विवादबीच स्पेनमा राष्ट्रिय दिवस

बीबीसी

बार्सिलोना — क्याटालोनियाको विवादास्पद स्वतन्त्रता जनमतसंग्रहपछि उत्पन्न राजनीतिक संकटबीच मनाइएको राष्ट्रिय दिवसमा स्पेनको शाही परिवार उपस्थित भएका छन् ।

प्रधानमन्त्री मारियानो राखोयले बुधबार संसद्मा सम्बोधन गर्दै ४० वर्षे प्रजातन्त्रमा मुलुकले अहिले सबभन्दा गम्भीर खतरा भोगिरहेको बताएको भोलिपल्ट सार्वजनिक रूपमा एकता प्रदर्शनसमेत गरिएको छ । उनले बुधबार संसद्मा सम्बोधनका क्रममा क्याटालोनियाका पृथकतावादी नेतालाई स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने प्रस्ट पार्न पाँच दिनको समय दिएका थिए ।

यदि सोमबारभित्र कार्लस पुइग्डेमोन्टले सोमबारसम्ममा स्वतन्त्र भएको घोषणा गरेको पुष्टि गरे भने उनलाई घोषणा फिर्ता लिन ३ दिनको समय दिने जनाएका छन् । त्यसो गर्न विफल भए म्याड्रिडले संविधानको धारा १५५ अनुसार क्याटलन क्षेत्रको स्वायत्तता निलम्बन गर्दै प्रत्यक्ष शासन लगाउनेछ । प्रधानमन्त्री रखोयले पुज्डमोनले जानीजानी भ्रम उत्पन्न गरेको र आफूले निश्चितता चाहेको बताएका छन् ।

उनले भने, ‘क्याटालोनियाको अहिलेको स्थितिको अन्त्य हुनु जरुरी छ । त्यहाँ जतिसक्दो चाँडो सुरक्षा र शान्ति हुनुपर्छ ।’

पृथकतावादी सरकारले क्याटलोनियामा १ अक्टोबरमा विवादास्पद जनमतसंग्रह गरेपछि स्पेनमा राजनीतिक समस्या बढेको हो । स्पेनको संवैधानिक अदालतले भने जनमतसंग्रहलाई गैरसंवैधानिक ठहर गरिसकेको छ । यसैबीच, अमेरिकाको अन्तर्राष्ट्रिय अधिकारवादी समूहले ‘क्याटालोनियाका शान्तिपूर्ण प्रदर्शनमाथि चर्को प्रहरी दमन’ भएको जनाएको छ । उसले क्टालोनियाका गिरोना र अन्य दुई गाउँमा प्रहरी दमन भएको जनाउँदै स्पेन सरकारले ‘प्रभावकारी छानबिन’ गर्नुपर्ने बताएको छ ।

प्रकाशित : आश्विन २७, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

‘अमेरिकाले युद्धको आगो सल्कायो’

सीएनएन

सोल — उत्तर कोरियाली विदेशमन्त्री री योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युद्धको आगो सल्काएको’ आरोप लगाएका छन् ।

रूसी समाचार संस्थाले रीलाई उद्धृत गर्दै जनाएअनुसार गतमहिना राष्ट्रसंघीय महासभामा दिएको भाषणपछि ट्रम्पले युद्धको आगो सल्काएका हुन् । 

रूसी समाचार संस्था ताससँगको अन्तरवार्तामा रीले भने, ‘राष्ट्रसंघीय महासभामा ट्रम्पको झगडालु र पागल भनाइले यो भन्न सकिन्छ कि, अमेरिकाविरुद्धको युद्धको आगो सल्किएको छ ।’ ट्रम्पले गतमहिनाको सम्बोधनका क्रममा अमेरिका वा मित्रशक्ति देशको रक्षा गर्न उत्तर कोरियालाई ‘पूर्णरूपमा ध्वस्त पार्ने’ धम्की दिएका थिए । एक प्रश्नको जवाफमा रीले अमेरिका र उत्तर कोरियाबीच कुनै पनि हालतमा वार्ता हुन नसक्ने जनाए । 

उनले भने, ‘अमेरिकाको बढ्दो सैनिक दबाब र प्रतिबन्धका कारण यो विल्कुल वार्ताका लागि अनुकूल समय होइन ।’ यसअघि उत्तर कोरियाली हयाकरले अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि आक्रमण गर्न तयार पारेका योजनासम्बन्धी महत्त्वपूर्ण कागजात चोरी गरेका थिए । 

त्यसमा उत्तर कोरियाली नेता किम जोड उनको हत्या तथा युद्धका समयमा सैनिक रणनीति समावेशसमेत थिए । उत्तर कोरियाली हयाकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरी २ सय ३५ गिगाबाइट अति संवेदनशील तथ्यांक चोरेको हो । 

उत्तर कोरियाले गत महिना शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको हो । त्यसलत्तै अमेरिकी पहलमा राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियाविरुद्धको नाकाबन्दी कडा पारेको थियो । 

प्रकाशित : आश्विन २७, २०७४ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्