कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के 'स्मार्टफोन' युगको अन्त्य होला ?

हामीलाई नभइ नहुने मोवाइल फोनको अन्त्यपछि आउने प्रविधि
दिनेश यादव

काठमाडौं — स्मार्टफोन अहिले हाम्रो जीवनको अभिन्न अंग बन्न थालेको छ । कुराकानी गर्ने यसको पहिलो काम भएपनि हरेक दिन जसो नयाँ भन्दा नयाँ फिचरहरु आएका कारण यसले हाम्रो जीवन र गतिविधिहरुलाई प्रभावित गर्दै लगेको छ । यसले क्यामेरा र रेकर्डरलाई बिस्थापित गर्दै लगेको छ । अरुपनि हाम्रा लागि आवश्यक धेरै कुराहरु स्मार्टफोनले पुरा गरिरहेको छ ।

के 'स्मार्टफोन' युगको अन्त्य होला ?

तर, मोबाइलका क्षेत्रमा देखिएका अद्भूत परिवर्तनले अबको केही वर्षमा ‘स्मार्टफोन’ पनि हामी माझ नरहने संकेत देखिन थालेकाको छ । नयाँ–नयाँ प्रविधिले स्मार्टफोनलाई ‘डाइनोसर’ को जस्तै अवस्थामा पुर्याउदैछ । पछिल्लो समय प्राविधिकहरु आर्टिफिसियन इन्टेलिजेन्स (एआई) केन्द्रित भइरहेकै बेला औग्मेन्टेड रियलिटी (एआर) र भर्चुअल रियलिटी (भीआर) को परिक्षणसमेत जोडतोडले भइरहेको छ । अझ ‘होलोग्राम’ प्रविधिलाई पनि धेरै प्राविधिकहरुले पछ्याउँदैछन् । यी पछिल्ला प्रविधिहरुलाई ‘स्मार्टफोन’ को ‘किलर’ का रुपमा व्याख्या गरिंदैछ । विभिन्न संचार माध्यमहरुमा ‘डेथ अफ स्मार्टफोन’ या ‘आफ्टर अफ स्मार्टफोन’ बारे विज्ञप्रविधिहरुको तर्कयुक्त विश्लेषणहरु प्रकाशित भएका छन् । के साँच्चिकै स्मार्टफोनको अवसान हुँदैछ त ? यो आलेख यही विषयवस्तुमा केन्द्रित छ ।

सन् २०१७ मे ९ मा ‘नेटवर्क वर्ल्ड’ का सल्लाहकार गेरी इस्टवूडले लेखेका थिए, ‘केही मानिसले एआर जस्ता उच्च प्रविधिले अगामी पाँच वर्षमा स्मार्टफोनको मृत्यु हुनसक्ने लख काटेका छन् ।' एप्पलले पहिलो आईफोन बजारमा ल्याएपछिको १० बर्षमा स्मार्टफोन सबैभन्दा महत्वपूर्ण साँस्कृतिक कला बन्न सफल भयो । यो उपकरणको विक्री विश्व बजारमा चरम बिन्दुमा पुगेको छ । हालको बजार स्मार्टफोनमय बनेको छ । हरेक व्यक्तिले एक से एक स्मार्टफोनको प्रयोग गरिरहेका छन् । अर्थात स्मार्टफोन बिना जीवनको कल्पना नगर्ने अवस्थामा मानिस पुगेका छन् । यसमा भएका नयाँ–नयाँ परिवर्तनले पनि मानिसको आकर्षण बढेको हो ।

तर, कुनै पनि प्रविधिको प्रकृति क्षणिक हुन्छ । त्यसैले मानिसको आवश्यकता अनुसार यसमा परिवर्तन र प्रगति हुन जरुरी छ । प्रविधि भनेको मानिसको दैनिक कार्यहरुकै सञ्चालन र कार्यान्वयनमा सजिलो बनाउने माध्यम हो । त्यसैले डिभाइसहरुमा आमूल परिवर्तन र सुविधा पद्धति अंगिकार गरेको हुन्छ । जहाँसम्म स्मार्टफोनको कुरो छ, यसले मानिसको डिजिटल साथीका रुपमा एकाधिकारको आनन्द प्राप्त गरेको छ । विज्ञहरुको भनाई मान्ने हो भने अबको १० बर्षमा प्रविधिको क्षेत्रमा हुने अविश्कारहरुलाई स्मार्टफोनले अवलम्बन गर्न सक्ने स्थिति छैन । किनभने स्मार्टफोन प्रविधिले अगामी ‘हयुमन डिजाएर वेभ’ का लागि तार्किक इन्टरफेस प्रदान गर्न सक्तैन । प्राविधिकहरुका अनुसार खासगरि ‘एआई’ र ‘एआर’ जस्ता प्रविधिलाई स्मार्टफोनले व्यावासायिक अनुमोदन गर्न सक्तैन । यसो त ‘एआर’ पहिले नै विभिन्न प्रविधिका साथ मानिसको काममा सघाउन पुगिसकेको छ । यसको उदाहरण भनेको हालैका दिनहरुमा ‘वेयरेबल्स’ को लोकप्रियता बढ्नुलाई लिन सकिन्छ । केही विशेष प्रयोगहरु जस्तै स्वास्थ्य तथा फिटनेस क्षेत्रमा यो मुलधारको साम्रागी बनिसकेको छ । यसले विशिष्ट प्रयोगहरुका लागि आवश्यता अनुसार मानिसलाई सन्तुष्टि त प्रदान गर्न सक्छ, तर व्यक्तिको प्राथमिकतामा रहेको ‘डिजिटल कनेक्सन’ को अब ग्यारेन्टी गर्न सक्दैन । यसको प्रमुख कारण उसको स्क्रिन र प्रोसेसिंग पावर क्षमता हो ।

यसैगरि ‘भिआर’ तिब्र रुपमा बढ्दै गएको अद्भूत प्रविधि हो अहिले । एलोन मस्कले हालै एउटा कम्पनीको शुभारम्भ गरे, नाम दिए ‘न्युरिलिंकविहिच’ । यसमा स्नायुयुक्त ‘न्यूरल ल्यास’ प्रविधिलाई अप्नाइएको छ । मानिसलाई एउटा बाह्य इन्टरफेस कै बिना कम्प्युटरसंग प्रत्यक्ष संवाद गर्ने अनुमति यो प्रविधिले प्रदान गर्नेछ । मानव मस्तिष्कमा झै यसमा प्रत्यारोपित इलेक्ट्रोड समावेश गरिएको छ । यसले अनिवार्य रुपबाट मानिसलाई आफ्नो विचार अपलोड गर्ने अनुमति पनि प्रदान गर्नेछ । यसो त यो प्रविधिको कानुनी प्रक्रियाहरु लामो भएपनि उदेश्य मानव संज्ञानात्मक कार्यमा सुधार गर्नु र मानिस तथा यन्त्रबीच सिम्बायोसिस (सहजीवन) प्रदान गर्नु रहेको बताइएको छ । स्मार्टफोनले यो प्रविधि उपयोगमा ल्याउन नसकेको अवस्थामा पनि उसको अस्तित्व संकटग्रस्त हुन सक्छ ।

त्यस्तै, स्मार्टफोनले पछिल्ला १० वर्षमा मानिसको खर्चलाई धेरै कम गरिदिएको छ । हाल यसले आफ्नो क्षमताको बृद्धिसंगै ठूलो आकारको स्क्रिनमा फर्खिरहेको छ । चलचित्र या भिडियो च्याटलाई सजिलै हेर्न सक्षमता प्रदान गर्न उसले यसो गरेको बताइदैछ । तर, ठूलो स्क्रिन भएको फोन सेट उपभोक्ताका लागि अब रुचिकर छैन । किनभने बोक्न असजिलो हुन्छ । यस्तो अवस्थामा मानिसले स्मार्टफोन किन्दैनन् । फेरी पहिलेकै साना घडी स्क्रिन भएको फोन सेटले पनि उनीहरुलाई सन्तुष्ट पार्न सक्तैन । यसले पनि स्मार्टफोनको भविष्य संकटमा परेको दाबी प्राविधिकहरुको छ । तर स्मार्टफोनका पक्षपातीहरुले ‘वेरिएबल्स’, भीआर हेडसेट्स र चश्मा जस्ता पछिल्ला प्राविधि समावेश गरिएको खण्डमा यसको प्रतिस्थापना असंभव रहेको बताउँछन् । ‘प्यासेफिक क्रेस्ट’ का प्रविधि विश्लेषक बेन विल्सन यो तर्क मान्न तयार छैनन् । उनी भन्छन्, ‘अब अर्को स्मार्टफोन हुने छैन, यसले एउटा इतिहास रच्यो, त्यो दोहोरिने संभावना विल्कुलै छैन ।’ उनी स्मार्टफोन तत्कालै बजारबाट नबिलाउने भएपनि प्राविधिक रुपमा यसको स्क्रीनमा मानिसले समय कम बिताउने र अन्ततोगत्व विस्तारै बजारबाट हराउँदै जाने दाबी गरिएको छ ।

‘बिजनेशइन्साइडर’ अनलाईनले पनि स्मार्टफोनको भविष्य संकटग्रस्त रहेकोबारे एउटा आलेख प्रकाशित गरिसकेको छ । त्यो आलेखमा छ, ‘तत्कालै त हैन तर एक दिन तपाईले सोचे भन्दा पनि छिटै स्मार्टफोन तपाईको जीवनबाट गायब हुनेछन, जसरी बीपर्स र फ्याक्स मेसिन गायब भएको थियो ।’ आलेख अनुसार सन २०२७ सम्म विश्व ‘साइबोर्ग’ मा पुग्नेछ । तर त्यो अवस्थामा पुग्नुअघि एलोन मस्क, माइक्रोसफ्ट, फेसबुक, अमेजन र अन्य स्टार्टअप्स यसलाई जोगाउने प्रयासमा लागेका छन् ।

‘स्मार्टफोनको अवसान किन हुँदैछ’ भन्नेबारे केही वर्षअघि गरिएको एउटा अनुसन्धान रिपोर्टलाई सिएनबीसी अनलाइनले ९ डिसेम्बर २०१५ मा प्रकाशित गरेको थियो । स्वीडिस नेटवर्क इन्फ्रास्ट्रक्चर फर्म ‘इरिक्सन’ ले ४० मुलुकका एक लाख भन्दा बढी उपभोक्ताहरुलाई सहभागि गराएर गरेको अनुसन्धानले पनि स्मार्टफोनको भविष्य सकिने देखाएको अनलाइनले जनाएको छ । अनुसन्धानमा दुई वटा स्मार्टफोन प्रयोग गसिकेकाहरुलाई समावेश गरिएको थियो । सहभागीहरुले विगतलाई सम्झिंदै भनेका थिए, ‘पाँच वर्षमा स्मार्टफोन अतित बन्ने छ , यसको स्थान एआईले लिनेछ ।’ अघिल्लो महिना मात्रै ‘इड्गील्याब’ अनलाईनमा जायान गुइडिमले स्मार्टफोनको अवसानपछि एआर/भीआरले स्थान लिने बताएका थिए । उनले लेखेका छन, ‘एआर/भीआर प्रविधिले स्मार्टफोनद्वारा हासिल गरेको सार्वजनिक बजारको अपिललाई क्यास मात्रै गर्ने छैन, त्यसलाई गायबै गराउने छ ।

‘एआर’ र ‘भिआर’ प्रविधिलाई स्मार्टफोनको विकल्पका रुपमा अघि सारिएको छ । ‘टेक टाइम्स’ का भ्यामिएन मैकालिनका अनुसार अग्मेन्टेड रियलिटी (एआर) एउटा त्यस्तो प्रविधि हो, जसले वास्तविक संसारका प्रयोगकर्ताको दृष्टिकोणमा कम्प्युटरमा उत्पन्न गरिएको फोटोलाई ‘सुपरइम्पोज्ड’ गरी समग्र दृश्य प्रदान गर्छ । यसमा प्रयोगकर्तालाई भर्चुअल सामग्रीहरुलाई वास्तविक विश्वसंग जोड्न सहयोग गर्छ । यसैगरि, भर्चुअल रियलिटी (भीआर) त्यो प्रविधि हो जसमा भर्चुअल रियलिटीले भर्चुअल विश्वको सिर्जना गर्छ र प्रयोगकर्ताहरु यसै माध्यमबाट अन्तर्क्रिया गर्न सक्छन् । यो यस्तो तरिकाले काम गर्नेछ, जसमा प्रयोगकर्ताले वास्तविक र अवास्तविक छुट्याउनै गाह्रो पर्नेछ । त्यसैगरि, ‘होलोग्राम/होलोग्राफिक डिस्प्ले’ लाई पनि स्मार्टफोनको विकल्पका रुपमा अगाडि बढाइएको छ । यसमा कुनैपनि वस्तुको भर्चुअल त्रि–आयामिक प्रतिबिम्ब बनाउनका लागि प्रकाश विच्छेदनको उपयोग गरिन्छ । होलोग्राफिक डिस्प्ले ३ डी इमेजिङ भन्दा अनौठो खालेको हुनेछ । किनभने प्रतिबिम्ब हेर्नका लागि कुनै दर्शकका लागि कुनै विशेष चश्मा या वाहिरी उपकरणको सहयोग यसमा चाहिंदैन । यो प्रविधिले टाढाका मानिससंग सम्पर्क गर्दा पनि छेवैमा रहेको अभास प्रयोगकर्तालाई दिने छ ।

धेरै मानिसहरुले स्मार्टफोनलाई अझै पनि क्रान्तिकारी उपकरण भन्ठान्छन । उनीहरु भन्छन्, ‘हरेक ठाउँमा लैजान सजिलो छ, उपयोग गर्न पनि सजिलो छ । ’ तर अब त्यो सानो डिभाइसमा भिडियो र चलचित्र हेर्न र च्याट गर्न मानिस चाहन्न । फेरी ठूलो पर्दा बोक्न झन्झटिलो हुन्छ । त्यसैले पनि यसको भविष्यमाथि प्रश्नचिन्ह खडा भएको हो । जेहोस, स्मार्टफोनको अवसान पछिको अवस्था मानिसका लागि अनौठो बन्ने निश्चित छ । स्मार्टफोनपछिको स्थिति व्यक्तिगत उत्पादनको सन्दर्भमा मात्र हैन मानिसको वास्तविक दिनचर्या र सिंगो मानव जीवनलाई नै प्रभाव पार्ने खालेको हुनेछ ।

प्रकाशित : भाद्र १९, २०७४ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?