कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालको शवगृह कुलर मर्मत भएन

काठमाडौं — पाटन अस्पतालको दक्षिणपूर्व कुनामा एउटा खाना पसल छ । तपाईं त्यहाँ वरिपरि केहीबेर उभिनेबित्तिकै अनौठो गन्ध आउन सुरु हुन्छ । त्यो दुर्गन्ध अन्य कतैको नभई पाटन अस्पतालको शवगृहमा राखिएको शव कुहिएर आएको हो ।

अस्पतालको शवगृह कुलर मर्मत भएन

बेवारिसे शव राखिएको शवगृहको कुलर बिग्रिएको वर्षैं बित्न लागिसक्दा पनि मर्मतको जिम्मेवारी पाएको कम्पनी र अस्पताल प्रशासनले चासो दिएको छैन । 
कुहिएको शवको दुर्गन्ध अस्पतालको पूर्वपट्टिको फुटपाथमा हिँड्ने बटुवा पनि सहन बाध्य छन् । 
चालु आर्थिक वर्षमा कुलर मर्मत गर्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएसमिल्ट रेफ्रिजेरेसन एन्ड इलेक्ट्रिक वर्क सपबीच सम्झौता भएको थियो । सम्झौताअनुसार अस्पतालको मेन्टिनेन्स विभागबाट चेकजाँच भई मर्मत गर्नुपर्ने भनी यकिन भएका एसी (कुलर)हरूको मर्मत गर्ने र एसीको मर्मत गर्दा मेन्टिनेन्स विभागसँग समन्वय गरी प्रतिनिधिको रोहबरमा गर्नुपर्ने उल्लेख छ । त्यस्तै मर्मत गर्दा कुनै सामग्री फेरबदल गर्नुपरेमा सोको जानकारी मेन्टिनेन्स विभागलाई गराई स्वीकृत भएपछि मात्र फेरबदल गर्ने, मर्मत गरेको सेवाशुल्कबापत छुट्टै बिल पेस गर्ने र विभागले कामको मूल्यांकन तथा प्रमाणित गरी पेस गरेपछि लेखा शाखाले निकासा दिने उल्लेख छ । 
तर सम्झौता अवधि सकिन लाग्दा पनि बिग्रिएको कुलरको भने मर्मत भएको छैन । यसबारेमा अस्पताल प्रशासन पनि मौन छ । वर्कसपका सञ्चालक केशव श्रेष्ठले अस्पतालमा कुनै पनि सामानको मर्मत प्रशासनको निर्देशनमा मात्र गर्ने गरेको दाबी गरे । ‘बिग्रिएको उक्त कुलरको मर्मत गर्नेबारे प्रशासनले केही जानकारी गराएन,’ उनले भने, ‘बाँकी दुईवटा कुलर पुराना भएकाले पटकपटक बिग्रिने गरेको छ । हामी बेलाबेलामा मर्मत गर्दै आइरहेका छौं ।’ पाटन अस्पतालका प्रशासकीय अधिकृत लीलाराज आचार्यले बिग्रिएको कुलर मर्मत गर्न सम्झौता भएको कम्पनीलाई पटकपटक जानकारी गराएको दाबी गरे । ‘हामीले मर्मत गर्न पटकपटक भनेका छौं,’ उनले भने, ‘किन नगरेको हो, जानकारी लिई मर्मत गर्न भन्छौं ।’ उनले महानगरपालिकाले समयमा शव व्यवस्थापन नगर्दा पनि दुर्गन्ध फैलिने गरेको बताए । ‘बजेट अभावका कारणले नयाँ कुलर खरिद गर्न सकिँदैन,’ उनले भने, ‘एउटा कुलरको ३०/४० लाख रुपैयाँ पर्छ ।’ ललितपुर महानगरपालिकाका प्रवक्ता रुद्रप्रसाद गौतमले बेवारिसे शवको व्यवस्थापनको जिम्मा महानगरपालिकाको मात्र नभएको बताए । ‘अस्पतालमा मृत्यु भएका शवको व्यवस्थापन अस्पताल प्रशासनले नै गर्छ,’ उनले भने । शवगृहमा ३ वटा कुलर छन् । त्यसमा ६ कोठामध्ये दुइटा ठप्प छन् । महिनौंअघि अस्पतालमा ल्याएका ७ वटा शवमा कुहिएर किरासमेत परिसकेको अवस्था छ । ४ वटा शव अस्पतालका र ३ वटा बेवारिसे हुन् । शवको व्यवस्थापन गर्दै आइरहेका महालक्ष्मी नगरपालिकाका विनयजंग बस्नेतले शुक्रबार २ वटा शवको दाहसंस्कार गरे। उनले तीन वर्षदेखि अस्पताल, सडक, मठमन्दिर र पाटीका बेवारिसे शवहरू जम्मा गरी आफ्नै हातबाट दागबत्ती दिई दाहसंस्कार गरिदिने गरेका छन् । कुलरमा अब ८ वटा बाँकी छन् । दुर्गन्धले रोगसमेत फैलाउने खतरा रहेको कर्मचारी बताउँछन् ।

प्रकाशित : असार २३, २०७४ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?