कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भिडियो भाइरल भएपछि छानबिन समिति

–रासस/सिन्हवा

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि त्यसको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।

भिडियो भाइरल भएपछि छानबिन समिति

करिब महिना दिनअघि भारतको चेन्नईबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एक यात्रुलाई विमानस्थलमै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुर्व्यवहार गरेका थिए ।

मंगलबार सार्वजनिक भएको उक्त भिडियोमा एक यात्रुलाई विमानबाट बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालिएको छ । उक्त भिडियो मंगलबार नै भारतका करोडौं नागरिकले हेरिसकेका छन् । 
भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिक रूपमा नै माफी मागेको छ । तर सर्वसाधारण यात्रुमाथि गरिएको दुर्व्यवहारप्रति देशव्यापी रूपमा बढेको आक्रोश अझै मत्थर भने भएको छैन । 

उक्त घटनाको छानबिन गर्न बुधबार बिहानै एक समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले दिएका छन् । 
भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ ।
 
मन्त्री गजापतिले भनेका छन्, ‘एयरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुमा गरिएको यो व्यवहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ, हामीले यस घटनाको छानबिन सुरु गरिसकेका छौं ।’ ती यात्रुलाई भौतिक रूपमा लछारपछार पार्नुका साथै गालीगलौज पनि गरिएको भिडियोको फुटेजमा देखिन्छ । 

प्रकाशित : कार्तिक २३, २०७४ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?