कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेताहरूले गलत प्रयोग नगरून्’

सामाजिक सञ्जालबारे ओबामाको सुझाव
बीबीसी/सीएनएन

लन्डन — अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जाललाई गैरजिम्मेवारपूर्ण तरिकाले प्रयोग नगर्न चेतावनी दिएका छन् । गत जनवरीमा पदबाट हटेयता दिएको ‘दुर्लभ’ मानिएको अन्तर्वार्तामा उनले सामाजिक विभाजनलाई प्रोत्साहन गर्ने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न नेतृत्व तहमा रहेका व्यक्तिहरूलाई आग्रह गरेका हुन् ।

‘नेताहरूले गलत प्रयोग नगरून्’

यस्ता खालका क्रियाकलापले जटिल मुद्दाबारे मानिसको बुझाइलाई असर पार्ने र गलत सूचना फैलाउने उनको भनाइ थियो । ‘सबै नेतृत्वतहले यस्तो तरिका खोजौं, जसबाट हामीले इन्टरनेटमा साझा स्थान सिर्जना गर्न सकौं,’ उनले भनेका छन् ।

बीबीसीको रेडियो फोरको ‘टुडे प्रोग्राम’ का लागि बेलायती राजकुमार हयारीले लिएको अन्तर्वार्तामा ओबामाले उक्त कुरा बताएका हुन् । क्रिसमसका बेला बीबीसीको ‘पाहुना कार्यक्रम’ का थुप्रै चर्चित व्यक्तित्वमध्ये हयारी पनि थिए ।

अन्तर्वार्तामा ओबामाले मानिस तथ्यभन्दा पनि आफ्ना विचारलाई बढावा दिने खालका समाचार सुन्न र हेर्न उत्सुक हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘इन्टरनेटको एउटा खतरा भनेको मानिसमा पूर्णरूपमा अलग वास्तविकता हुन सक्छ, उनीहरू आफ्नै पक्षपोषण गर्ने खालको सूचनामा जेलिएका हुन सक्छन्,’ उनले भने ।

ओबामाले नेताहरूको सामाजिक सञ्जाल प्रयोगको आलोचना गरे पनि आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पको नाम भने लिएनन् ।

ट्रम्पलाई सामाजिक सञ्जाल ट्वीटर अत्यधिक प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर ट्रम्पले भने अमेरिकी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन प्रयोग गरेको दाबी गर्दै आएका छन् ।

ओबामाले भने जनतासँगको प्रत्यक्ष सम्पर्क गर्दा विभिन्न विचारसँग अन्तक्र्रिया गर्न सकिने सुझाव दिएका छन् । इन्टरनेटमा ‘अफलाइन’ रहेर समुदायका सदस्यहरूसँग भेट गर्ने कुरा महत्त्वपूर्ण हुने उल्लेख गर्दै भने, ‘इन्टरनेटमा हरेक कुरा सरल हुन सक्छन्, तर जब मानिसलाई प्रत्यक्ष भेट्नुहुन्छ, उनीहरू जटिल भएका पाउन सक्नुहुनेछ ।’

पूर्व राष्ट्रपति ओबामाले सामाजिक सन्जाललाई परिवर्तनका लागि प्लेटफर्म बनाउन सकिने बताउँदै ‘हयासटयाग’ ले मात्र परिवर्तन नहुने बताए । ‘चेतना वृद्धिका लागि यो शक्तिशाली उपाय हुन सक्छ, तर परिवर्तनका लागि फिल्डमै उत्रिएर वास्तविक रूपमा केही गर्नैपर्छ,’ उनले भने ।


‘मिश्रित अनुभव’

पद छाडेपछिका दिनमा कस्तो अनुभव भइरहेको छ भनेर सोधिएको प्रश्नमा उनले आफूहरूले आधारभूत रूपमा परिवर्तत हुन नसकेको अखण्डता संरक्षण गर्ने हिसाबले काम गरेको र त्यसमा सन्तोष अनुभूति भएको प्रतिक्रिया दिए । तर केही हुन नसकेका काम र देश कसरी अगाडि बढिरहेको छ भन्ने चिन्ताले मिश्रित अनुभूति भएको उनको भनाइ थियो ।

अन्तर्वार्तामा उनले आफ्नी पत्नी मिसेललाई पनि सम्झिए । राजनीतिक चासो नहुँदा पनि आफूलाई पूर्णरूपमा सहयोग र समर्थन गरेको भन्दै उनले मिसेललाई ‘असाधारण, स्नेही र रमाइलो’ व्यक्तिका रूपमा चित्रित गरे ।

उनले राष्ट्रपतिको पद छाडे पनि अमेरिका र सम्पूर्ण विश्वलाई सबै बालबालिकाले शिक्षा पाउने, काम गर्ने, मानिस बाँच्न सक्ने हिसाबले सेवासुविधासहितको रोजगारी पाउन सक्ने र पृथ्वीमा भएका अभूतपूर्व स्रोतको संरक्षण गर्ने थलो बनाउने विषयमा आफ्नो चासो रहेको बताए । ‘यसबाट भविष्यका पुस्ताले हामीहरूजस्तै यस स्थानको सुन्दरताको आनन्द लिन सकून्,’ उनले भने ।

प्रकाशित : पुस १३, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?