बेलायती राजनीतिज्ञका यौनकाण्ड धमाधम उजागर हुँदै

नबिन पोखरेल

लन्डन — यतिखेर बेलायतको राजनीति नेताहरुको यौन दुर्व्यवहारको आरोपले तातेको छ । केहि वर्ष अघि बेलायती सांसदहरुले आफ्नो आयव्यय चुस्त नराखेको, नक्कली बिल प्रयोग गरि पैसा लिएको, आर्थिक पारदर्शीता नराखेको जस्ता आक्षेपले ठूलो आलोचना खेप्नुपरेको थियो ।

यसपटक भने बेलायती मन्त्री तथा सांसदहरुले गरेका भनिएको यौनजन्य दुर्व्यवहारका पुराना मुद्दा ब्यूँतिएका छन् ।

बेलायती मिडियाका अनुसार प्रधानमन्त्री टेरेजा मेको दल कन्जरभेटिभका ६ मन्त्रीसहित ४० सांसदमाथि यौन दुर्व्यवहार क्रियाकलाप गरेको आरोप छ । बेलायती सांसदहरुले यौन दुर्व्यवहार तथा अश्लिल कार्य गरेको आरोप लगाउनेमा अधिकांश महिला पत्रकार,पार्टी कार्यकर्ता तथा सहयोगीहरु छन् ।

कयौं महिलाले बेलायती राजनीतिज्ञहरु माथि करणी गर्नेप्रयास गरेको, अश्लिल एसएमएस पठाएको, अनुचित व्यवहार गरेको जस्ता आक्षेप लगाएका छन् । वेस्टमिनिस्टरमा कार्यरत महिलाहरुले एउटा गोप्य वाट्सएप ग्रुप नै बनाएर सांसदहरुको अनुचित यौन व्यवहारबारे खुलासा गर्न थालेको बताइएको छ ।

बेलायती राजनीतिज्ञहरुको यौनजन्य क्रियाकलाप एक पछि
अर्को गरी सतहमा आइरहँदा प्रधानमन्त्री टेरेजा मेले जनप्रतिनिधिहरु समाजमा अनुपम उदाहरणका रुपमा प्रस्तुत हुनुपर्ने बेलायती संस्कार विपरित यस किसिमको आरोप आउनुलाई सरकारले गम्भीर रुपले लिएको बताएकी छिन् ।

यौन हिंसा तथा महिला हिंसामा शून्य सहनशीलता अप्नाउने सरकार तथा पार्टीको नीति रहेको स्पष्ट पार्दै प्रधानमन्त्री मेले बेलायतका प्रमुख पार्टीका नेताहरुको बैठक समेत डाँकेकी छिन् । सभामुख जोन बर्काउले वेष्टमिनिस्टरभित्र बढिरहेको यौन दुर्व्यवहारको निन्दा गर्दै यसबारे सम्बोधन गर्न दलहरुलाई आग्रह गरेका छन् । यसमा शून्य सहनशीलता हुनुपर्नेमा समेत उनको जोड छ ।

यौन दुर्व्यवहारको आरोप सबैभन्दा पहिला रक्षामन्त्री माइकल फालनलाई लाग्यो । फालनले यौन दुर्व्यवहार गरेको भन्दै अहिले केही महिला सतहमा आएका छन् । फालनसहित स्कटल्याण्डका बालबालिका मन्त्री मार्क म्याक डोनाल्ड अश्लिल व्यवहार तथा खराब आचरणको आरोपमा गत साता पदबाटै राजिनामा गर्न बाध्य भए ।

प्रधानमन्त्री मेले यौन प्रकरणमा रक्षामन्त्री फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गरिसकेकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीका मुख्य सचेतक ४१ वर्षीय विलियमसनले बेलायतको संसद सदस्यका रुपमा सन् २०१० मा पहिलो पटकप्रतिनिधित्व गरेका थिए ।

आफ्नो पदबाट राजिनामा दिएका रक्षामन्त्री फालनलाई १५ वर्ष अगाडि एकजना महिला रेडियो पत्रकार जुलिया हार्टलीब्रेवेरको घुँडा छोएको आरोप छ । उता, बेलायती संसद हाउस अफ कमन्सकी नेतृ एन्ड्रीया लेडसमले पनि फालनले आफूलाई अपशब्द बोलेको भन्दै प्रधानमन्त्री मे समक्ष उजुरी गरेको बेलायती पत्रिका द सनले जनाएको छ ।

