कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समावेशी ल्होछार

काठमाडौं — तामाङ पहिरनमा उनी ठाँटिएकी थिइन् । चुच्चे नाकमा ठूला आँखाले अनुमान लगाउन सकिन्थ्यो उनी तामाङ समुदायकी हैनन् ।

समावेशी ल्होछार

शंखमूल बस्ने आरती रेग्मी टुँडिखेलमा शनिबार सोनाम ल्होछार महोत्सवमा निकै खुलिन् । साथी सुप्रिया तामाङसित आएकी उनका लागि ल्होछारका हरेक गतिविधि नौला थिए । अझ उनले लगाएको तामाङ पहिरन चाख लाग्दो थियो । मखमली गुन्यू र चोलीमा सजिएकी आरतीले तामाङ टोपीसमेत शिरमा ढल्काएकी थिइन् । 

‘सबै साथीले लगाउन सिकाएकी,’ आरतीले भनिन्, ‘बाहुनकी छोरी तामाङ भेषमा बेग्लै देखिएकी छु ।’ मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘शान्ति र सहअस्तित्व’ को कुरा गरिरहेको बेला यी दुईको मित्रता विम्बात्मक लाग्थ्यो । महोत्सवमा भने जिन्स पाइन्ट र पेन्सिल हिल जुत्तामा समेत मौलिक परिधान लाउनेहरू तन्नेरीहरूको भीड थियो । केटाहरूले क्रन्जी जिन्समाथि तामाङले लगाउने सेतो सर्ट लगाएका थिए भने युवतीहरू पुरै मौलिक गरगहनामा सजिएका थिए । महोत्सवमा राखिएको फुड स्टलहरूमा पनि विविधता थियो । ७० भन्दा बढी स्टल रहेको महोत्सवमा अधिकांश परिकार आधुनिक थिए ।

अलि फरक शैलीको परिकार स्टल नं १ र २ मा देखियो । शाहाकारी समूहले राखेको स्टलमा सबै परिकार तामाङ समुदायकै मौलिक तरिकाले बनाइएका थिए । भेज मन पराउनेहरू यो स्टल खोज्दै आउँथे । करिब चार वर्षदेखि सक्रिय रूपमा शाहाकारी अभियान चलाइरहेका समूहमा ५० भन्दा बढी युवा सक्रिय थिए स्टल आसपास । शाहाकारी अभियन्ता वीर तामाङ मौलिक परिकारको महत्त्व, इतिहास, अर्थ र यर्थाथ बुझाउने प्रयास गर्दै थिए । उनका अनुसार खासमा तामाङ समुदायले शुभकार्यमा माछा–मासु प्रयोग गर्दैनन् । तर, पछिल्लो समय अरू संस्कृति पछयाउँदा मांसहारी बढी हुन थालेको उनको दाबी छ । यो समूहको भेज स्टलमा ‘खाप्से’, ‘आलुम’ (पानी रोटी), ‘तेमे’ (तरुल), ‘फापर गेङ’ (फापरको रोटी), ‘गुन्द्रुक अचार’ लगायत परिकार थिए । खानामा पनि समावेशी गराउन उनीहरूले नेवारी संस्कृतिका परिकार, ‘बारा’, ‘योमरी’, ‘सेलराटी’ लगायत राखेका थिए । 

वीरका अनुसार मांसहारीलाई शाहाकारी बनाउन निकै कठिन छ । यसको गतिलो उपायका रूपमा आफूहरूले अनौठो परिकार ‘भेज मिट’ बनाएको बताए । ‘भटमासबाट बनाइन्छ र मासुजस्तै स्वादको हुन्छ,’ उनले भने, ‘धेरैले मिठो मानेर खाइरहेका छन् ।’ उनले स्टलबाट उठेको रकम सामाजिक कार्यमा खर्चिने सुनाए । महोत्सवमा पढन्तेहरूका लागि बुक स्टल पनि राखिएका छन् । याम्बुरी बुक्सको व्यवस्थापनमा राखिएको पुस्तक स्टलमा दिनभरजस्तै भीड रह्यो । ल्होछारको बेला तामाङ संस्कृति, जीवनशैली, इतिहास र आख्यान विधाका पुस्तकहरू बढी बिक्री हुने याम्बुरी बुक्सका कुयाङ लामा घिसिङले जनाए । नेपाल तामाङ घेदुङले गरेको महोत्सव आइतबारसम्म जारी रहनेछ । 

प्रकाशित : माघ १६, २०७३ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?