कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्याटालोनिया स्वतन्त्रता घोषणा रोकिने

बीबीसी

म्याड्रिड — क्षेत्रीय संसद्मा सम्बोधन गर्नुअघि क्याटालान नेता कार्लस पोइग्डोमेन्टले क्याटालोनिया स्पेनबाट अलग हुने योजना त्याग्न चर्को दबाब परेपछि क्याटालोनिया स्वतन्त्रता रोकिने भएको छ ।

गत आइतबारको विवादास्पद जनमतसंग्रहपछि उनले क्याटालोनिया स्वतन्त्र भएको एकपक्षीय घोषणा गर्ने बताएका थिए । 

युरोपेली संघका शक्तिशाली सदस्य राष्ट्र फ्रान्स र जर्मनी दुवैले स्पेन कुनै पनि हालतमा एक हुनुपर्ने बताएपछि उनी थप दबाबमा परेका हुन् । बार्सिलोनाका मेयरले क्याटालन नेता र स्पेनका प्रधानमन्त्री मारिआनो राखोयलाई संकट साम्य पार्न आह्वान गरेका छन् । 

मंगलबारको क्याटालान संसद्मा बोल्नुअघि मेयर याडा कोलाउले पोइग्डोमेन्टलाई एकपक्षीय रूपमा स्वतन्त्रता घोषणा नगर्न आह्वान गरेका छन् । उलने स्पेनी प्रधानमन्त्री मारियानो राखोयलाई क्याटालोनियालाई म्याड्रिडको प्रत्यक्ष नियन्त्रणमा नराख्न सुझाव दिए । पोइग्डोमेन्ट र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोक्ने कुनै पनि गतिविधि वा निर्णय स्पेनको हितमा नभएको जनाए । 

स्पेनको विपक्षी समाजवादी दलका नेता पेड्रो सान्चेसले पनि पछिल्लो पटक स्वतन्त्रताको विपक्षमा वकालत गरेका छन् । स्पेन सरकारले उत्तर–पूर्वी क्षेत्रको स्वायत्तता स्थगत गर्ने चेतावनी दिइसकेको छ । प्रमुख कम्पनीले क्याटालोनियाबाट आफ्ना मुख्यालय सार्न थालेपछि पृथकतावादी नेताहरूमाथि आर्थिक दबाब पनि थपिएको छ । यसअघि कहिल्यै पनि विश्वले क्याटलोनियाको क्षेत्रीय संसद्लाई यति नजिकबाट हेरेको थिएन । 

स्पेनमा राजनीतिक संकट गहिरिँदै गएको भन्दै युरोपेली संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उसले यदि क्याटालोनियाका स्पेनबाट छुट्टिए पनि युरोपेली संघमा आबद्ध हुने कुनै सम्भावना नभएको प्रस्ट पारेको छ । युरोपेली संघका प्रवक्ताले सम्बद्ध सबै पक्षलाई शान्तिपूर्वक समस्या समाधान गर्न आग्रह गरेका छन् । 

उनले भने, ‘युरोपेली संघ स्पेनी संविधान र नागरिकको मौलिक अधिकारको पूर्ण पालना गर्दै यस घटनाको समाधान गर्न प्रधानमन्त्री राखोय सक्षम भएको विश्वास व्यक्त गर्दछ ।’ अस्ट्रियाका अर्थमन्त्री हान्स जोर्ग सेलिङले ‘स्पेनमा चलेको स्वतन्त्रताको हावा अन्य युरोपेली देशमा पनि फैलन सक्ने’ भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘म स्पेनमा जारी घटना क्रमले अन्य युरोपेली देशमा संकट निम्त्याउने छैन भन्ने आशा गर्दछु ।’ 

प्रकाशित : आश्विन २५, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?