कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा हिंसा चर्कियो, नियन्त्रण गर्न सेना तयार

एजेन्सी

इस्लामाबाद — पाकिस्तानी सेनाले राजधानी इस्लामाबादलगायतका मुख्य सहरमा इस्लामवादीले गरेको प्रदर्शनका क्रममा चर्किएको हिंसा नियन्त्रण गर्न तयार रहेको जनाएको छ ।

पाकिस्तानमा हिंसा चर्कियो, नियन्त्रण गर्न सेना तयार

सरकारले शनिबारदेखि जारी हिंसात्मक प्रर्दशन नियन्त्रण गर्न अर्धसैनिक बल असफल भएपछि सेनालाइै आग्रह गरेको थियो । यसअघि प्रहरी र अर्धसैनिक बलको संयुक्त फौजले आन्दोलनकारीलाई भगाउन शनिबार बल प्रयोग गरेको थियो । उनीहरू अवरोध हटाउन असफल भएपछि सरकारले सेना परिचालनका लागि आदेश जारी गरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । 

पाकिस्तानी समाचार संस्थाका अनुसार प्रदर्शनका क्रममा हालसम्म ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । फैजाबादस्थित एउटा प्रमुख राजमार्गमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा २ सयभन्दा बढी मानिस घाइते भएको जनाएका छन् । घाइतेमध्ये ९५ जना प्रहरी छन् । प्रहरीले ३ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । राजधानी इस्लामाबादमा तेहरिक–ए–लब्बैक (टीएलपी) र रसुल अल्लाह पार्टीले तीन सातादेखि गरेको धर्नामा शनिबार सुरक्षा फौजले हस्तक्षेप गरेपछि स्थिति असामान्य बनेको हो ।

 अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इस्लामाबादबाट सुरु भएको आन्दोलन कराँची, पन्जाब र लाहोरमा समेत फैलिएको छ । पन्जाब सरकारले सोमबार र मंगलबार सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको जनाएको छ । अधिकारीका अनुसार प्रदर्शनकारीले दर्जनौं गाडीमा आगजनी गरेका छन् । उनीहरूले प्रमुख राजमार्गहरूमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई भगाउन दर्जनौं राउन्ड अश्रुग्यास तथा रबरका गोली प्रहार गरेको छ । सरकारले गत नोभेम्बर ८ देखिको आन्दोलन दबाउन ८ हजार ५ सय प्रहरी र अर्धसैनिक बल परिचालन गरेको छ । 

चुनाव सुधार विधेयक २०१७ मा भएको संशोधनको विरोधमा सुरु भएको धर्नामा प्रहरीले शनिबार हस्तक्षेप गरेको थियो । संशोधनमा पैगम्बर मोहम्मदको सर्वोच्चताका विरुद्धका प्रावधान समेटिएपछि इस्लामिक प्रदर्शनकारीले विरोध जनाएका थिए । 

आन्दोलनकारीले ‘ईश्वरको निन्दा’ गरेको भन्दै कानुनमन्त्री जाहिद हमिदको राजीनामाको माग गर्दै आएका छन् । प्रदर्शनकारीले कानुनमन्त्री हमिदको पन्जाबस्थित निवासमा आक्रमण गरेका छन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार आक्रमणका समयमा हमिद र उनको परिवारका सदस्य घरमा नभएकाले कुनै मानवीय क्षति भने भएको छैन । आन्दोलनकारीले पूर्वआन्तरिक मन्त्री चौधरी निसारको घरमा समेत आगजनी गरेका छन् । 

सरकारले धार्मिक नेता खादिम हुसेन रिज्भीलाई प्रान्तीय राजधानी प्रवेशमा रोक लगाएपछि पाकिस्तानका प्रमुख सहरमा आन्दोलन फैलिएको हो । उनीहरूले शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित नगर्ने जनाएका छन् । 

उच्चस्तरीय छलफल
यसैबीच, पाकिस्तानी समाचार संस्था डाउनले हिंसा अन्त्य गर्न पाकिस्तानी राजनीतिज्ञ र उच्च अधिकारीले आन्दोलनरत पक्षसँग राजनीतिक वार्ता सुरु गरेको जनाएको छ । यसबारे आधिकारिक भनाइ सार्वजनिक नभएको जनाइएको छ । राजधानी इस्लामाबादमा प्रधानमन्त्री शाहिद खकान अब्बासी, सेना प्रमुख कमार जवेद बजवा, आन्तरिक मन्त्री अहसान इकबाल र गुप्तचर सेवाका महानिर्देशक नाभिद मुख्तरले पछिल्लो स्थितिबारे छलपल गरेका छन् । प्रधानमन्त्री निवासमा भएको वार्तामा सहभागीहरू समस्याको राजनीतिक समाधान गर्नुपर्नेमा सहमत भएको डाउनले जनाएको छ । 

प्रकाशित : मंसिर ११, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?