दिल्ली ७० गुणासम्म बढी प्रदुषण, तुवाँलो हटाउन पहल सुरु

–रासस/सिन्ह्वा

नयाँ दिल्ली — वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार पनि हटेको छैन । विज्ञहरुकाअनुसार प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुणासम्म बढी देखिएको छ ।

वायु प्रदुषणको अवस्था सुधारका लागि विशेष पहल गर्न नागरिकले सरकारलाई विशेष आग्रह गरेका छन् । सोही बमोजिम सरकारले यही सोमबारदेखि जोर बिजोर नम्बरका मात्र सवारी चलाउन पाउने नियम बनाएको छ । यसले वायु प्रदुषणको मात्रामा केही कमी ल्याउने अनुमान पनि गरिएको छ ।

बुधबारदेखि बन्द गरिएका नयाँ दिल्लीका सबै प्राथमिक विद्यालयहरु प्रदुषणको अवस्था सुधार नहुदासम्म नखोल्न भनिएको छ । त्यस्तै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीहरुको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न सरकारले आग्रह पनि गरेको छ ।

दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेशनलाई पाँच सय बस भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा नागरिकलाई सुविधा दिन पनि आग्रह गरेको छ ।

नयाँ दिल्लीका उप मुख्यमन्त्री मनिष सिशोडियाले दिल्ली सहरमा प्रत्येक घण्टामा प्रदुषणको स्थितिबारे मापन र निरीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै केही समयका लागि दल्लीमा अवस्थित विद्यालय तथा अन्य संघसंस्थाहरुलाई बाहिर खुला ठाउँमा सार्वजनिक कार्यक्रम एवम् गतिविधि सञ्चालन नगर्न आग्रह गरिएको छ ।

भारतीय मेडिकल संघ आईएमएले जनस्वास्थ्यमा आपतकालको अवस्था रहेको बताएको छ । उक्त संघले प्रदूषणले उत्पन्न गरेको वर्तमान जोखिम कमगर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ ।

दिल्ली सरकारले बुधबार नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्कटकालको घोषणा पनि गरेको छ । त्यसैकारण पनि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमहरु कम भएका छन् ।

राजधानी नयाँ दिल्लीमा प्रया जाडो महिना सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो आउने गर्दछ । केही बर्षयतादेखि नयाँ दिल्लीको वायु प्रदुषणको मात्रा बढ्दै जान थालेकोले यस्तो समस्या देखिएको बताइएको छ ।

नयाँ दिल्लीको औद्योगिकरण, फोहोर र सवारी साधनको चापलाई वायु प्रदुषणको प्रमुख कारकका रुपमा लिने गरिएको छ ।

स्वास्थ्यका अधिकारीहरुले अरु एक दुई दिनमात्र पनि यसैगरी तुवाँलो नहट्ने हो भने यसले नागरिकको स्वास्थ्यमा समस्या देखिन सक्ने अवस्था रहेको बताएका छन् ।

प्रकाशित : कार्तिक २४, २०७४ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

तिलगंगामा आँखाको केमोथेरापी सेवा शुरु हुने

काठमाडौं — तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले सो सेवा शुरु गर्न लागेको जनाएको छ ।

अस्पतालका क्यान्सर विभागका प्रमुख एंव आँखा क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितले केमोका लागि बाहिर बिरामी पठाउँदा उनीहरु फर्केर नआउने, उपचार बीचमै छाड्ने र फ्लोअप जाँचमा नआउने क्रम बढ्दै गएपछि अबको एक महिनापछि सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी गराएका हुन् ।

उनले भने, ‘‘आँखाका क्यान्सर भएका बच्चाका लागि कान्ति बालअस्पतालमा पठाउने गरिएको छ, त्यहाँ पुगेका बिरामी धेरै फर्केर आउदैनन्, हाम्रो निगरानीमा नै उपचार गर्न तिलगंगामा नै यो सेवा शुरु गर्न लागेका हौँ ।’’

एकजना नर्सले तालीम लिएर आइसक्नुभयो, अन्य भौतिक पूर्वाधार निर्माण पनि करिब अन्तिमचरणमा पुगिसकेको छ । उनले भने, “क्यान्सरका बिरामीले पाउने एक लाखसम्मको उपचार सुविधा पनि शुरु गर्ने विषयमा काम भइरहेको छ ।”

‘‘केमो थेरापी गर्नुअघि बेहोस् पारेर हेर्ने मेसिन र रेट क्याम मेसिन (ट्युमर हेर्ने, कति बाँकी छ, पूरै हटेको छ वा छैन, नहटेको भए हटाउने मेसिन) पनि हामीले ल्याउँदैछौं, जुन मेसिन नेपालमै छैन,’’ आँखा क्यान्सर विशेषज्ञ डा. स्थापितले भने । यो मेसिन जर्मनस्थित एक फाउन्डेशनले दान गर्न लागेको जनाइएको छ ।

प्रकाशित : कार्तिक २४, २०७४ १४:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्