कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थशास्त्रको नोबेल अमेरिकी प्राध्यापकलाई

बीबीसी

स्टकहोम (स्विडेन) — यस वर्षको अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड एच थलेरलाई प्रदान गरिने भएको छ । उनलाई ‘व्यावहारिक अर्थशास्त्रमा पुर्‍याएको योगदानका लागि’ पुरस्कार दिने निर्णय गरिएको नोबेल पुरस्कार समीतिले जनाएको छ ।

अर्थशास्त्रको नोबेल अमेरिकी प्राध्यापकलाई

७२ वर्षीय थलेर व्यावहारिक अर्थशास्त्रका एक पिताका रूपमा समेत परिचित छन् । उनी अमेरिकाको सिकागो विश्वविद्यालयका प्राध्यापकसमेत हुन् । उनले लामो समयदेखि ‘व्यावहारिक विज्ञान र अर्थशास्त्र’ विषय 
अध्यापन गर्दै आएका छन् । विगत ४७ वर्षमा सिकागो विश्वविद्यालय सम्बद्ध २९ जनाले अर्थशास्त्र विधामा नोबेल पुरस्कार प्राप्त गरेका छन् । 

उनले प्रतिपादन गरेको अर्थतन्त्रको शब्दावली ‘नजिङ’ अर्थात् ‘सकारात्मक सुदृढीकरण’ आममानिसले कसरी खराब वा असान्दर्भिक छनोट गर्छन् भन्नेबारे केन्द्रित छ । पुरस्कारको घोषणापछि कुरा गर्दै थलेरले ‘असल अर्थशास्त्रका एजेन्टहरू मानव’ भएकोमा ध्यान दिनुपर्ने बताउँदै आफू सदैव त्यसैमा प्रयासरत भएको जनाए । पुरस्कार छनोट समितिका सदस्य पर स्ट्रोयमवर्गले ‘प्राध्यापक थलेरको योगदानले आममानिसको आर्थिक निर्णयमा उसको मनोवैज्ञानिक भूमिका उजागर गरेको’ 

जनाए । उनले भने, ‘थलेरको उपलब्धिले व्यावहारिक अर्थतन्त्रको क्षेत्रमा अन्य अनुसन्धानकर्ताका लागि नयाँ कुरा पत्ता लगाउन गोरेटो निर्माण गरेको छ ।’ 

पुरस्कार निर्णायक समितिले उनको कार्यले मानिसलाई बजारशास्त्रका नयाँ चाल पत्ता लगाउन र गलत आर्थिक निर्णय गर्न रोकेको जनाएको छ । 

अल्फ्रेड नोबेलको नाममा सन् १९०१ देखि प्रदान गर्न थालिए पनि अर्थशास्त्र विधामा भने १९६९ देखि प्रदान गर्न थालिएको हो । पुरस्कार राशि ९० लाख डेनिस क्रोनर (११ लाख अमेरिकी डलर) रहेको छ । 

प्रकाशित : आश्विन २४, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?