कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रि वाइफाईदेखि फ्लाइओभर

मकर श्रेष्ठ

काठमाडौं — घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे, ट्राफिक जाम, खानेपानीको हाहाकार, पार्क र खुला क्षेत्रको अभाव, जताततै फोहोरको डंगुर, अव्यवस्थित सार्वजनिक यातायात राजधानीका मुख्य समस्या हुन् । भूकम्पले क्षति भएको व्यक्तिगत घर, सम्पदा, विद्यालय, अन्य सार्वजनिक भवनको पुनर्निर्माण हुन सकेको छैन ।

मापदण्डविपरीत, नक्सा पासबिनै संरचनाहरू बनिरहेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका पुराना सहरका समस्यालाई मेयरका उम्मेदवारले कसरी समाधान गर्ने योजना अघि सारेका छन् ? ‘काठमाडौंलाई धूलो मुक्त गर्छु, ट्राफिक समस्या बाटो चौडा पारेर मात्रै हुँदैन ।

फ्लाइओभर बनाउँछु,’ कांग्रेस काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार राजुराज जोशीले भने, ‘५ वर्षभित्र काठमाडौंमा मेट्रो चलाउँछु ।’ उनले महानगरवासीको सेयरमा मेट्रो सञ्चालन गर्ने योजना बुनेका छन् । सामुदायिक विद्यालयलाई बोर्डिङसरह बनाउने उनको योजना छ । विद्यार्थी नभएका ४/५ विद्यालयलाई एउटैमा गाभ्ने र गाभिएको विद्यालय भवन भएको ठाउँमा पार्क बनाउने उनको योजना छ ।

महानगरकै एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले काठमाडौंको फोहोरलाई मुख्य समस्याका रूपमा लिएका छन् । ‘मेरो पहिलो प्राथमिकता महानगरको फोहोर व्यवस्थापन हुनेछ,’ उनले भने । शाक्यले काठमाडौंलाई चौबीसै घण्टा सञ्चालन हुने सुरक्षित ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका छन् । धूवाँ, धूलोमुक्त गरी वातावरणमैत्री बनाउने उनले प्रतिबद्धता जनाएका छन् । ‘शान्त र जीवन्त सहर बनाउन चाहन्छु,’ उनले भने, ‘गुरुयोजना नबनेसम्म महानगरको विकास गर्न सकिँदैन ।’ महानगरवासीलाई स्मार्ट सिटिजन कार्डको व्यवस्था गर्ने र ई–गभर्नेन्स प्रणालीमार्फत पारदर्शी प्रशासन प्रणाली लागू गर्ने उनले बताए । वाग्मतीलगायत सबै नदीलाई प्रदूषणमुक्त बनाई हरियालीयुक्त करिडोर निर्माण गर्ने, भूकम्पबाट क्षति पुगेका ऐतिहासिक धरोहर र सम्पदा निर्माण गर्ने, ढल निकासको व्यवस्था गर्ने उनले बताए । 

प्रिस्कुलमा नि:शुल्कदेखि तारमुक्त नगर
ललितपुर महानगरपालिकाको समस्या समाधान गर्न उम्मेदवारहरूले पानी हालेर धूलोमुक्त बनाउनेदेखि ट्राफिक जाम कम गराउन फ्लाइओभर बनाउनेसम्मको योजना अघि सारेका छन् । कांग्रेसबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले आफू चुनिएको १ महिनाभित्र नगरलाई धूलोमुक्त गर्ने बताए । सातामा दुईपटक पानीले सडक सफा गर्ने उनको योजना छ । ‘नगरवासीले अनुभूति हुने गरी धूलो र धूवाँ नियन्त्रण गर्छौं,’ उनले भने, ‘ट्राफिक जाम नगर क्षेत्रमा त्यति सहज छैन । पुल्चोकदेखि थापाथलीसम्म फ्लाइओभर बनाउँछौं । यसले ट्राफिक जाम न्यून हुनेछ ।’ त्यस्तै प्रिस्कुललाई ‘फ्री’ गर्ने उनले बताए । कक्षा १ पुग्नुअघिको ‘प्री’ कक्षा महँगो भएको भन्दै महानगरवासीलाई नि:शुल्क गर्ने उनले बताए । पर्यटक आउने मुख्य प्रवेशद्वारबाट दरबार स्क्वायर, महाबौद्ध, गोल्डेन टेम्पल र कुम्भेश्वरमा विद्युतीय सवारीको व्यवस्था गर्ने उनको योजना छ ।

एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले धूलो हटाउन सडक पिच गर्ने, निरन्तर सफा राख्न धूलो बढार्ने ब्रुमर ल्याउने, महानगरमा धूवाँ हुने गाडी चल्न नदिने योजना बनाएका छन् । ट्राफिक जाम हटाउन सडक चौडा पार्ने पनि उनको योजना छ । चक्रपथभित्र मेलम्चीको पानी आएपछि चक्रपथबाहिर फर्पिङको पानी वितरण गर्ने उनले सुनाए । ढल निकासलाई व्यवस्थित गर्ने, गोदारवारीदेखि बूढानीलकण्ठसम्म ट्राम (व्यवस्थित गाडी) सहुलियतमा चलाउने उनले योजना बुनेका छन् । नगरलाई कुरूप बनाउने केबल, बिजुली, टेलिफोनको ताररहित गर्ने उनले सपना देखेका छन् । ‘अत्याधुनिक सिटी बनाउँछौं,’ उनले भने । माओवादी उम्मेदवार दीपेश महर्जनले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणमा जोड दिने बताए । रोजगारी सिर्जना गर्ने, ढल र खानेपानीको समस्या समाधान गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, हरिसिद्धि, बुङमती, खोकना, सुनाकोठीमा पर्यटकीय क्षेत्र बनाउने उनको योजना छ ।

लाइभ म्युजियमदेखि घरघरमा नि:शुल्क वाईफाई
काठमाडौं र ललितपुर महानगर जस्तै छिमेकी मध्यपुर र भक्तपुर नगरपालिकाका उम्मेदवारका योजना पनि कम छैनन् । यी दुई नगरका मेयरका उम्मेदवारले मनोहरा र हनुमन्ते खोला सफा बनाउनेदेखि घरघरमा नि:शुल्क वाईफाईको व्यवस्था गर्नेसम्मको योजना अघि सारेका छन् । मध्यपुर नगरपालिकाका कांग्रेस उम्मेदवार अष्ट कवेले जनताको काम छिटोछरितो बनाउने कुरालाई प्राथमिकतामा राखेका छन् । उनले भौतिक पूर्वाधारलाई जोड दिँदै पर्यटकीय नगर बनाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय कला संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न जीवित संग्रहालय निर्माण गर्ने, पर्यटन पदमार्गको विकास गर्ने, व्यवस्थित ढल निकास र खानेपानीको व्यवस्था गर्ने उनले बताए । उनले ‘१ वार्ड १ एम्बुलेन्स, १ वार्ड १ योग केन्द्र’ को अवधारणा अघि सारेका छन् । नगरलाई प्लास्टिकमुक्त बनाउने घोषणा गरेका छन् ।

फोहोर व्यवस्थापन गर्ने, नदीकिनार पार्क निर्माण गरी पर्यटकीय स्थल बनाउँदै सुन्दर मध्यपुुरको अवधारणा अघि सारेका छन् । 
मध्यपुरका एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठले नगरमा पुरानो र नयाँ बस्तीबीचको दूरी नमेटाएसम्म विकास हुन नसक्ने बताए । नयाँ र पुरानो बस्तीको विकास एउटै मोडलबाट हुन नसक्ने उनले बताए । ‘पुरानो बस्तीलाई परम्परागत रूपमा संरक्षण गर्ने र नयाँ बस्तीलाई अर्बन टाउन प्लानिङका रूपमा व्यवस्थित गर्नुपर्छ,’ उनले भने, ‘हनुमन्ते र मनोहरा करिडोर बनाएर बाहिरी रिङरोडको विकास गर्नुपर्ने हुन्छ । खोलामा खसालिएको ढल हटाएर करिडोरमार्फत काठमाडौं र ललितपुरसँगै मिसाउनु जरुरी छ ।’ 

