कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् मोदीले योगीलाई रोज्नु ८ कारण

कमलदेव भट्टराई

नयाँ दिल्ली — उत्तर प्रदेशको मुख्यमन्त्रीमा योगी आदित्यनाथको नियुक्तिसँगै उनको छवि र केही विवादास्पद पृष्ठभूमिका बारेमा समेत बहस सुरु भएको छ । वास्तवमा विगत २० वर्षमा भाजपा र योगीबीचको सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो ।

यी हुन् मोदीले योगीलाई रोज्नु ८ कारण

निकै तनावका बीचमा पनि भाजपा र उनीबीच सम्वन्धविच्छेद भएन । कारण थियो– कहिले भाजपालाई आदित्यनाथ नभई नहुने त कहिले आदित्यनाथलाई भाजपाको साथ चाहिने । पार्टीमा कुरा नमिल्दा उनले आफूलाई ‘लो प्रोफाइल’ मा राखे तर आफ्नो शक्तिलाई बढाइराखे ।

उनको चर्काे हिन्दु नाराले कतिपय समयमा भाजपालाई हानि समेत गर्‍यो तर त्योभन्दा बढी फाइदा नै भयो । भारतमा भन्ने गरिन्छ, गोरखपुरमा चुनाव जित्न योगीलाई भाजपा चाहिँदैन तर भाजपालाई उनी चाहिन्छ । गोरखपुरमा उनलाई समर्थकहरूले हिन्दु हृदय सम्राट भनी जयजयकार गर्ने गर्दछन् । त्यसैले प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई मुख्यमन्त्री चयन गरे, जसलाई भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले समर्थन गरे । गृहमन्त्री तथा भाजपाका अर्का उत्तर प्रदेशकै ठूला नेता राजनाथ सिंह ओबीसी समूहबाट मुख्यमन्त्री बनाउने पक्षमा थिए । तर मोदी र आडवाणीको समर्थन भएपछि पार्टीले निर्णय लियो ।

उत्तरप्रदेशको मुख्यमन्त्रीको रूपमा सिंहको नाम नै चर्चामा थियो तर उनले त्यो स्वीकार गरेनन् । सिंहले मोदीपछि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका कारण पनि उनी मुख्यमन्त्रीका लागि तयार भएनन् । हुन पनि बीजेपीलाई मुख्यमन्त्रीको उम्मेदवार छान्ने कार्य आफैंमा जटिल थियो । त्यसैले उसले निर्वाचनअघि मुख्यमन्त्रीको उम्मेदवार नै घोषणा गरेको थिएन । मोदीले योगीलाई छनोट गर्नुका ८ कारण यी छन् :

१. तीन वर्षअघिको जितमा भूमिका
सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा योगीले भाजपाको जितका लागि ठूलो भूमिका निर्वाह गरेका थिए । जसले गर्दा मोदी उनको कामबाट निकै प्रभावित भएका थिए । उक्त निर्वाचनमा बीजेपीले लोकसभाको ८० सिटमध्ये ७३ सिट जितेको थियो । त्यति बेला पार्टीले उनलाई हेलिकप्टर नै दिएर निर्वाचन अभियानमा सहभागी गराएको थियो । भाजपालाई उत्तरप्रदेशमा मुस्लिम समुदायको भोट कम आउने र उनको कट्टरहिन्दु छविका कारण मुस्लिम समुदायलाई विश्वासमा लिन उनलाई मुस्लिमको बढी बसोबास भएका क्षेत्रमा खटाइएको थियो ।

२. चुनावी अभियानका स्टार
हालै सम्पन्न विधानसभा निर्वाचनमा योगी चुनावी अभियानका स्टार नै थिए । उनले भाजपालाई जिताउन उत्तरप्रदेशभरि नै आक्रामक चुनावी अभियान सञ्चालन गरेका थिए । जसले गर्दा विधानसभामा ४०३ सिटमध्ये बीजेपी गठबन्धनले ३२५ सिट जित्यो ।

३. मोदीको अभियानलाई बढाउन सक्ने व्यक्ति
प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ, सबैको विकास’ नामक राष्ट्रिय अभियानलाई राम्रोसँग अगाडि बढाउन सक्ने मुख्यमन्त्रीको रूपमा उनलाई लिइएको छ । उनले हिन्दुत्व र विकासको नारालाई सँगै अगाडि बढाउन सक्ने बीजेपीको विश्लेषण छ ।

४. विजयलाई निरन्तरता दिने उपयुक्त पात्र
सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा पनि आफ्नो विजयलाई निरन्तरता दिन बीजेपी चाहन्छ । त्यसका लागि मोदीले देखेको उपयुक्त पात्र उनी नै हुन् । यसका लागि जातीय सन्तुलन आवश्यक पर्छ । त्यसैगरी उपमुख्यमन्त्रीहरू केशवप्रसाद मौर्य र दिनेश शर्माले ओबीसी समुदाय र ब्राह्मण समुदायलाई प्रतिनिधित्व गर्ने गर्दछन् ।

