार्सिलोनाको प्लेमेकर रहेका जाभी हर्नान्डेजले भने ग्वार्डिओलाले इंग्लिस फुटबललाई नै परिवर्तन गर्ने बताएका थिए । जाभीको भनाइ अहिले सही सावित हुँदै छ किनभने ग्वार्डिओला आफैले भनेजस्तो परिवर्तन भएनन्, आफूअनुकूल इंग्लिस क्लबमा परिवर्तन ल्याइरहेका छन् । उनी वर्खास्त गर्ने समाचार आइरहदा पनि सिटीमा बार्सिलोनाकै शैली विकास गर्ने अभियानमा लागेका थिए । अहिले आएर त्यो शैली सिटीमा स्थापित भएको छ र यसैमा क्लबले कीर्तिमान बनाइरहेको छ ।

स्वान्सीका व्यवस्थापक पाउल क्लेमेन्टले सिटीजस्तो राम्रो टिम अचेल युरोपमा आफूले नदेखेको बताए । तर ग्वार्डिओला सिजनको अन्त्यमा उपाधि जित्न सकेन भने अहिलेको प्रदर्शन कीर्तिमानमै सीमित हुने बताउँछन् । त्यसको अर्थ उनको अन्तिम लक्ष्य उपाधि नै हो भन्ने प्रस्ट हुन्छ । सिटीले यो सिजन मन जित्ने खेल पस्कँदै उपाधि होडमा टक्कर दिने युनाइटेड, चेल्सी, आर्सनल र लिभरपुललाई पराजित गरिसक्यो । उनीहरूसँग दोस्रो लेग बाँकी छ र त्यसैले उपाधि होडमा उसको भाग्य निर्धारण गर्नेछ । टोटेनहमसँग शनिबार हुने खेलले उसको यात्रा अझ बलियो बनाउन सक्छ ।

यसपालि घरेलु मैदानमा २२ अंक जोडेको सिटीले लिगमा विपक्षी भूमिमा शतप्रतिशत खेल जितेको छ । च्याम्पियन्स लिगमा भने उसलाई समूह चरणको अन्तिम खेलमा युक्रेनको साख्तरले २–१ ले हराइदियो । त्यसले सबै किसिमको प्रतियोगितामा उसको अपराजित यात्रा २८ खेलमा टुंग्याइदिएको थियो । तर सिटी समूह विजेता हुनबाट रोकिएन । उसले अन्तिम १६ मा स्विजरल्यान्डको बासेलविरुद्ध खेल्नेछ । सिटीका लागि दुई प्रतियोगिता पनि छन्, लिग कप र एफए कप । उसले लिग कप क्वटरफाइनलमा मंगलबार लेस्टर सिटीसँग खेल्दै छ भने एफए कपको तेस्रो चरणमा जनवरी पहिलो साता बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

ग्वार्डिओला क्याम्पनुमा छँदा बार्सिलोनाको जुन खाल्को खेल देखिन्थ्यो, त्यस्तो झल्को अहिले सिटीले दिइरहेको छ । सिटी अझ आक्रामक खेलिरहेको छ किनभने ग्वार्डिओलाको दर्शनमा इंग्लिस फुटबलको आक्रामक शैली पनि थपिएको छ । फोब्र्सले २ अर्ब ८ करोड डलर मूल्यांकन गरेको क्लबको टिममा स्पेनी डेबिड सिल्भा र बेल्जियन केभिन डे ब्रुयनी विंगरको रूपमा छाइरहेका छन् । यी दुईले समान ५ गोल गर्दै ८ गोलमा फाइनल पास दिएका छन् । प्रिमियर लिगमा उनीहरूको तुलनामा अरू मिडफिल्डरको प्रदर्शन अलि पछाडि नै छ । मध्य भागमा फर्नान्डिन्हो वा याया टुरे पनि प्रभावशाली छन् ।

सिटीको अग्रपंक्ति पनि निक्कै चुस्त छ । अर्जेन्टिनी सर्जियो एगुइरो, ब्राजिलका ग्याब्रियल जेसस, जर्मन लेरोय साने, इंग्ल्यान्डका रहिम स्टर्लिङलाई रोक्न कुनै पनि क्लबलाई सजिलो छैन । उनीहरूले लिगमा ३३ गोल गरिसकेका छन् । सिटीले सर्वाधिक ५२ गोल गर्दै सबभन्दा कम ११ गोल (युनाइटेड पनि) बेहोरेको छ । कप्तान भिन्सेन्ट कोम्पनी, एलिक्विम मांगला, निकोलस ओटामेन्डी, फावियन डेल्फ, किली वाकरले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बेन्फिकाबाट यही सिजन ल्याइएका ब्राजिली किपर एडरसन मोराएसको प्रदर्शन पनि राम्रो छ । पछिल्लो सिजन केही खेलमा कमजोर देखिएका क्लाउडियो ब्राभो दोस्रो रोजाइमा थन्किएका छन् । ग्वार्डिओलाले च्याम्पियन्स लिगमा फिल फोडेनजस्ता १७ वर्षीय मिडफिल्डरलाई पनि अवसर दिएका छन् । वास्तवमा सिटीको ‘बेन्च’ पनि बलियो छ र उसको सब्स्टिच्युट खेलाडीको मात्र टिम बनाउने हो भने पनि त्यो टिम प्रिमियर लिगका अरू केही क्लबभन्दा गतिलो हुन्छ ।

यूएईका शेख मन्सुर नेतृत्वको अबुधाबी युनाइटेड ग्रुपले थाई पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रासँग सन् २००८ मा किनेपछि सिटीले स्टार खेलाडी भित्र्याउन ठूलो लगानी गरिरहेको छ । त्यसैले सिटी शक्तिशाली भएको हो । मन्सुरको आगमनयता सिटीले दुई लिगसहित ६ उपाधि जितेको छ । यो समूहले स्पेन, अमेरिका, अस्ट्रेलिया, उरुग्वे, जापानको क्लबमा पनि लागनी गरेको छ । मुख्य लगानी म्यानचेस्टर सिटीमै हो । त्यसैले फुटबलको दुनियाँमा राज गर्न पनि सिटीले ग्वार्डिओला भित्र्याएको थियो । अहिले ग्वार्डिओलाको टिमले लय समातेको छ र यसैमा सिटी लोभलाग्दो खेल्दै २०१३–१४ यता पहिलोपल्ट च्याम्पियन बन्न चाहन्छ । तर अझै लामो दौडको लामो दूरी बाँकी नै छ ।
एजेन्सीहरूको सहयोगमा

प्रकाशित : पुस १, २०७४ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?