कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरिसिद्धिको जग्गा बिक्री गर्न लागेको भन्दै विरोध

प्रशान्त माली

ललितपुर — हरिसिद्धि ईटा तथा टायल कारखानाका मजदुर, शेयरधनी र स्थानीय किसानहरुले कम्पनीका सञ्चालकहरुले कारखानाको नाउँमा विभिन्न बैंकहरुमा राखिएको घितो जग्गा बिक्री गर्न लागेको भन्दै बिरोध जनाएका छन् ।

हरिसिद्धिको जग्गा बिक्री गर्न लागेको भन्दै विरोध

हरिसिद्धि इँटा तथा टायल कारखानाका मजदुर, शेयरधनी र स्थानीय किसानहरुले कम्पनीका सञ्चालकहरुले कारखानाको नाउँमा विभिन्न बैंकहरुमा राखिएको घितो जग्गा बिक्री गर्न लागेको भन्दै विरोध जनाएका छन् ।

उनीहरुले कारखानामा विरोध सभा गरेर सञ्चालकहरुले कारखानाको नाउँमा नेपाल कर्मश एण्ड क्रेडिट बैंक (एनसीसी), नेपाल बंगलादेश बैंक (एनबी) र नबिल बैंकमा घितोमा रहेको क्रमश: ८२, ८४ र २३ रोपनी जग्गा बिक्री गर्न लागेको भन्दै विरोध जनाएका हुन् ।

शेयर संर्घष समिति संयोजक अच्युतप्रसाद मिश्रका अनुसार सञ्चालकहरुले २०५५ मा एनसीसी बैंकमा पहिलो पटक २०१ रोपनी जग्गा घितोमा राखेर १५ करोड रुपैयाँ ऋण लिएका थिए । ‘२०६६ मा बैंकले २५ प्रतिशत ब्याज मिनाहा गरि जग्गा जफत गर्‍यो,’ उनले भने, ‘२०६७ मा राष्ट्र बैंकले ब्याज मिनाहा गर्न नहुने भनी २५ प्रतिशत ब्याजको साढे सात करोड रुपैयाँ बराबरको ८२ रोपनी जग्गा पुन: धितो राख्न लगाए ।’

उनका अनुसार हालसम्म बैंकलाई सावा र ब्याज बुझाएको छैन । ‘अहिले ८२ रोपनी जग्गा बिक्री गर्न लागेकाले ध्यान आकर्षण गराएका हौं,’ उनले भने ।

शेयरधनीहरुका अनुसार २०६० तिर एनबी बैंकमा कारखानाका सहायक कम्पनी ललितपुर इन्जिनियरिङको नाउँमा ५ करोड र एनबी बाट्रा हस्पितल एण्ड मेडिकल रिसर्च सेन्टरको नाउँमा १५ करोड रुपैयाँ ऋण लिन कम्पनी ग्यारेन्टी बसेको थियो । ग्यारेन्टी बसे बापत घितोमा राखेको ८४ रोपनी जग्गा पनि अहिले बिक्री गर्ने दाउमा रहेको ध्यान आर्कषण गराएको किसान संर्घष समितिका सदस्य बेखाराम महर्जनले भने, ‘हामी कदापी बिक्री गर्न दिँदैनौं ।’

महर्जनका अनुसार २०६५/६६ मा सिनर्जी प्रपर्टी डेभलपरले नबिल बैंकमा १५ करोड ऋण लिन एनबी बाट्रा हस्पितल एण्ड मेडिकल रिर्सच सेन्टरको नाममा रहेको २३ रोपनी जग्गा घितोमा राखेका थिए । ‘जुन कम्पनी ऐन विपरित थियो,’ उनले भने, ‘तरपनि हालसम्म कारबाही गर्ने निकाय मौन छ ।’

सरकारले कारखाना सञ्चालन गर्न २०२१ तिर हरिसिद्धि किसानसँग प्रतिरोपनी १५ सयका दरले ४ सय १२ रोपनी जग्गा अघिग्रहण गरेको थियो । शेयर संर्घष समितिका अनुसार साधारण सभा नै नगरिकन सञ्चालकहरुले कारखानाको नाममा रहेको ४७ रोपनी जग्गा जग्गा २०६६ मा बी एण्ड बी अस्पताललाई, बागमती हाउजिङ कम्पनीलाई २५ रोपनी, नेपाल क्यान्सर अस्पताललाई २५ रोपनी र विजयदीप ल्याबोटरीलाई ५ रोपनी बिक्री गरिसकेका छन् । एनसीसी बैंकले ११९ रोपनी जग्गा २०६६ मा लिलाम गरेर लिइसकेको छ ।

सरिता श्रेष्ठको नाममा २ रोपनी बिक्री भइसकेको छ । कम्पनीले आन्तरिक राजस्व कार्यालयमा करपनि बुझाएका छैनन् । कम्पनी विरुद किसान संर्घष समिति राखेको सर्वोच्च अदालतमा र शेयर संर्घष समितिले उच्च अदालत पाटनमा राखेको मुद्दा विचाराधनी अवस्थामा छन् । कम्पनी रजिस्ट्रार कार्यालय सहायक रजिस्ट्रार खेमराज खत्रीले सञ्चालकलाई पटक पटक साधारण सभा गर्न निर्देशन दिँदा पनि चासो नदिएको बताए । ‘कारबाही गर्ने अधिकारी कम्पनीलाई छैन,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३, २०७३ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?