कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जिम्बाब्वेमा ३७ बर्ष अघिकै खुशियाली छायो’

जनतालाई भुल्दै पारिवारिक मोहमा पर्दाको उदाहरण हो जिम्बाब्वेको घटना : राष्ट्रसंघीय संयोजक पराजुली
चन्द्रशेखर अधिकारी

काठमाडौं — जिम्बाब्वेमा ३७ वर्षपछि फेरी उस्तै प्रकारको राजनीतिक खुशियाली फर्केको छ । ३७ बर्षअघि रोबर्ट मुगावे सत्तामा पुग्दा जुन खुशी र उत्साह थियो अहिले मुगावे सत्ताच्युत भएर नयाँ राष्ट्रपतिमा एमरसन मनाङगाग्वा उदाउँदा पनि उस्तै खुशी र उत्साह छाएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।

‘जिम्बाब्वेमा ३७ बर्ष अघिकै खुशियाली छायो’

जिम्बावेका लागि राष्ट्रसंघका आवासीय स्थायी संयोजक तथा राष्ट्रसंघिय विकास कार्यक्रमका स्थायी प्रतिनिधि विश्व पराजुलीले पनि जनताको खुशीले जिम्बाब्वे नयाँ लोकतान्त्रिक युगमा प्रवेश गरेको देखिएको बताए ।

‘जिम्बावेमा एक प्रकारको अनौठौ खुशी छाएको छ । मुलुक विकासको पाइलामा अघि बढ्ने आशा जनतामा देखिएको छ । मुगावेको राजिनामापछि नै जनता सडकमा उत्रेर खुशीयाली मनाएका थिए,’ कान्तिपुरसँग टेलिफोनमा पराजुलीले भने, ‘शुक्रबार सम्पन्न नयाँ राष्ट्रपति मनाङगाग्वाको शपथग्रहण कार्यक्रममा पनि सबै उत्साहित देखिए । त्यहाँ सत्ताच्युत हुन बाध्य मुगावेको उपस्थिति नभएपनि वर्तमान सरकारले उनको र परिवारको सुरक्षाको भने ग्यारेन्टी गरेको छ । तर, खुम्चिएका जनता कसरी स्वस्फूर्त हुन्छ भन्ने उदाहारण पनि बनेको छ जिम्बाबेको खुशीयाली ।’

दबाव मुलुक एक पक्षीय शासन चलाएका रोबर्ट मुगावेले राजनीतिक दलभन्दा पनि बढि पारिवारीक हुन खोज्दा नेतृत्वबाट बिदा हुन परेको उनको बुझाई छ । आरम्भमा निकै सम्मानित मुगावे सत्ताको मोह र शक्ति दुरुपयोगका साथै आफन्तको चंगुलमा परेर यो अवस्थामा आएको अनुमान गर्न सकिने  उनले बताए । यो प्रकारको राजनीतिक मोह राख्नेले जनताको बललाई ख्याल गर्न पर्ने पराजुलीको सुझाव छ । अल्पविकसित मुलुकका नेताहरु अर्थोपार्जन र आफन्त मोहमा पर्दै आफ्नो धरातल विर्सदा उकुसमुकुस भएका जनता कार्यकर्ता उल्टिता नतिजा अर्कै आउने बुझ्न जरुरी रहेको पनि पराजुलीले बताए ।

जनता र सेनाको दबावमा राजीनामा दिन बाध्य मुगावे पछिल्लो समय पत्निलाई सत्तामा ल्याउन कस्सिएर लागेका थिए । त्यही नै उनको शासनको अन्त्यको एक ठूलो बज्र बन्न पुग्यो, पराजुलीले सुनाए । उनको सत्तामा बस्ने र पत्नीलाई उत्तराधिकारी बनाउने शैली असफल भएपछि अफ्रिकी महादेशका निरंकुश र निरंकुश हुन खोज्नेहरुलाई समेत सवक भएको भन्दै पराजुलीले सुनाए, ‘यसको असर प्राय: अफ्रिकाको शासकहरुमा पर्छ नै । जुन  कुरा संचारमाध्यमहरुमा आउन थालेको छ । संचारमाध्यमहरु यस्तो विषयमा बढि नै सचेत बनेका छन ।’

सन १९८२ देखि नै अफ्रिकाको विभिन्न मुलुकमा काम गर्दै आएका पराजुली अहिले राष्ट्रपति निवास भन्दा तीन सय मिटर नजिकै बस्छन् । पूर्व राष्ट्रपति र वर्तमान राष्ट्रपतिसँग बाक्लै भेटघाट गर्ने विदेशी ब्यक्ति मध्येका पराजुलीले भने, ‘मुगावेको शुरुवाती केही बर्ष मुलुकको विकासको लागि उत्कृष्ठ नै रह्यो । तर पछि आफै शासक बन्न खोज्दा उनको यो हालत बन्यो । तत्कालिन अवस्थामा उनलाई जिम्बावेका नेल्सन मण्डेलाको रुपमा हेरिन्थ्यो ।’ 

