कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले ३ अर्बको कृषिउपज नष्ट

माधव घिमिरे

विराटनगर — साउन अन्तिम साताको भीषण वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ठूलो परिमाणमा कृषिउपज नष्ट भएको छ । २८ हजार ३ सय ७१ हेक्टरमा लगाएको अन्नवालीलाई क्षति पुर्‍याउँदा करिब ३ अर्ब वरावरको नोक्सानी भएको छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहामा २३ हजार ८ सय ९७ हेक्टरमा रोपिएको धान खेत बगरमा परिणत भएको छ । धानमा मात्र दुई अर्बको नोक्सानी भएको कार्यालयले जनाएको छ ।

बाढीले ३ अर्बको कृषिउपज नष्ट

यी पाँच जिल्लामा २ अर्ब ९३ करोड ९७ लाख ४९ हजार मूल्य वरावरको कृषि उपजमा नोक्सानी पुगेको वरिष्ट वाली संरक्षण अधिकृत अरुणकुमार घिमिरेले बताए । उनका अनुसार सवै भन्दाबढी झापामा ७ हजार २ सय ६६ हेक्टरमा लगाएको कृषिउपज नष्ट हुँदा करिव एक अर्बको क्षति पुगेको छ ।

झापामा ७ हजार हेक्टरमा रोपिएको धान खेत बगरमा परिणत भएको छ । घिमिरेका अनुसार त्यहाँ एक हेक्टरमा लगाएको रवर खेती, २ सय हेक्टरको तरकारी र ६५ हेक्टरको माछा खेतीमा क्षति पुगेको छ । मोरङमा ३ हजार ४ सय ५८ हेक्टरमा लगाएको वालीलाई बाढीले क्षति गर्दा ५५ करोड ४० लाख वरावरको नोक्सानी भएको छ । मोरङमा २ हजार ५ सय २० हेक्टरमा लगाएको धानवाली नष्ट भएको छ । घिमिरेका अनुसार मोरङमा ३ सय ९३ हेक्टरको माछा खेती, ३ सय १७ हेक्टरको तरकारी खेती, १ सय १० हेक्टरको जुट खेती र ७० हेक्टरको उखु खेती नष्ट भएको छ ।

सुनसरीमा ८ हजार ५ सय ५६ हेक्टरमा लगाएको कृषि उपजलाई क्षति पुर्‍याउदा ६३ करोड ५८ लाख मूल्य वरावरको कृषि उपज नोक्सानी भएको निर्देशनालयको तथ्याङक छ । सुनसरीको ७ हजार १ सय हेक्टरको धान खेत बगर भएको छ । उनका अनुसार ९ सय ४५ हेक्टरको तराकारी खेती, २ सय २० हेक्टरको माछा पोखरी, १ सय ५६ हेक्टरको उखु र १ सय ३५ हेक्टरको केरा खेती नष्ट भएको छ ।

सप्तरीमा ६ हजार ७ सय ९० हेक्टरको वाली नष्ट गर्दा ३० करोड ९० लाख रुपैया वरावरको नोक्सानी भएको निर्देशनालयले जनाएको छ । सिरहामा २ सय ७७ हेक्टरको धानखेत, ४ सय ६० हेक्टरमा पालिएको माछा, ३ सय ७२ हेक्टरको तरकारी खेती, २ सय २४ हेक्टरको रहर र २५ हेक्टरमा लगाइएको मकै खेती बाढीले बगाएको पाइएको छ ।

प्रकाशित : भाद्र १५, २०७४ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?