कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजिप्टको मस्जिदमा आक्रमण, २ सय ३५ मारिए

कायरो — इजिप्टको उत्तरी प्रान्त सिनाईको एक मस्जिदमा शंकास्पद विद्रोहीले शुक्रबार गरेको आक्रमणमा २ सय ३५ जना भन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १ सय घाइते भएका छन् ।

इजिप्टको मस्जिदमा आक्रमण, २ सय ३५ मारिए

प्रत्यक्षदर्शीका अनुसार गाडीमा आएका विद्रोहीले मस्जिदको प्रवेशद्वारमा बम प्रहार गरेलगत्तै अन्धाधुन्ध गोली हानेका थिए । स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार शुक्रबारको प्रार्थनाका समयमा वीर अल अबेद र अल अरिस सहरमा आक्रमण भएको हो । प्रार्थनामा संलग्न सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

घटनालगत्तै राष्ट्रपति अब्दुल फत्तह अल सिसीले सुरक्षा अधिकारीसँग छलफल गरेका छन् । उनले घटनाप्रति दुख व्यक्त गर्दै ‘कायरतापूर्ण आक्रमण’ भएको बताए । घटनापछि राजधानी कायरोको अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीले जनाएका छन् । घटनाको विश्व समुदायले भत्र्सना गरेको छ । अफगानिस्तानका राष्ट्रपति असरप घानीले ट्वीटरमार्फत घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आतंकवाद विरुद्ध विश्व नै एक हुनुपर्ने बताए । बेलायती विदेशमन्त्री बोरिस जोन्सनले आक्रमणलाई आततायी कार्यको संज्ञा दिएका छन् । उनले पिडितहरुप्रति समवेदना व्यक्त गरेका छन् ।

आक्रमण जिहादी विद्रोहीले गरेको आशंका गरिएको छ । गतसाता उनीहरुले सिनाईमा गरिएको आक्रमणमा ५० भन्दा बढी प्रहरी मारिएका थिए ।
इजिप्टमा दशक लामो आन्तरिक द्वन्द्व केही वर्षयता उत्कर्षमा पुगेको छ । सन् २०१३ मा सेनाले राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेपश्चात् द्वन्द्वका घटनामा उल्लेख वृद्धि भएको हो । त्यसयता सिनाई प्रान्तमा मात्रै सयौं प्रहरी, सेना तथा सर्वसाधारण मारिइसकेका छन् । सिनाई इस्लामिक स्टेटको प्रभाव क्षेत्र हो ।
बेइत अल मक्दिसको रूपमा सन् २०११ को सेप्टेम्बरदेखि क्रियाशील सिनाई विद्रोहीले २०१४ देखि इस्लामिक स्टेट स्थापनाका लागि लडदै आएको जनाएका हुन् । उनीहरुले हालैका महिनामा इजिप्टका सेना तथा प्रहरी लक्षित आक्रमण गर्दै आएका छन् । सिनाई प्रान्तमा खासगरी जुन्ड अल इस्लाम, अल मुरावितुन, अजनद मिसर, अल फुर्कान ब्रिगेड र सलाफिस्ट जिहादिस्टलगायतका विद्रोही समूह क्रियाशील छन् ।

जुन्ड अल इस्लामले यसअघि रूसी जहाज खसालेको दाबी गरेका थिए । अधिकारीले उनीहरुको अल कायदासँग साँठगाँठ रहेको बताउने गर्छन् । जुन्ड अल इस्लामले सन् २०१३ मा सिनाईको उत्तरी क्षेत्रमा अवस्थित सेनाको खुफिया संयन्त्रको मुख्यालयमा भयानक आक्रमण गरेका थिए ।

प्रकाशित : मंसिर ८, २०७४ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?