नवनियुक्त राष्ट्रपति एमरसन मनाङगाग्वाले पूर्व राष्ट्रपति मुगावेसँग लामो सहकार्य गरेका छन् ।  उनले मुगावेलाई राष्ट्रनिर्माणमा ठूलो योगदान दिएको सपथ ग्रहणमा नै बताउदै भने, ‘ हाम्रा गुरु र मित्र मुगावेले शुरुवाती एक/डेढ दशक मुलुकको विकासमा लगाएको योगदानलाई भुल्न हुँदैन । हामीले आजदेखि देशलाई आश्चर्यजनक पूर्ण लोकतान्त्रिक मुलुक बनाउन सुरु गरेका छौं ।’ अन्तराष्ट्रिय सहायता र रोजगारी नै प्रमुख आवश्यकता रहेको पनि उनले बताए । उनी शपथ लिन दक्षिण अफ्रिकाबाट जिम्बावे आएका थिए । 

राजधानी हरारेस्थित खचाखच भरिएको रंगशालामा ६० हजार भन्दा बढि समर्थकहरूका बीचमा मनाङगाग्वाको धारणा उद्धृत गर्दै पराजुलीले भने, ‘विदेशी लगानीलाई प्रोत्साहन दिनेछौ । समयमा निर्वाचन गर्दै राजनीतिक स्थायित्व गर्दै आर्थिक अवस्था सुधारमा अघि बढ्नेछौं ।’  उनले यसो भनिरहँदा जनताको समर्थन पनि पाइरहेको बताए । अल्पसंख्यक गोराको स्वामित्वमा रहेका जमिन खोस्ने मुगावेको विवादास्पद नीति आफुले नउल्ट्याउने जानकारी उनले दिए । 

धेरैको अनुमान त्यो उल्टिन्छ भन्ने थियो । तर, पुराना मालिकलाई क्षतिपूर्ति दिने बताएको पराजुलीले सुनाए । भूमिसुधारको यो विषय त्यहाँको पछिल्लो र निकै विवादस्पद मध्येको एक हो । नयाँ जग्गावालाले त्यहाँ खेती गर्न सक्ने भन्दै त्यसमा ढुक्क हुन समर्थकलाई उनले आग्रह गर्दै अव यो समस्या नहुने बताएका थिए ।

उक्त शपथग्रहण कार्यक्रममा बोत्सवना, मोजाम्बिक र जाम्भियाका राष्ट्रपतिहरु तथा नामिभियाको उपराष्ट्रपति सहभागी भएको पराजुलीले बताए । सबैले उनको सर्थन गर्दै शान्तिपूर्ण भएको यो प्रक्रियाको प्रशंसा गरेका थिए । ७५ बर्षीय मनाङगाग्वा १० बर्ष जेल जीवन विताएका र ३७ बर्ष शासन, दल, संसदीय पदमा रहेर खारिएर यहाँसम्म आइपुगेका अनुभवी नेता हुन् । उनले सफलता पूर्वक लोकतान्त्रिक तवरले निर्वाचन गराएर आफु अघि बढ्ने विश्वास ब्यक्त गरेको पराजुलीले बताए । मुगावेको विश्वास पात्र बनेका उनी पछिल्लो समय मुगावेको पत्नीलाई राष्ट्रपतिमा अघि बढाउने भएपछि त्यसमा फरक मतराख्दा सत्ताबाट निकालिएका थिए । उनै ब्यक्ति अहिले मुलुकको विकासलाई उचाई दिन सेना र जनताको साथ लिएर राष्ट्रपति बने ।

उनले सन २०१८ मा हुने निर्वाचन समयमा नै हुने घोषणा गरेर विकासको लागि आफू अघि बढ्ने संकेत गरेको पराजुलीले बताए । धैर्यताको साथ शान्तिपूर्ण ढंगले ३७ बर्ष लामो शासनको अन्त्य हुनु चानचुने कुरो थिएन भन्दै पराजुलीले भने, ‘यो समयको माग हो । जनता खुशी देखिन्छन् । अहिले जिम्बावेको आर्थिक अवस्था राम्रो छैन । तर शिक्षा र चेतनामा अफ्रिकी महादेशमा नै माथि छ । यसलाई अघि बढाउन सक्नुपर्छ ।’  मुगावे समेत उपस्थित हुने भनिएको सपथग्रहण कार्यक्रममा गहिरो थकानको कारण उनी उपस्थित हुन नसकेको बताइएको थियो । पराजुलीले भने, ‘नेता हुनेहरुले यस्ता घटनालाई सम्झन सक्नुपर्छ । कुरा मात्र गरेर मुलुक बन्दैन । नेता र नेतृत्व भनेको काममा देखिनुपर्छ ।’ अपार प्राकृतिक स्रोत रहेको मुलुक जिम्बावे नेपाल भन्दा अढाई गुणा ठूलो छ । त्यहाँको जनसंख्या नेपालको भन्दा आधा छ ।

प्रकाशित : मंसिर १०, २०७४ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?