कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा डरलाग्दो गोलीकाण्ड

कम्तीमा ५८ को मृत्यु, ५०० भन्दा बढी घाइते
बीबीसी

अमेरिकाको लस भेगासमा भएको एक कन्सर्टमा गोली प्रहार गरी ५० जनाको हत्या गरिएको छ भने २ सय बढी घाइते भएका छन् । कन्सर्टस्थल नजिकैको एक होटलबाट अन्धाधुन्धा गोली प्रहार गरिएको थियो ।

अमेरिकामा डरलाग्दो गोलीकाण्ड

संयुक्त राज्य अमेरिकाको लस भेगासमा आइतबार राति मच्चिएको भीषण गोलीकाण्डमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । ५०० जनाभन्दा बढी घाइते भएका छन् ।

लस भेगासस्थित होटलमा सांगीतिक कार्यक्रम भइरहेका बेला एक बन्धुकधारीले अन्धाधुन्ध गोली बर्साएका थिए । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यो गोलीकाण्डलाई अमेरिकी इतिहासकै डरलाग्दो मानिएको छ । ६४ वर्षीय ती बन्दुकधारीले होटलको ३२ औं तलाबाट गोली बर्साएका थिए ।

स्थानीय समयअनुसार आइतबार राति १० बजेर ८ मिनेटमा होटल बाहिर चलिरहेको कन्सर्टमाथि लस भेगासका स्टेफेन प्याडकले स्वचालित हतियारबाट गोली चलाएका थिए । मेन्डले बे रिसोर्ट एन्ड क्यासिनो बाहिर खुला आकाशमुनि कन्सर्ट चलिरहेको थियो । तीनदिने सांगीतिक महोत्सवको अन्तिम दिन आइतबार राति अमेरिकी गायक जेसन एल्डिनले स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका बेला अन्धाधुन्ध गोली चलेको थियो । एकाएक स्वचालित गोलीको आवाज सुनिएपछि संगीत रोकिएको थियो । लगत्तै भागदौड मच्चिएको रेकर्डमा रहेको भिडियोलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

भिडियो रेकर्डअनुसार पहिलोपटक नौ सेकेन्डसम्म गोली चलेको थियो । बन्दुकधारीले करिब ३७ सेकेन्डको विश्राम लिएपछि पुन: गोली बर्साएका थिए । उनले तेस्रो पटक पनि करिब पाँच सेकेन्ड फायर गरेका थिए ।

गोलीकाण्ड सुरु भएलगत्तै होटल परिसरमा विशेष हतियार एवं रणनीतिमा पोख्त मानिने अमेरिकी सुरक्षा दस्ता ‘स्वाट टिम’ प्रवेश गरेको थियो । अन्धाधुन्ध गोली प्रहारपछि आक्रमणकारीले आफैंलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । शंकास्पद आक्रमणकारीको शव भेटिएको कोठामा १० वटा बन्दुक फेला परेका थिए ।

सोमबार रातिसम्म पनि आक्रमणकारीको नियत बुझ्न नसकिएको प्रहरीले जनाएको छ । गोलीकाण्ड मच्चाउने बन्दुकधारी एक्लै रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीले स्वचालित बन्दुकबाट सयौं राउन्ड गोली प्रहार गरेको आवाज सुनिएको थियो । मानिसहरूको भागदौडले कन्सर्टस्थलमा पूरै कोलाहल मच्चिएको थियो । उक्त सांगीतिक कार्यक्रममा करिब २२ हजार मानिस उपस्थित थिए । गोलीकाण्डपछि सडकमा रगत लत्पतिएको थियो । लगत्तै सयौं एम्बुलेन्स परिचालन गरिएका थिए । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै लस भेगास एयरपोर्टका दर्जनौं उडानलाई अन्यत्र डाइभर्ट गरिएको थियो । सन् २०१६ को जुन १२ मा फ्लोरिडाको ओरल्यान्डोस्थित रात्रि क्लबमा भएको गोलीकाण्डमा ४९ जनाको मृत्यु भएको थियो ।

बन्दुक राख्न पाइने संवैधानिक अधिकार रहेको अमेरिकामा पटकपटक यस्ता घटना दोहोरिँदै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । आक्रमणको अन्तर्राष्ट्रिय आतंकवादी समूहहरूसित कुनै सम्बन्ध रहे/नरहेको तत्काल यकिन हुन नसकेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । आईएसले भने यसमा आफ्नो संलग्नता दावी गरेको छ ।

प्रकाशित : आश्विन १६, २०७४ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?