कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल बिदा शशि कपुर

काठमाडौं — बाल कलाकारबाट अभिनय यात्रा थालेर पूरा करिअर बलिउड र केही अंग्रेजीभाषी गरी १ सय ५० फिल्म खेलेका अभिनेता शशि कपुरको ७९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ ।

अल बिदा शशि कपुर

तीन सातादेखि मुम्बईको अस्पतालमा उपचाररत कपुर पछिल्लो समय मृगौलासम्बन्धी रोगका कारण अस्वस्थ थिए । सन् २०१४ मै उनको छातीमा इन्फेक्सन देखिएको थियो भने त्यसअघि नै बाइपास सर्जरी गरिएको थियो । उम्दा अभिनेता पृथ्वीराजका कान्छा छोरा शशिका दुई दाजुहरू राज र शम्मीको पनि निधन भइसकेको छ । दादा साहेब फाल्के र पद्मभूषण पुरस्कारद्वारा सम्मानित शशिको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउडका लगभग सबैजसो सेलेब्रिटीसम्मले गहिरो दु:ख प्रकट गरेका छन् ।

बुबा पृथ्वीराज निर्देशित नाटकबाट अभिनय थालेका शशिले सन् १९४० को दशकमा बालकलाकारका रूपमा फिल्म पनि खेले । शशिलाई सुरुआती चरणमा विशेषत: ‘आग’ (१९४८) र ‘आवारा’ (१९५१) ले चिनाएका थिए । १९६१ को ‘धर्मपुत्र’ ले उनलाई अभिनेताका रूपमा ख्याति दिलाएको थियो । ट्रेडमार्क मुस्कानका कारण बढी चर्चित उनले पूरा करिअरमा ६१ फिल्ममा लिड हिरोका रूपमा खेले भने ५५ मल्टिस्टार फिल्ममा देखिए । शशिले १९६३ मा पहिलो पटक ‘हाउस होल्डर’ नामक विदेशी फिल्म र त्यसपछि ‘वल्लाह’ मा अभिनय गरेका थिए । 

६० को दशकदेखि ८० को मध्यसम्म चर्चाको शिखरमा रहेका शशिको बलिउडमा राखी, हेमा मालिनी र जिनत अमानसँगको जोडी खास जम्थ्यो । शशिले अमिताभ बच्चनसँग एक दर्जन फिल्ममा सँगै काम मात्रै गरेनन्, उनीहरूको टिमअप लोकप्रिय पनि थियो । ‘काला पत्थर’, ‘सुहाग’ र ‘शान’ अमिताभ–शशि अभिनित फिल्म निकै हिट भएका थिए ।

शशिलाई आज पनि ‘दिवार’ मा को–एक्टर अमिताभ बच्चनलाई भनेको ‘मेरे पास माँ है’ का कारण सम्झने धेरै छन् । क्रिकेटर वीरेन्द्र सहवागले पनि ट्वीटरमा सोही डायलगमार्फत शशिको निधनप्रति समवेदना व्यक्त गरेका छन् । अमिताभसँगैको अर्को फिल्म ‘कभी कभी’ बाट भने उनी शीर्षगीत ‘कभी कभी मेरे दिल में...’ का कारण बढी चर्चित भए । अमिताभ र निर्देशक यश चोपडासँग शशिको सहकार्य त्यस बखत ‘दिवार’, ‘कभी कभी’ र ‘त्रिशूल’ बाट अत्यधिक सफल रहेपछि ‘काला पत्थर’ मा दोहोरिएका थिए । ‘काला पत्थर’ फिल्म फेयर अवार्ड्समा आठ विधामा मनोनयनमा परेको थियो । १९८६ मा उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड भने शशिलाई ‘न्यु दिल्ली टाइम्स’ ले दिलाएको थियो । त्यो फिल्ममा उनी एक आदर्शवादी पत्रकारको भूमिकामा देखिएका थिए ।

‘उहाँको उत्कृष्ट अभिनयलाई आगामी कैयौं पुस्ताले पनि सम्झिरहनेछ । उहाँको निधनका कारण मलाई गहिरो दु:ख लागेको छ । परिवार र प्रशंसकप्रति समवेदना,’ भारतीय प्रधानमन्त्रीले ट्वीटेका छन् । अमिताभले भने सोमबार राति अबेरसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । आमिर खानले बिना क्याप्सन शशिको श्यामश्वेत तस्बिर ट्वीट गरेका छन् ।

विख्यात गायिका लता मंगेशकरले पनि ट्वीटमा लेखेकी छन्, ‘मलाई भर्खरै थाहा भयो, गुणी अभिनेता शशि कपुरजीको आज स्वर्गवास भएछ । यो सुनेर मलाई निकै दु:ख लागेको छ । उहाँ असाध्यै राम्रो मान्छे हुनुहुन्थ्यो । विनम्र श्रद्धाञ्जली ।’ त्यसैगरी अजय देवगण, विपाशा बसु, सुस्मिता सेनलगायतले पनि दु:ख व्यक्त गरेका छन् ।

जेनिफर केन्डलसँग विवाह गरेका शशिका दुई छोरा कुनाल र करण तथा छोरी सञ्जना छन् ।

उत्कृष्ट फिल्म
१. दिवार
२. कभी कभी
३. काला पत्थर
४. न्यु दिल्ली टाइम्स
५. शर्मिली
६. सुहाग
७. सत्यं शिवं सुन्दरम्
८. जुनून
९. कलियुग
१०. नमक हलाल
११. इन कस्टडी

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?