कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकमा नयाँ न्युजफिड

हेलो शुक्रबार

फेसबुकले स्न्यापच्याटको सबैभन्दा विशेष फिचर कपी गर्दै आफ्नो न्युजफिडमा राखेको छ । गत सातादेखि फेसबुकका सबै प्रयोगकर्ताले मोबाइल एप यो फिचर सुरुवात भएको देखिसकेका छन् । फेसबुकले नयाँ फिचरको नाम दिएको छ– फेसबुक स्टोरी र डाइरेक्ट ।

फेसबुकमा नयाँ न्युजफिड

फेसबुक प्रयोगकर्ताका लागि यी नयाँ भए पनि स्न्यापच्याट प्रयोगकर्ताका लागि भने यो उनीहरूले केही वर्षयता चलाउँदै आएका प्रिय फिचर हुन् । यी दुवै फिचर फोटो र भिडियो सेयरिङका लागि उपयुक्त हुनेछन् ।

फेसबुक स्टोरीमा प्रयोगकर्ताले फोटो र भिडियो राख्न सक्नेछन् जुन आफ्ना फेसबुक साथीले २४ घण्टासम्म हेर्ने सुविधा हुन्छ । त्यसलगत्तै, उक्त फोटो वा भिडियो स्वत: डिलिट हुनेछ । साथै, फेसबुक डाइरेक्ट फिचरबाट प्रयोगकर्ताले आफूले चाहेको व्यक्तिलाई फोटो वा भिडियो पठाउन सक्छन् जसलाई अर्को प्रयोगकर्ताले २४ घण्टाभित्र बढीमा दुई पटक मात्रै हेर्न मिल्छ । र, रिप्लाई गर्न पनि मिल्छ । फेसबुक स्टोरी र डाइरेक्ट दुवैमा बढीमा २० सेकेन्डसम्मको भिडियो राख्न र पठाउन मिल्छ । 

प्रयोगकर्ताले न्युजफिडको विकल्पमा फेसबुक स्टोरी र फोटो राख्न सक्छन् जुन २४ घण्टापछि स्वत: डिलिट हुने भएकाले भविष्यमा त्यसले कुनै समस्या सिर्जना गर्छ वा आफूलाई लाज लाग्ने स्थिति निम्त्याउँछ भनेर धक मान्नुपर्ने छैन । साथै, डाइरेक्टबाट पठाएको फोटो वा भिडियो बढीमा दुई पटकभन्दा बढी हेर्न नमिल्ने भएकाले यसबाट दुरुपयोग हुने सम्भावना कम हुन्छ । फेसबुकले यस्तै विशेषता भएको म्यासेन्जर डे फिचर म्यासेन्जरमा सुरु गरिसकेको थियो ।

स्टोरी र डाइरेक्ट फिचरको अर्को विशेषता भनेको यसमा भएको क्यामेरा फिल्टर हुन् जसबाट प्रयोगकर्ताले विभिन्न भागभंगीमा फोटो वा भिडियो खिच्ने सुविधा पाउँछन् । वा, पहिल्यै खिचेको फोटो/भिडियोलाई पनि इडिट गरी अपलोड गर्ने सुविधा छ । यसमा प्रयोग भएको क्यामेरा फिल्टर, मास्कलगायतका सुविधा पनि स्न्यापच्याटकै जस्ता लाग्छन् । नयाँ पुस्ताका प्रयोगकर्तालाई लक्षित गर्दै फेसबुकले यस्तो फिचर सुरुवात गरेको हो ।

स्न्यापच्याट कम उमेरका प्रयोगकर्ताहरूबीच लोकप्रिय मानिन्छ । राखेको फोटो वा भिडियो २४ घण्टामा स्वत: डिलिट हुने, विभिन्न क्यामेरा फिल्टरसहितको सुविधाका कारण स्न्यापच्याटले नयाँ पुस्तामाझ ‘कुल’ एपको उपमा पाएको थियो । फेसबुकमा भने यसको विपरीत ३० भन्दा बढी उमेरका मानिसको बाहुल्यता हुन थालेको छ । जसका कारण फेसबुकलाई नयाँ पुस्ताका प्रयोगकर्तालाई आकर्षित गर्ने चुनौती थियो । फेसबुकले यसै कारण ४ वर्षअघि स्न्यापच्याटलाई ३ अर्ब डलरमा किन्ने प्रस्ताव राखेको थियो । फेसबुकको प्रयास सफल भएन बरु स्न्यापच्याट उसको प्रतिद्वन्द्वीका रूपमा उदायो । यसलगत्तै उसले स्न्यापच्याटको फिचर लगातार कपी गर्दै आएको छ । 

फेसबुकबाहेक फेसबुक स्वामित्वको इन्स्टाग्रामले पनि यसै गरिरहेको छ । इन्स्टाग्रामले यसअघि नै स्न्यापच्याटको जस्तै इन्स्टाग्राम स्टोरी सुरु गरिसकेको थियो जसलगत्तै इन्स्टाग्राममा सक्रिय प्रयोगकर्ताको दर बढेको रिपोर्ट सार्वजनिक भएको थियो । फेसबुक स्वामित्वको म्यासेजिङ एप ह्वाट्सएपले पनि स्टोरी फिचर राखिसकेको छ ।

सबैभन्दा ठूलो नेटवर्कले आफ्नो सबैभन्दा महत्त्वपूर्ण फिचर कपी गरिसकेपछि स्न्यापच्याटलाई भने धक्का लाग्नेछ किनकि फेसबुकमा दैनिक एक अर्ब बढी मानिस सक्रिय छन् भने स्न्यापच्याटमा दैनिक सक्रिय हुनेको संख्या २० करोडको हाराहारीमा छ । यसले स्न्यापच्याटलाई नयाँ प्रयोगकर्ता आकर्षित गर्नबाट रोक्न पनि सक्छ किनकि स्न्यापच्याटको सबै फिचर फेसबुकमै भएपछि प्रयोगकर्ताले अर्को एप डाउनलोड गर्ने झन्झट नगर्न पनि सक्छन् । 

प्रकाशित : चैत्र २५, २०७३ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?