५. विहारमा समेत प्रभाव पार्न सक्ने व्यक्ति
योगीले गोरखनाथ मन्दिरको ट्रस्टमा काम गरे । विशेषगरी उत्तर प्रदेश र विहारमा यसका धेरै फलोअर छन् । विहारमा भएको विधानसभा निर्वाचनमा भाजपाले हार खानुपर्‍यो । त्यसैले मोदीले त्यहाँको राजनीतिलाई समेत प्रभावित पार्न उनलाई मुख्यमन्त्रीमा सिफारिस गरिएको विश्लेषण गरिएको छ ।

६. दलित र सीमान्तकृत समुदायमा बलियो पकड
कट्टर हिन्दु नेताको छवि बनाए पनि उनको दलित तथा सीमातन्कृत समुदायमा बलियो पकड छ । हालै सम्पन्न विधानसभा निर्वाचनमा दलित र पिछडिएको वर्गले बीजेपीलाई राम्रो भोट दिएका थिए जसलाई बीजेपी आगामी लोकसभा निर्वाचनमा समेत निरन्तरता दिन चाहन्छ । यति मात्र होइन, यही भोटलाई लक्षित गरेर उसले ओबीसी समुदायबाट मुख्यमन्त्री छनोट गर्ने गृहकार्य समेत गरेको थियो । योगीले निर्वाचनको समयमा सीमातन्कृत समुदायलाई राजनीतिको मूलधारमा ल्याउने विषयमा आफ्ना योजनासमेत प्रस्तुत गरेका थिए । यति मात्र होइन, मुस्लिम समुदायलाई समेत उनले खुसी राख्ने विश्वास गरिएको छ ।

७. राममन्दिर बनाउने एजेन्डा
अयोध्यामा राम मन्दिर बनाउने भाजपा र उनको मुख्य एजेन्डा छ, जुन चुनावी अभियानमा पनि महत्त्वपूर्ण एजेन्डा थियो । विशेषत: योगीले स्थापना गरेको हिन्दु युवा वाहिनीले उनलाई त्यस क्षेत्रमा स्थापित गरायो र उनलाई बीजेपीले समेत बेवास्ता गर्न सकेन । आगामी दिनमा यसले पार्टी झन सुदृढ हुने बीजेपीको विश्लेषण छ ।

८. आरएसएसको दबाब
योगीलाई मुख्यमन्त्रीको रूपमा सिफारिस गर्न बीजेपीको भ्रातृ संस्था राष्ट्रिय स्यवंसेवक संघ (आरएसएस) ले प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य नेताहरूलाई निकै नै दबाब दिएको थियो । तर उनको पृष्ठभूमि भने विवादास्पद छ । उनलाई सन् २००७ मा गोरखपुरमा दंगा फैलाएको आरोप समेत लाग्यो । उनलाई त्यतिबेला साम्प्रदायिक अभिव्यक्ति दिएको आरोप लागेको थियो । अहिले पनि उनको त्यो मुद्दा अदालतमा विचाराधीन छ ।

योगी आदित्यनाथले लगातार साम्प्रदायिक अभिव्यक्ति भने दिइरहेका छन् । केही समयअघि उनले यदि एउटा हिन्दु केटीलाई मुस्लिममा परिणत गरियो भने आफूहरूले १०० मुस्लिमलाई हिन्दुमा परिणत गर्ने चुनौती दिएका थिए । उनी सन् २००७ मा संसद्मा राजनीतिक षड्यन्त्रका कारण आफूलाई गिरफतार गरिएको भन्दै रोएका थिए । उनले निरन्तर रूपमा पार्टीको तर्फबाट नै चुनाव लडे पनि जहिले पनि पार्टीबाट आफूलाई दूरीमा नै राख्ने गर्दथे । उनी लखनउ र दिल्लीमा हुने पार्टीका कार्यक्रमहरूमा खासै सहभागी हुने गर्दैनथे ।

सन् २०११ मा बीजेपीका अहिलेका गृहमन्त्री राजनाथ सिंह सद्भावना यात्राका क्रममा गोरखपुर पुग्दासमेत उनलाई कार्यक्रममा बोलाइएको थिएन । सन् २०१३ को विधानसभा निर्वाचनमा योगीले सिफारिस गरेका धेरैलाई बीजेपीले टिकट दिएन, त्यसैले उनका समर्थकहरूले बीजेपीविरुद्ध उम्मेदवारी समेत दिएका थिए । सन् २०१२ मा उत्तर प्रदेशमा भाजपाले त्यति राम्रो सिट नजितेपछि उनी र पार्टीबीचको सम्बन्ध सुध्रिने क्रम सुरु भयो । उनी मुख्यमन्त्री भएपछि भारतका नयाँ बहस सुरु भएको छ– जातीय रूपमा यति विभाजित अभिव्यक्ति दिने योगीले यूपीका सबै जात र वर्गलाई कसरी मिलाएर अगाडि लैजालान् ? यसले भारतको राष्ट्रिय राजनीतिलाई कस्तो प्रभाव पार्ला ?

प्रकाशित : चैत्र ७, २०७३ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?