रक्षामन्त्री फालनले भने आफूले कुनै गल्ती नगरेको तर बेलायती सेनाको सबैभन्दा उच्चतम अनुशासनको नियम अनुरुप उक्त पदमा रहिरहन उपयुक्त नभई राजिनामा दिएको प्रष्टयाएका छन् । उता पत्रकार जेन मार्भिकले सन् २००३ मा फालनले आफूलाई चुम्बन गर्न खोजेको आरोप लगाएकी छिन् ।

दुई सत्तारुढ टोरी मन्त्रीहरु डामियन ग्रीन र मार्क गार्नियरलाई पनि क्याबिनेट अफिसले उनीहरुको अनुचित व्यवहारबारे अनुसन्धान गरिरहेको छ । ग्रीनले सन् २०१५ मा महिला कार्यकर्ता केट माल्टबीमाथि अनुचित यौनजन्य व्यवहार गरेको आरोप छ । गार्नियरले आफ्नो पूर्व सहयोगीलाई सेक्स टोय किनेर ल्याउन भनेको बताइएको छ ।

न्यायमन्त्री डोमिनिक राब र अनुदान सम्वन्धि मन्त्री रोरी स्टेवार्ट पनि विवादमा तानिएका छन् तर नराम्रो काम केही नगरेको दावी उनीहरुको छ । विपक्षी लेबर पार्टीका दुई सांसदहरु केल्भिन होपकिन्स र जारेड ओमारा यस्तै प्रणरणले निलम्बनमा परेका छन् ।

लेबरको गभर्निङ बडी ‘नेशनल एक्जुकेटिभ कमिटी’ की पूर्व सदस्य बेक्स बेलीले सन् २०११ मा लेबरको इभेन्ट हँुदा आफू बलात्कृत भएको, तर यो मुद्दालाई बाहिर नल्याउन एक वरिष्ठ अधिकारीले आग्रह गरेको दावी गरेकी छन् । उनी त्यतिखेर १९ वर्षको थिइन् ।

लेबर नेता जेरेमी कोरबीनले पार्टीले यसबारे अनुसन्धान गर्ने बताउँदै घटना बाहिर ल्याउने ति महिला कार्यकर्ताको साहसको प्रशंसा गरेकाछन् । कोरबीनले लेबर पार्टीमा यौनवाद, यौन दुव्र्यवहार वा शोषण सहय छैन् भनि फेसबुकमा लेखेका छन् ।

प्रकाशित : कार्तिक १९, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कास्की-१ मा पनि बहालवाला र पूर्वमन्त्रीको टक्कर

दीपक परियार, बिना थापा

लेखनाथ (कास्की) — कानुनमन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी प्रतिनिधिसभा सदस्यका लागि कास्कीको क्षेत्र नम्बर १ बाट उठेका छन् । कांग्रेस र वाम गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका यी दुइबीच उक्त क्षेत्रमा यो दोस्रोपटकको प्रतिस्पर्धा हो ।

यसअघि ०६४ को संविधानसभा निर्वाचनमा माओवादीका देव गुरुङसँग दुवै पराजित भएका थिए । गुरुङले १७ हजार ४ सय ९, अधिकारीले १४ हजार ८ सय ८६ र थापाले १४ हजार २ सय ९३ मत पाएका थिए । यसपटक पनि गुरुङ यसै क्षेत्रबाट चुनाव लड्ने चर्चा चले पनि अन्तिममा उम्मेदवारी दिन लमजुङ पुगे । उनी लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार बनेपछि थापा र अधिकारीलाई 'हेभिवेट'को पिरलो टरेको छ । यद्यपि मैदानमा दुई सशक्त राजनीतिक खेलाडी बीचको घम्साघम्सी भने मतदातामाझ चासोको विषय छ ।

  
दुई उम्मेदवारबीच एउटा समानता के छ भने दुवैले २/२ पटक जिल्लामा पार्टी नेतृत्व सम्हालेका छन् । अधिकारी ०४६ र ०५० मा लगातार दुईपटक एमाले कास्कीको अध्यक्ष भए । थापा ११औं र १२औं जिल्ला अधिवेशनबाट कांग्रेसको कास्की अध्यक्ष भएका हुन् । अर्को समानता भनेको दुवै विद्यार्थी राजनीतिबाट उदाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा ०३२ मा नेविसंघको केन्द्रीय अध्यक्ष भएका बेला थापालाई उनले कास्कीमा संगठन खोली सचिवको जिम्मेवारी दिएका थिए । उनले राजनीति सुरु गरेको भने ०३१ बाट हो । २०३६ सालमा नेविसंघको जनकपुर अधिवेशनबाट विमलेन्द्र निधि अध्यक्ष हुँदा थापाले केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

