बङ्गलादेश जाने क्रममा रोहिङ्गा समुदायका १०० जनाको मृत्यु

रासस/एएफपी

कोक्स बजार (बङ्गलादेश) — म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ । गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो विवादका कारण रोहिङ्गाले देश छोडेका छन् । उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन् ।

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्ने क्रममा यसरी ज्यान जाने गरेको छ । त्यस समयदेखि आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । तर सङ्ख्या भने स्पष्ट छैन ।

म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा व्यापक विवाद सुरु भएको छ । राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् ।

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ ।

उनीहरुले नदी तर्ने क्रममा माछामार्ने र कमसल खालको डुंगा प्रयोग गर्ने गरेका कारण पनि यस्तो दुर्घटना भएको हो । सानो डुंगामा धेरै जना बस्ने गर्नाले डुंगा डुब्ने र धेरै व्यक्ति त्यसैका कारण डुब्ने गरेका छन् ।

प्रकाशित : भाद्र २८, २०७४ १६:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

महिलाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

फातिमा बानु

काठमाडौं — चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् । बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो ।

चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।

बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको मृत्यु भएको हो । उनी चार दिनअघि (शनिबार अस्पताल) भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

‘जन्मजातै उनको नाक थोरै बांगो थियो, दुख्ने-घोच्ने केही हुन्थेन । बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो,’ मृतकका श्रीमान बसन्त भट्टराईले भने । कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले भने, 'शल्यक्रियापछिको उपचारपछि डाक्टरले कहिले संक्रमण कहिले हृदयघात भएको खबर दिइरहेको दाहालले सुनाए ।'

'शल्यक्रियापछि उनी आधा होशमा मात्रै थिइन्, केके बर्बराइरहेकी थिइन्,' श्रीमान वसन्तले भने, ‘हामीलाई मृत्युको स्पष्ट कारण दिनुपर्छ, नत्र हामी डाक्टरलाई कानुनी कारबाही गर्छौं ।’

बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । बिरामीको मृत्यु भएसंगै आफन्तहरुले अस्पताल घेरेका छन् ।

यता अस्पताल प्रशासनले भने कमलाको उपचारमा डाक्टरको लापरवाही अस्विकार गरेका छन् । ‘नाकको शल्यक्रिया सुन्दा सामान्य लागेतापनि यो संवेदनशिल अंग हो, यसको शल्यक्रियामा इन्फेक्सन बढी हुन्छ, कहिलेकाहीँ बिरामीलाई बचाउन सकिँदैन,’ अस्पताल प्रसाशन प्रमुख बिनय प्याकुरेलले भने । मृतकका आफन्तलाई डाक्टरको लावरवाही जस्तो लागे छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘सानो शल्यक्रियामा बिरामीको मृत्यु भयो, यस्तो घटना निकै कम हुन्छ, हामीलाई पनि दुख लागेको छ ।’ घटनाको छानबिन गरि कारबाही अघि बढाउने डा. गौतमले बताएका छन् ।

प्रकाशित : भाद्र २८, २०७४ १६:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT