कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदीमा जेल बसेर फर्किएकाले प्रधानमन्त्रीलाई सोधे, ‘हामीलाई न्याय कसले दिन्छ ?’

होम कार्की

काठमाडौं — हत्या अभियोगमा ७ बर्ष साउदी अरबको जेद्दाको जेलमा बसेर काठमाडौं आइपुगेका १० जना नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफूहरुलाई न्याय र क्षतिपुर्ति दिलाउन अनुरोध गरेका छन् ।

साउदीमा जेल बसेर फर्किएकाले प्रधानमन्त्रीलाई सोधे, ‘हामीलाई न्याय कसले दिन्छ ?’

‘नेपाल सरकारले वेवास्ता गरिदिँदा हामी अनाहकमा ७ बर्ष जेल बस्नुपर्‍यो,’ विराटनगर-५ का ३२ वर्षीय भीम चिमारियाले दाहाललाई भने, ‘साउदीमा रहेको नेपाली दुताबासले बेलैमा महत्वका साथ हाम्रो मुद्दा हेरिदिएको भए तीन महिनाभन्दा बढी बस्न पर्दैन्थ्यो । दुताबासले नहेरिदिएको कारण हामी ७ बर्षसम्म बस्नुपर्‍यो ।’

साउदी प्रहरीले भारतीय नागरीक मारिएको मुद्दामा समातेर हत्या अभियोग लगाएको थियो । प्रहरीले लगाएको हत्याको अभियोग प्रमाणीत हुन नसकेपछि आफूहरु स्वदेश फिरेको उनीहरुले बताए । चिमारियासँगै अरु ९ पीडितहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । जसमा सुनसरीका चक्रबहादुर गुरुङ, नवलपरासीका कृष्णबहादुर दमाई, भोजपुरका श्रीकुमार राई, ओखलढुंगाका वीरबहादुर बुढाथोकी, झापाका दीपेन्द्र शेर्मा, नुवाकोटका रामबहादुर तामाङ, तनहुँका केशबहादुर नेपाली, रुपन्द्रेहीका भक्तबहादुर दर्जी र रसुवाका सोमबहादुर तामाङ थिए । ७ बर्ष जेल बसेर उनीहरु गत डिसेम्बर १८ तारिख काठमाडौं आइपुगेका थिए ।

पीडित श्रीकुमारले आफूहरु दोहोरो अन्यायमा परेको प्रधानमन्त्री दाहाललाई बताए । ‘पहिलो त हामीलाई लगाएको हत्या अभियोग प्रमाणित हुन सकेन । मृतकको शबमा भेटिएको रगत र फिंगरप्रिन्ट हामी कसैको मिलेन,’ उनले भने, ‘दोस्रो, हत्या नगरे पनि हामीले अदालतले सुनाएको सजाय भुक्तान भएको बर्षौ बितेपछि मात्रै स्वदेश फिर्न पायौं ।’

अदालतले दीपेन्द्र, भीम र श्रीकुमारलाई ५ वर्ष, रामबहादुर र वीरबहादुरलाई ४ वर्ष, केशबहादुर र चक्रबहादुरलाई ३ वर्ष, भक्तबहादुर, सोमबहादुर र कृष्णबहादुरलाई २ वर्ष फैसला सुनाएको थियो । यो फैसला आउँदा उनीहरू जेल बसेको ५ वर्ष भइसकेको थियो । ‘जसलाई जति वर्ष सुनाइए पनि सबै ७ वर्षसम्म बस्नुपर्‍यो,’ भक्तले भने, ‘अदालतले कुन मुद्दामा यो सजाय सुनाएको हो हामीलाई थाहा भएन ।’

उनीहरुले आफूसँगै पक्राउ भई जेलमै मृत्यु भएका झापाका उमेश श्रेष्ठको शब खोजी पीडित परिवारलाई उपलब्ध गराईदिन पनि माग गरे । ‘हामी त बाँचेर फर्कियौ । हाम्रा साथी उमेशको जेलमै मृत्यु भयो । उसको शब कहाँ छ ?’ भीमले भने, ‘उनको परिवारलाई शब दिलाइदिनुपर्‍यो ।’ पीडितहरुले आफ्नो बेवस्ता गर्ने साउदीका लागि नेपाली राजदुत र कर्मचारीहरु माथि कारबाही गर्न समेत माग गरेका थिए । ‘पछिल्लो समय जानुभएका रेवतीरमण पौडेल र मनोहरी दंगाल हाम्रा लागि भगवान बनेर जानुभएछ,’ भक्तले भने, ‘त्यसअघि गएका कसैले हाम्रो बिषयमा ध्यान दिएनन् ।’

उनीहरुले यस घटनालाई नेपाल सरकारले पाठको रुपमा लिनुपर्ने बताउदै आफुहरुले ७ बर्षसम्म अनाहकमा बस्नुपरेकोले क्षतिपुर्ति दिनुपर्ने माग गरेका थिए । ‘हामी र हाम्रा परिवारले ठूलो मानसीक यातना सहनुपर्‍यो । यसको क्षतिपुर्ति कसले दिन्छ ? साउदीसँग हाम्रा बारे कुरा हुन्छ कि हुँदैन ? यही बारे कुरा गर्न आएका हौ,’ चक्रले प्रधानमन्त्रीलाई सोधे, ‘हामी तपाईबाट न्याय चाहन्छौं ।’ प्रधानमन्त्री दाहालले सरकारबाट सानत्वना स्वरुप राहत दिइने प्रतिबद्धता जनाए । ‘तपाईहरु ठूलो पीडा सहेर जिबितै रुपले सकुशल यहाँ आइपुग्नुभयो । तपाईहरु पनि मृत्युको मुखमा परेर निस्कनुभएछ । एक जनाको शबलाई स्वदेश ल्याउन सरकारले पहल लिनेछ’, उनले भने, ‘सरकारको तर्फबाट पहल गरेर तपाईहरुलाई क्षतिपुर्ति दिलाइनेछ ।’ उनले यस घटनालाई पाठको रुपमा लिदै समीक्षाको बिषय भएको भन्दै दुताबासबाट पनि रिपोर्ट माग्ने बताए । ‘बिदेशमा भएका नेपालीलाई संरक्षण गर्ने दायित्व सरकारको हो । यो बिषयमा हामी कुटनीतिक माध्यमबाट साउदी सरकारसँग पनि कुरा गर्नेछौं’, उनले भने ।

प्रकाशित : माघ १८, २०७३ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?