कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायती चिकित्सकले सम्झिए– ५० वर्षअघिको नेपालको स्वास्थ्य

नवीन पोखरेल

लन्डन — ४९ वर्षअघि बेलायती चिकित्सक तथा नर्ससहित ११ जनाको टोलीलाई स्थलमार्ग हुंदै नेपाल प्रस्थान गर्न सहज थिएन ।

बेलायती चिकित्सकले सम्झिए– ५० वर्षअघिको नेपालको स्वास्थ्य

विभिन्न युरोपेली मुलुक पार गर्दै इरान, अफगानिस्तान र पाकिस्तान हुँदै त्यो टोली दिल्ली पुग्यो । दिल्लीबाट पटना, रक्सौल हुँदै टोली १९६८ २० मेमा काठमाडौं पुग्दा नयाँ संसारको अनुभव भएको टोलीका सदस्य डाक्टर बार्नी रसडेलले बिहीबार सम्झिए । टोलीका ११ मध्ये ६ सदस्य बिहीबार बेलुका लन्डनस्थित नेपाली दूतावासमा भेला भएका थिए र त्यो संयोग जुटाइदिएको थियो १९६७ मा स्थापित ब्रिटेन नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) ले ।

ट्रस्ट स्थापनाको स्वर्णजयन्ती मनाउन संस्थाका ट्रस्टीहरू, सहयोगदाता, परिवार लन्डन आइपुगेका थिए । नेपाल पुगेको दुई वर्षभित्र ट्रस्टका स्वयंसेवी चिकित्सक तथा तिनका नेपाली सहयोगीले सरकारी स्वास्थ्य कार्यकर्तासँग मिलेर झन्डै ५ लाख नेपाली बालबालिकालाई खोप लगाएको पनि डा. रसडेलले सम्झिए । एक औपचारिक समारोहमा बोल्दै ट्रस्टका सह–अध्यक्ष डा. जिलियन हल्सवर्थले ट्रस्टले काम सुरु गर्दा नेपालमा जम्मा २ सय जना मात्रै डाक्टर रहेको बताइन् । त्यसबेला संसारभरि नै झन्डै एकतिहाइ जनसंख्या क्षयरोगबाट ग्रसित भएकाले नेपालमा क्षयरोगीको पहिचान र उपचारका लागि काम सुरु गरेको उनले बताइन् ।

गएको आधा शताब्दीमा नेपाली स्वास्थ्यकर्मीलाई तालिम दिनुका साथै नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमको विकास गर्न तथा अहिले संसारमै नाम कमाएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको प्रारुप तयार गर्न पनि आफूहरूले योगदान पुर्‍याएको उनले स्मरण गरिन् । पाँच वर्षअघि नेपालमा ब्रिटेन नेपाल मेडिकल ट्रस्टको सहकर्मी संस्थाको रूपमा विराट नेपाल मेडिकल ट्रस्ट दर्ता गरिएको पनि उनले जनाइन् ।

समारोहमा भाग लिन नेपालबाट आइपुगेका विराट नेपाल मेडिकल ट्रस्टका अध्यक्ष महेश शर्माले आफूहरूले बीएनएमटीसँग मिलेर क्षयरोग नियन्त्रण, स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि, प्रशिक्षणलगायतका क्षेत्रमा काम गरिरहेको बताए । उनले दुई वर्षअघि गएको विध्वंशकारी भूकम्पलगत्तै ट्रस्टका सदस्य तथा स्वयंसेवीहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका स्वास्थ्य, सरसफाइ र मानसिक स्वास्थ्यबारे परामर्श सेवा प्रदान गरेको बताए ।

संस्थाका सह–अध्यक्ष प्राध्यापक डाक्टर सूर्य सुवेदीले ब्रिटेन नेपाल मेडिकल ट्रस्टले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिए । उनले नेपालको वर्तमान राजनीतिक विकास क्रम उल्लेख गर्दै नयाँ संविधानको घोषणा र हालै हुन लागेका संघीय तथा प्रान्तीय सभाको चुनावपछि नेपाल आर्थिक समृद्धिको युगमा पुग्ने आशा लागेको बताए । राजनीतिक स्थिरतासँगै आगामी दस वर्षभित्र नेपाल मध्यम आय भएको मुलुकमा पुग्न सक्ने अपेक्षा पनि उनको थियो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल तथा बेलायतबीच २ सय वर्ष पुरानो सम्बन्धलाई जनस्तरमा सुदृढ पार्न ब्रिटेन नेपाल मेडिकल ट्रस्टजस्ता संस्थाको ठूलो योगदान रहेको बताए । उनले ट्रस्ट एउटा प्रतिष्ठित संस्थाका रूपमा रहेको भन्दै नेपाल र नेपालीलाई सघाउने ट्रस्टका सदस्य तथा सबै बेलायती स्वयंसेवीलाई धन्यवाद दिए ।

प्रकाशित : मंसिर २, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?