२०३२ देखि सक्रिय राजनीतिमा प्रवेश गरेका अधिकारी ०४० मा पिएन क्याम्पसको स्ववियु सभापति हुने सौभाग्य पाए । पछि उनी पार्टीको केन्द्रीय सदस्य हुँदै पोलिटब्युरो सदस्यसम्म बने । उनी एमालेको गण्डकी अञ्चल सचिव र अध्यक्ष पनि भए । तेस्रो समानता, दुवै उम्मेदवारले राजनीतिक आन्दोलनका क्रममा जेलनेल भोगेका छन् । पार्टीले थालेको सत्याग्रहको आन्दोलनमा गिरफ्तारीमा परेका थापा एमाले अध्यक्ष केपी ओलीसँग ०४२ सालमा सात महिना जेल बसेका छन् । अधिकारीले भने लामो समय जेलजीवन बिताए । पञ्चायतविरोधी आन्दोलनमा उनी ०४० देखि ०४६ सम्म जेल बसे । 

कास्की क्षेत्र नम्बर १ मा बहुदलपछि भएका ५ चुनावमध्ये कांग्रेसले ३, एमालेले र माओवादीले १/१ पटक जितेका छन् । २०४८ र ०५६ मा कांग्रेसका तारानाथ रानाभाट, ०५१ मा अधिकारी, ०६४ मा गुरुङ र ०७० मा थापा विजयी भएका हुन् । ०६४ को संविधानसभा निर्वाचनमा मनाङबाट समेत निर्वाचित भएका गुरुङले कास्की १ छाडेपछि उपनिर्वाचन भएको थियो । उक्त निर्वाचनमा थापा माओवादीका कृष्णबहादुर गुरुङसँग झिनो मतान्तरले पराजित भएका थिए । उपनिर्वाचनसमेत जोड्दा उनले तीनपटक चुनाव लडेका छन् । यो चौथो पटक हो । तीनपटकमा उनी ०७० मा मात्रै विजयी भए । 

एमालेका मानबहादुर जीसीलाई २ सय ७२ मतले पछि पारेर थापा विजयी भएका थिए । उनै जिसीसँग गत स्थानीय चुनावमा थापाले पोखरा लेखनाथ महानगरको मेयरमा प्रतिस्पर्धा गर्न चाहेका थिए । तर, कांग्रेस नेता अर्जुननरसिंह केसीका आफन्त रामजी कुँवरले टिकट उछिट्याएपछि उनी दौडबाट बाहिरिए । २०७० मा थापाको १५ हजार ८ सय ३२ मत आउँदा जिसीले १५ हजार ५ सय ६० ल्याएका थिए ।
 
अधिकारीको चुनावी यात्रा भने निकै रोचक छ । २०४८ मा तारानाथ रानाभाटसँग २९ वर्षे उमेरमै चुनाव लडेर उनी पराजित भए । २०५१ को मध्यावधि निर्वाचनमा उनै रानाभाटलाई हराए । फेरि ०५६ को चुनावमा उनै रानाभाटसँग हारे । ०४८ मा रानाभाटले २० हजार ४ सय १६ भोट ल्याउँदा अधिकारीको १८ हजार ६ सय ८३ मात्रै आएको थियो । २०५१ मा अधिकारीले १९ हजार ९ सय ६५ र रानाभाटले १८ हजार ७ सय १४ मत ल्याए । २०५६ मा रानाभाटले २३ हजार ९ सय ३९ र अधिकारीले २० हजार १ सय ३६ मत प्राप्त गरेका थिए । यसपाली उनी पाँचौंपटक चुनावी मैदानमा छन् । यसपटक रानाभाटलाई टिकटमा पाखा लगाएर मैदान छिरेका थापासँग उनी पुनः भिड्दैछन् । दुबैलाई अहिलेको चुनाव त्यति सहज भने छैन । २०७० को मतलाई आधार मान्ने हो भने वाम गठबन्धन अगाडि छ । त्यतिबेला कांग्रेसले १५ हजार ८ सय ३२, एमालेले १५ हजार ५ सय ६० र माओवादी केन्द्रले ६ हजार ४ सय ७५ मत पाएका थिए । यद्यपि, त्यतिखेर कास्कीमा ४ निर्वाचन क्षेत्र थिए । अहिले विजयपुर वारी पोखराको केही भागसमेत गाभिएर निर्वाचन क्षेत्र ठूलो भएको छ । थपिएको क्षेत्रमा कांग्रेस र गठबन्धनको उत्तिकै प्रभाव छ । क्षेत्र नम्बर १ मा अहिले ९६ हजार ९९ मतदाता छन् ।

प्रकाशित : कार्तिक १९, २०७४ १६:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT