कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकको फन्दा

भवानी भट्ट

कञ्चनपुर — रुकुमको कोल गाउँपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै दुवैले मोबाइल नम्बर पनि साटासाट गरे । घण्टौं फेसबुकमै झुन्डिएर ती युवकसँग उनी गफिन्थिन् । उनी विस्तारै ती युवकसँगको प्रेमजालमा परिन् ।

फेसबुकको फन्दा

फेसबुकमा युवक र युवतीले आफ्नो तस्बिर राखेका थिएनन् । अचानक एक दिन धनमायाको फेसबुक ब्लक भएपछि फोनमा कुराकानी हुन थाल्यो । फेसबुक र मोबाइलमा लामो समय कुराकानीपछि उनीहरू दुवै नजिक भए । ती युवकले धनमायालाई घुम्ने बहानामा बोलाउन थाले । धेरै कर गरेपछि धनमाया आफ्नी दिदीसँगै महेन्द्रनगर पुगिन् ।

युवकले उनलाई बनबासा पुलमा बोलाएका थिए । गड्डाचौकी नाका हुँदै जान लागेका दिदीबहिनीलाई माइती नेपालका कर्मचारीले रोकेर सोधपुछ गरे । त्यसपछि माइती नेपालका कर्मचारी युवतीहरूलाई गड्डामै राखेर युवक खोज्न हिँडे । नेपाली र भारतीय प्रहरीको सहयोगमा ती युवक पक्राउ पनि परे । त्यसपछि मात्रै धनमाया र उनकी दिदीलाई भारत पठाउन खोजेको रहस्य पर्दाफास भयो । जब यसबारे ती दिदीबहिनीले थाहा पाए अनि उनीहरूको होसहवासै उड्यो । ‘धन्न हामी जोगियौं,’ साउन अन्तिम साता माइती नेपालले उद्धार गरेर फिर्ता ल्याएपछि घर जाने क्रममा भेटिएकी धनमायाले भनिन्, ‘फेसबुक र मोबाइलकै भरमा हामी झन्डै बेचिएका थियौं ।’ युवकले झोलुंगे पुल, शुक्लाफाँटा र बनबासा पुल आदि हेर्न घुमाइदिने भन्दै बोलाएको उनले जानकारी दिइन् ।

माइती नेपालले भारतीय प्रहरीको एन्टी ह्युमन ट्राफिकिङ सेलको सहयोगमा महाकाली नगरपालिकाका मोहन पाललाई नियन्त्रणमा लिएको हो । उनीसँग ५ किलोग्राम अफिमसमेत फेला परेपछि भारतीय प्रहरीले उनलाई हिरासतमा राखेको छ । ‘उनले आफूलाई अर्कै युवकले युवती ल्याउन पठाएको बयान दिएका छन्,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘अफिम भेटिएपछि भारतीय प्रहरीले ती युवकको पनि खोजी गरिरहेको छ ।’ मोहनले धनमायासँग फोन र फेसबुकमा कुरा गर्ने पनि आफू नभएको बताएका छन् ।

मोबाइल र फेसबुकको बढदो प्रयोगले केही वर्षयता त्यसकै माध्यमबाट मायाप्रेमको जालमा फसेर कयौं युवती भारतीय कोठीमा पुगेको हुन सक्ने रोकथाममा लागेका बताउँछन् । सीमामा रोकथाम गरिएका पनि अधिकांश मोबाइलबाटै सम्पर्क भएका छन् । ‘दुई/चार महिनासम्म कुराकानी हुन्छ, मोबाइलकै भरमा घर छाडेर हिँड्छन्,’ माइती नेपालकी भट्टले भनिन्, ‘दलालको फन्दामा परेर भारत पुगेपछि पछुताउँछन् ।’ उनका अनुसार यति बेला गड्डाचौकी नाकामा हरेक दिन भारत भएर तेस्रो मुलुक जाने तथा दलालकै फन्दामा परेर भारत जाने ३/४ जना युवती भेटिने गरेको छ ।

फेसबुककै माध्यमबाट महेन्द्रनगरका नरेश अवस्थीसँग प्रेमसम्बन्ध सुरु भएपछि काठमाडौंकी १७ वर्षीय एक किशोरी पनि घर छाडेर हिँडेको भट्टले बताइन् । नरेशकी पहिलो श्रीमतीले थाहा पाएपछि ती किशोरीलाई प्रहरीको जिम्मा लगाइएको हो । पछि उनका अभिभावकको जिम्मा लगाएर घर फिर्ता गरिएको छ ।

‘छोरी स्कुलबाटै हिँडेकी रहेछ, हामी त कता गई भनेर अन्योलमा थियौं,’ गत साता छोरी लिन महेन्द्रनगर पुगेका किशोरीका अभिभावकले भने, ‘मोबाइलको प्रयोगमा छाडा छाडेका कारण अहिलेको समस्या आएको हो ।’ ती किशोरी गत वर्ष दसैंमा युवककै घरमा बसेर एक साता महेन्द्रनगर घुमेर फर्किएकी थिइन् । यसपटक भने उनी विवाह गर्ने भनेर घर छाडेर आएकी थिइन् ।

प्रकाशित : भाद्र २४, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?