नगदेश, बोडे र ठिमीमा भित्री चक्रपथको व्यवस्था गर्ने र यी बस्तीमा सवारीसाधन निषेध गर्ने, पैदल मार्गको विकास गरी पर्यटक भित्र्याउने उनको योजना छ । खानेपानी मूल लाइन ४ इन्चबाट १२ इन्चको बनाउने, सानोठिमी क्षेत्रलाई शैक्षिक हबका रूपमा विकास गर्ने, सामुदायिक र संस्थागत विद्यालयको गुणस्तरमा तालमेल गराउने, टेक्निकल कलेजको विकास गर्ने उनको योजना छ । नगरको भित्री क्षेत्रलाई लाइभ म्युजियम बनाउने, कोरिया–नेपालमैत्री अस्पताललाई व्यवस्थित गर्ने, नर्सिङ कलेज सञ्चालन गर्ने योजना बनाएका छन् । नगर प्रहरीको व्यवस्था गर्ने र सुरक्षा निकायसँग समन्वय गरी सुरक्षित बस्तीको परिकल्पना गरेका छन् । ‘सेफ जोन र स्मार्ट सिटी बनाउँछु,’ उनले भने, ‘मासिक १ लाख खर्च गरी हरेक घरमा नि:शुल्क वाईफाईको व्यवस्था गर्छौं ।’

शिशु स्याहारदेखि विश्वविद्यालयसम्मको योजना
व्यवस्थित सफा नगरका रूपमा चिनिएको भक्तपुर नगरपालिकाका उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य र वातारणलाई जोड दिएका छन् । नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिले विगतमा जस्तै जनश्रमदान जुटाएर कला सम्पदा र पार्टी पौवाको जीर्णोद्धार गर्ने बताए । यसअघि अधुरो रहेको शिशु स्याहार केन्द्र टोल–टोलमा खोल्ने, नमुनाका रूपमा विद्यालय, कलेज र विश्वविद्यालय स्थापना गर्ने योजना रहेको उनले बताए । 

भक्तपुरलाई उनले खेलाडीको सहरका रूपमा चिनाउने सपना बुनेका छन् । विश्व सम्पदामा सूचीकृत क्षेत्रमा भत्किएको घर पुरानै शैलीमा बनाउनेलाई सहुलियत दिने, नगरको फोहोर खोलामा नमिसाई व्यवस्थापन गर्ने योजना उनको छ । ट्रिटमेन्ट प्लान्ट बनाएर पानी सफा गर्ने योजनासमेत उनले बनाएका छन् । ‘नगरपालिकाले सञ्चालन गरेको जनस्वास्थ्यलाई २५ शय्याको अस्पताल बनाउन स्वीकृत पाए पनि अघि बढाउन सकिएको थिएन । अब तत्काल २६ शय्याको बनाएर सेवा गराउने मेरो योजना छ,’ सुवालले भने ।

कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले नगरको खोलाकिनारमा दुर्गन्ध हटाउन ट्रिटमेन्ट प्लान्ट बनाएर पानी सफा गर्ने बताए । भक्तपुरलाई पर्यटकीय नगर बनाउने उनको योजना छ । उच्च शिक्षा हासिल गर्न भक्तपुर जाऊँ भन्ने उनले प्रमुख नारा बनाएका छन् । ‘अरू देशबाट समेत भक्तपुरमा राम्रो शिक्षा हासिल गर्न सकिन्छ भन्ने अवस्था बनाउँछु,’ उनले भने, ‘शैक्षिक हब बनाउने योजना छ ।’ 

एमालेका उम्मेदवार विष्णुप्रसाद सुवालले फोहोर व्यवस्थापन गर्ने योजना बनाएका छन् । ‘करिडोर बनाएर ढल निकास गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘स्थानीय कृषकको उत्पादन घर आँगनबाटै बिक्री गर्न नगरमा तरकारी बजार व्यवस्थापन गर्छौं ।’ माओवादी केन्द्रका सत्यलाल मुलले आफ्नो योजना प्रतिबद्धतापत्रमार्फत सार्वजनिक गर्ने बताए ।

प्रकाशित : वैशाख २३, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?