कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण एसियाली भू–उपग्रह प्रक्षेपण

कमलदेव भट्टराई

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्ष अगाडि घोषणा गरेबमोजिम भारतले शुक्रबार दक्षिण एसियाली भू–उपग्रहको औपचारिक सुरुवात गरेको छ । उनले उक्त सुरुवात गर्ने क्रममा दक्षिण एसियाका सबै सरकार र राष्ट्रप्रमुखसँग भिडियो कन्फरेन्स गरेका थिए ।

दक्षिण एसियाली भू–उपग्रह प्रक्षेपण

मोदीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भू–उपग्रहको सुरुवातसँगै त्यसको फाइदा र आफ्नो वचनबारे धारणा राखे । यसलाई यस क्षेत्रको ऐतिहासिक कदम र सार्क सहकार्यमा उच्च प्रविधिको उपयोगिता भनिएको छ । 

भारतले उक्त भू–उपग्रह दूरसञ्चार, दैवीप्रकोप, टेलिएजुकेसन, टेलिमेडिसिन र दैवीप्रकोप व्यवस्थापनमा सहयोगी हुने भनेको छ । शुक्रबार साँझ ५ बजे यसको     प्रक्षेपणसँगै दक्षिण एसियाली मुलुकहरूको सदस्य राष्ट्रमा भिडियो कन्फरेन्स आरम्भ गरिएको हो । मोदीले उपग्रह सुरुवात गरेलगत्तै प्रधानमन्त्री दाहाल, अफगानिस्तानका राष्ट्रपति अर्सफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन र श्रीलंकाका राष्ट्रपति मैत्रीफाला सिरसेनासँग संयुक्त कन्फरेन्स गरेका थिए । यो छलफलले सार्कप्रति मोदीको प्रतिबद्धता एकपटक पुन: उचाइमा पुगेको छ । यद्यपि यसमा पाकिस्तानले अझै सहभागिता देखाएको छैन । 

यसबाट नेपाल, भुटान, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानले फाइदा लिने बताइएको छ । ४९ मिटर लामो र ४ सय ५० टनको उक्त स्याटलाइट निर्माणका लागि ४ सय ५० करोड भारु खर्च भएको भारतको स्पेस एजेन्सीले जानकारी दिएको छ । यस भू–उपग्रहको अवधि १२ वर्ष रहनेछ । केही दिन अगाडि एक रेडियो कार्यक्रममार्फत मोदीले उक्त स्याटलाइट भारतका तर्फबाट छिमेकी मुलुकलाई उपहार भएको बताएका थिए । दुई वर्षअघि काठमाडौंमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलनमा मोदीले सो स्याटलाइट बनाउने घोषणा गरेका थिए । तर पाकिस्तानले भने सो स्याटलाइटको अंग नहुने यसअघि बताएको थियो । सुरुमा यसलाई सार्क स्याटलाइट भनिए पनि पाकिस्तान सहभागी नहुने भएपछि दक्षिणी एसियाली स्याटलाइट भनिएको हो ।

स्याटलाइट नेपालको विकासको महत्त्वपूर्ण माध्यम बन्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययाले बताए । उनले स्याटलाइटले नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने बताए । उनले सार्क स्याटलाइट निर्माणमा पहल गरेकामा भारतीय सरकार तथा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए । क्षेत्रीय विकास तथा सहकार्यमा स्याटलाइटले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले जनस्तरको सहकार्यमा निकै फाइदा पुग्ने भनिएको छ । 

प्रकाशित : वैशाख २३, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?