कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीदेखि अन्तरिक्षसम्म नासा स्पेस एप्स च्यालेन्ज

हेलो शुक्रबार

६९ देशको १ सय ७ सहर । अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले हरेक वर्ष आयोजना गर्ने दुईदिने ह्याकाथनमा सहभागी देश र सहरको संख्यामा काठमाडौं पनि ५ वर्षयता छुटेको छैन । अर्थ (पृथ्वी) लाई मुख्य थिम राखिएको यो वर्षको ह्याकाथनमा काठमाडौंमा १८ टोली समावेश भएका थिए ।

पृथ्वीदेखि अन्तरिक्षसम्म नासा स्पेस एप्स च्यालेन्ज

ह्याकथनमा सहभागी हुने टिमलाई थिमअन्तर्गतका विभिन्न विषयमा च्यालेन्ज दिने गरिन्छ । यो वर्ष काठमाडौंमा सहभागीमध्ये १० टिमलाई ग्लोबल च्यालेन्ज र आठ टिमलाई लोकल च्यालेन्ज दिइएको थियो । सहभागीलाई दिइएको ग्लोबल च्यालेन्ज पृथ्वी, अन्तरिक्षका विषयमा केन्द्रित थियो भने लोकल च्यालेन्ज स्थानीयस्तरका समस्यामा केन्द्रित थिए । यीमध्ये अधिकांश विपद्को पूर्वजानकारी दिने सिस्टम बनाउने खालका थिए । 

सहभागी टिममध्ये लोकल च्यालेन्ज स्विकारेको रिसर्च एसोसिएसन फर इन्टर्‍याक्टिभ टेक्नोलोजी (रेट) काठमाडौं ह्याकाथनमा उत्कृष्ट ठहरिएको छ । लोकल च्यालेन्जअन्तर्गत उसले खडेरी पूर्वानुमान गरेर समाधानको उपाय बनाउने चुनौती पाएको थियो ।

दिनेश न्यौपाने, दीपक निरौला, बेसप्रकाश दनुवार र सविन प्रधानाङ्गको टोलीले बनाएको माटोमा पानीको मात्रा नाप्ने रोबोटिक्स सिस्टम काठमाडौं ह्याकाथनमा उत्कृष्ट ठहरिएको हो । उनीहरूले दुईदिने अवधिमा यसको प्रोटोटाइम सिस्टम बनाएका थिए ।
‘रोबोटिक्स सिस्टमले जमिनमा पानीको मात्रा नापेर पानी कम भए सिँचाइका लागि मोबाइलबाटै निर्देशन दिन सकिन्छ,’ टिम सदस्य दिनेश न्यौपानेले भने । आफ्नो टोलीले यसअघि अन्य रोबोटिक्स सिस्टम बनाइसकेको उनले बताए ।

ग्लोबल च्यालेन्ज स्विकारेको सुदीप घिमिरे र वर्षा लामिछानेको टोली ह्याकाथनको फस्ट रनरअप ठहरियो । भर्चुअल स्पेस एक्स्प्लोरेसन नाम दिइएको उनीहरूको समूहले स्याटेलाइटबाट पृथ्वीलाई भर्चुअल्ली हेर्न मिल्ने एप्लिकेसन बनाएको थियो । उपलब्ध भएसम्मका फोटो र जानकारी समावेश गरी यस्तो एप्लिकेसन बनाएको टोली सदस्य सुदीप घिमिरेले जानकारी दिए ।

‘जोकोही अन्तरिक्षमा जान सक्दैनन्, कुनै स्याटेलाइटले दिने जानकारीको आधारमा सामान्य मानिस, विद्यार्थी, वैज्ञानिक जोकोहीलाई भर्चुअल्ली अन्तरिक्षको यात्रा गराउनु यो एप्लिकेसनको उद्देश्य हो,’ घिमिरेले भने, ‘एक्वा नामक स्याटेलाइटबाट देखिने अन्तरिक्ष र पृथ्वीको दृश्यलाई एप्लिकेसनमा समावेश गरेका छौं ।’

कुनै स्याटेलाइटले संकलन गर्ने प्रत्यक्ष डाटामा पहुँच भए त्यसलाई एप्लिकेसनमा सोहीअनुसार समावेश गर्न मिल्ने घिमिरेले बताए । ‘यसले मानिसलाई स्याटेलाइट, यसको उपकरण, अन्तरिक्ष, अन्तरिक्षबाट देखिने पृथ्वीका बारेमा जानकारी दिन्छ,’ उनी भन्छन् । उनको प्रोजेक्ट काठमाडौं ह्याकाथनको फस्ट रनरअपसहित ग्लोबल नोमिनी भएको छ ।

काठमाडौंबाट ग्लोबल नोमिनीमा टिम इन्नोभेटर पनि समावेश भएको छ । टिम इन्नोभेटर काठमाडौं ह्याकाथनमा सेकेन्ड रनरअप भएको छ । ह्वाट्स फर डिनर नाम दिइएको ग्लोबल च्यालेन्ज स्विकारेको यो टोलीले मोबाइल एप बनाएको छ । इन्जिनियरिङका चार विद्यार्थी मिलेर बनेको समूहमा अस्मिता तुलाधर, सुष्मा गिरी, इरिना स्थापित र रुमी राजभण्डारी सदस्य थिए ।

‘खाना नपाएर कति मानिस भोकै हुन्छन् । सहरमा भएका होटल र रेस्टुरेन्टमा दिनहुँ खानयोग्य खानेकुराहरू खेर गइरहेका हुन्छन्,’ आफ्नो प्रोजेक्टका बारेमा इरिना स्थापित भन्छिन्, ‘खानयोग्य खानेकुरा छन् भने हाम्रो एपमार्फत जानकारी संकलन गर्न सकिन्छ ।’ उनीहरूले प्रतिस्पर्धाका लागि एन्ड्रोइडमा चल्ने एप बनाएका थिए ।

उनीहरूले एपको नाम ‘फुड साइकल’ राखेका छन् । खाना बढी भएको र अभाव भएको जानकारी संकलन गरी त्यसको ग्याप पूरा गर्नु एपको उद्देश्य हो । 

ग्लोबल नोमिनी बनेका दुवै टोलीको प्रोजेक्ट आइडिया विश्वभरका प्रतिस्पर्धीहरूसँग उत्कृष्ट ठहरिए टोलीले नासाले गर्ने अन्तर्राष्ट्रिय इभेन्टमा सहभागिताको अवसर पाउने छन् ।

यो वर्षको काठमाडौंमा भएको स्पेस एप्स च्यालेन्जसको संयोजन गरेको संस्था रोबोटिक्स एसोसिएसन नेपालका अध्यक्ष विकास गुरुङ उत्कृष्ट ठहरिएका आइडियाहरूलाई कार्यान्वयन गर्न अन्य संघसंस्थाले चासो देखाएको बताउँछन् । ‘स्थानीयस्तरको समस्या समाधानमा सहयोगी हुने एप्लिकेसनलाई कार्यान्वयनमा लैजाने तयारीमा छौं,’ उनले भने । स्पेस एप्स च्यालेन्जस इसिमोड र मेर्सीकप्र्सको आयोजनामा भएको थियो । 

प्रकाशित : वैशाख २९, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?