कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत–पाकिस्तान विवाद :‘आक्रमण गरे कडा प्रतिरोध’

बीबीसी

वासिङ्टन — पाकिस्तानले भारतले आफ्ना परमाणु केन्द्रमाथि हमला गरे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

भारत–पाकिस्तान विवाद :‘आक्रमण गरे कडा प्रतिरोध’

विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले वासिङ्टनको तीनदिने भ्रमणका क्रममा भारतले ‘सर्जिकल स्ट्राइक’ अर्थात् परमाणु केन्द्रित आक्रमण गरे पाकिस्तानले धैर्यता नराख्ने धम्की दिएका हुन् । ‘यदि कुनै आक्रमण भयो भने हामीबाट कसैले धैर्यताको अपेक्षा नगरे हुन्छ ।’ पाकिस्तानी सरकारको प्रवक्ता भएको स्पष्ट पार्दै उनले भने, ‘यो नै मैले प्रयोग गर्न सक्ने उच्च कूटनीतिक भाषा हो ।’

भारतीय वायुसेना प्रमुख वीरेन्द्रसिंह धनोआले भारतसँग पाकिस्तानी परमाणु केन्द्र पहिचान गरी ध्वस्त पार्ने क्षमता रहेको बताएपछि आसिफको प्रतिक्रिया आएको हो । भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरसँग पनि भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री आसिफले पाकिस्तानले पछिल्ला दिनमा केही परमाणु हतियार निर्माण गरेको जनाए । भारतसँगको सम्बन्धबारे उनले भने, ‘वर्तमान अवस्थामा पाकिस्तानले सम्बन्ध सुधारका लागि भारतको तर्फबाट कुनै पनि सकारात्मक पहल भएको छैन ।’ उनले सम्बन्ध सुधारका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफले भारतको भ्रमण गरेको जनाउँदै भारतले निरन्तरता नदिएको आरोप लगाए । उनले विगत दुई वर्षयता पाकिस्तानले आतंककारी समूहलाई ध्वस्त पारेको दाबी गरे । उनले अमेरिकासँग मिलेर पाकिस्तानले आतंकवादविरुद्धको लडाइँ अझ क्रियाशील पार्ने इच्छा व्यक्त गरे । 

आसिफले अक्टोबर २ मा पाकिस्तानी टेलिभिजन अन्तरवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आतंककारीको संज्ञा दिएका थिए । उनले भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानलाई आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउने गरेको उल्लेख गर्दै उनकै प्रधानमन्त्री आतंकवादी भएको बताएका थिए । भ्रमण पाकिस्तान र अमेरिकाबीच पछिल्लो समयमा देखिएको तनावपूर्ण सम्बन्ध अन्त्य गर्न केन्द्रित रहेको सञ्चारमाध्यमले जनाएका छन् । गत अगस्टमा दक्षिण एसियासम्बन्धी नीतिबारे बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आतंकवादीलाई पाकिस्तानले आश्रय दिन रोक्नुुपर्ने’ बताएका थिए । उनले त्यस विषयमा अमेरिका ‘चुप लागेर बस्न नसक्ने’ चेतावनीसमेत दिएका थिए । ट्रम्पको अभिव्यक्तिपछि दुई भारतले पाकिस्तानलाई आतंकवादलाई संरक्षण दिएको आरोप लगाएको थियो । 

गत सेप्टेम्बर पहिलो साता न्युयोर्कमा भएको राष्ट्रसंघीय महासभामा बोल्दै भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तान ‘आतंकवादको जननी’ भएको बताएकी थिइन् । भारतले पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीको राष्ट्रसंघीय महासभामाको सम्बोधनको आपत्ति जनाउँदै ‘टेररिस्तान’ को संज्ञा दिएको थियो । अब्बासीले भारत प्रशासित कश्मीरमा भारतीय फौजले सर्वसाधारणलाई मारेको र पाकिस्तानका चरमपन्थी समूहलाई भारतले सहयोग गरेको बताएका थिए । पछिल्लो समय दुई परमाणु शक्ति सम्पन्न राष्ट्रबीच सीमापार आतंकवाद र कश्मीर विवादका कारण सम्बन्ध झनै बिग्रिएको छ । अधिकारीका अनुसार दुई देशबीचको सम्बन्ध हालसम्मकै जटिल बनेको छ । सन् १९४७ मा बेलायतबाट स्वतन्त्रतासँगैको विभाजनपछि भारत र पाकिस्तानले तीनवटा सीमा युद्ध लडिसकेका छन् । 

अमेरिका–पाकिस्तान सम्बन्ध ‘गम्भीर संकटमा’
पाकिस्तानी विदेशमन्त्रीको तीनदिने अमेरिका भ्रमणले दुई देशबीचको सम्बन्धमा ‘गम्भीर संकट’ उत्पन्न भएको विज्ञहरूले जनाएका छन् । अमेरिका–पाकिस्तान सम्बन्धका जानकार तथा अमेरिकी शान्ति संस्थाका वरिष्ठ विज्ञ मोइद युसुफले विदेशमन्त्रीको पछिल्लो भ्रमणले ‘गहिरो अविश्वास’ उत्पन्न भएको जनाए । उनले भने, ‘अमेरिका पाकिस्तानको आतंकवादसम्बन्धी प्रतिबद्धताभन्दा पनि कार्यको प्रतीक्षा गरिरहेको छ ।’ उनले पाकिस्तानको अफगान नीतिले पनि अमेरिका तथा पाकिस्तानसँगको सम्बन्ध भर पर्ने जनाए । 

प्रकाशित : आश्विन २२, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?