कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोन गर्न डेढ घण्टा पैदल

कान्तिपुर संवाददाता

ओखलढुंगा — जताततै सञ्चारको विकास भएको छ । हात हातमा मोबाइल सुविधा बढेपछि संसार साँघुरिएको अनुभव दुर्गम गाउँका लागि समेत छ । तर सोलुखुम्बुको गुदेल गाविसको योक्स्खा गाउँका लागि भने यो कुरा अझै गफमै सीमित भएको छ । उनीहरूको गाउँमा अहिलेसम्म कुनै किसिमको टेलिफोन सेवा पुगेको छैन ।

कसैलाई फोन गरिहाल्नुपर्‍यो भने सबैभन्दा नजिक पर्ने निम्चोला डाँडासम्म पुग्नुपर्छ । त्यहाँ पुग्न डेढ घण्टा लाग्ने गर्छ । ‘हाम्रो गाउँमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाँहि बज्छ तर फोन गर्नु पर्‍यो भने निम्चोला डाँडामा पुग्नै पर्छ ।’ स्थानीय निमासाङ्गगे शेर्पाले भने, ‘जिल्लाभरि टेलिफोनका टावर ठडिएका छन् । तर हाम्रो गाउँसम्म यो सुविधा आईपुगेको छैन ।’

थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरूले पनि बेवास्ता गरेको शेर्पाले बताए । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल कुनै फोनको पहुँच पुगेको छैन । योक्स्खा गाउँमा शेर्पा र राई गरि करिव २० घर बसोबास गर्छन् । यस विषयमा पटक पटक माग गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरू बताउँछन् । 

नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरू हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै गुनासो गरेका छन् । 

प्रकाशित : फाल्गुन २९, २०७३ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?