कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मायादेवीलाई अंग्रेजीमा ल्याउँदै जापानी

मनोज पौडेल

कपिलवस्तु — उमेरले चार बीस बढी । तर जोसजाँगर भने युवाभन्दा कम छैन । विषय विज्ञता पनि उत्तिकै अब्बल । यी हुन् ८२ वर्षीया जापानी लेखिका हारुयो मासुदा ।

मायादेवीलाई अंग्रेजीमा ल्याउँदै जापानी

डेढ दशकदेखि मायादेवीबारे खोज अनुसन्धान गर्दै पुस्तक प्रकाशन गर्दै आएकी उनी यति बेला नेपाल आएकी छन्, अर्को किताब लेख्न ।

यसपटक उनी अंग्रेजी भाषामा ‘बुद्धकी आमा मायादेवी’ पुस्तक लेखनका लागि नेपाल आइपुगेकी हुन् । बुद्धस्थल तिलौराकोटस्थित महारानी मायादेवीको समाधिस्थल मानिने धमनिहवा स्तूपमा पूजाआजा गरेर उनले पुस्तकको अनुवाद थालनी गरेकी छन् ।

यसअघि जापानी भाषामा ‘बुद्धन हाहा माया फुजिङ’ (बुद्धकी आमा मायादेवी) नामक पुस्तक निकालेकी थिइन् उनले । ‘यो पुस्तक अनुवाद मात्रै हुने छैन,’ उनले भनिन्, ‘थप नयाँ तथ्यहरू पनि राखेर पुनर्लेखन सहितको हुनेछ ।’

मायादेवीको समाधिस्थलमै आएर परित्राण पाठ गर्दा धेरै ऊर्जा मिल्ने दाबी गर्दै उनले नयाँ कामको थालनीको आरम्भविन्दु पनि यसैलाई रोजेको बताइन् । उनको साथमा जेठी छोरी कायोको मासुदा पनि छिन् ।

बुद्धस्थल आउँदा शान्ति, माया, प्रेम र करुणा भाव मिल्ने र त्यसले ऊर्जा प्रदान गर्ने भएकोले आमालाई लिएर आएको उनले दाबी गरिन् । कपिलवस्तुबाटै लेखन शुभारम्भ गरे पनि जापानमा गएर पूरा गर्ने योजना बनाएकी छन् लेखिकाले ।

जापानकै ठूलो मानिने कोदाङसा प्रकाशनले चार वर्षअघि मायादेवी सम्बन्धी हारुयाको किताब छापेको थियो । ‘मायादेवीमाथि कसैले सोधखोज गरेनन्, त्यही भएर डेढ दशक समय खर्चेर पुस्तक लेखेकी हुँ,’ उनले भनिन्, ‘यसलाई अब अंग्रेजीमा लान सकियो भने संसारभरका मानिसले मायादेवीबारे थाहा पाउँथे ।’

मायादेवीमाथि पुस्तक प्रकाशित गर्ने यिनी संसारकै पहिलो महिला लेखिकासमेत हुन् । परिमार्जन सहितको अंग्रेजी किताब भने ४ महिनामा तयार पार्ने र आउँदो वैशाख पूर्णिमाका दिन लुम्बिनीमै आएर सार्वजनिक गर्ने उनको योजना छ ।

पुस्तकमा मायादेवीको योगदान, संघर्ष र महिमा उल्लेख गरिने उनले बताइन् । उनले संसारका आमालाई मायादेवीले बालबालिकालाई कसरी सुरक्षित रूपमा समाजका लागि जन्माउन सकिन् भन्ने विषयमा समेत पुस्तकमा विश्लेषण गरेको बताइन् ।

‘मायादेवी संसारकै आमा हुन्,’ पुस्तक लेखेपछि अमेरिका, चीन, जापान, बेलायत र जर्मनका धेरै विश्व विद्यालयले बोलाएर आफूलाई प्रवचन दिन लाएको सम्झिँदै हारुयोले भनिन् ।

जिज्ञासु स्वभावकी उनलाई पुस्तक लेख्न भने अनौठो संयोग जुरेको रहेछ । टोकियोमा चिया व्यापार गरिबस्ने हारुयोलाई ४५/५० वर्षको उमेरमा बालबालिकालाई कसरी राम्रो बनाई मुलुकप्रति उत्तरदायी बनाउन सकिन्छ भन्ने लाग्यो ।

त्यसपछि यिनले छिमेकी आमाहरू भेला गरेर छलफल चलाइन् । छलफलबाट नाम चलेका व्यक्ति जन्माउने आमाको अध्ययन गर्नुपर्ने निष्कर्ष निस्कियो ।

त्यसपछि हारुयो देशविदेश लागिन् आमाहरूको अध्ययन गर्न । उनले जेरुसलम पुगेर जिजस क्राइट्सकी आमा मदर मेरी र नेपाल आएर बुद्धकी आमा मायादेवीको अध्ययन थालिन् भने जर्मनी पुगेर राजनीतिज्ञ बाँड्ने जेक्काकी आमा र जापानमै पहिलो बुद्ध शिक्षा फैलाउने महागुरु निचिरेनकी आमा अध्ययन गरिन् । यी ४ आमामध्ये अहिंसाका प्रतीक बुद्धकी आमाको थप अध्ययन गर्न उत्साहित भइन् । ‘अनि किताब तयार भयो,’ उनले सुनाइन् ।

पुस्तक प्रकाशनका लागि सामग्री जुटाउन १५ वर्षमा २५ पटक बढी नेपाल आएको उनले दाबी गरिन् । मायादेवी जन्मेको देवदह, तपस्या गरेको दाउन्ने पहाड, छोरा जन्माएको लुम्बिनीबारेमा धेरै खोज अध्ययन गरेकी उनले तत्कालीन राजधानी तिलौराकोटमा मायादेवी बस्ने ठाउँ, नुहाउने पोखरी र पूजाआजा गर्ने थलो पटक–पटक चहारेकी छन् ।

यही क्रममा उनी भारत बौद्धगाया, कुशीनगर, श्रावस्ती, राजगिर, कौशाम्बी, अंगुलीमाल र सारनाथ लगायतका थलो पनि पुगिन् । अहिले यिनी बालबालिका राम्रो बनाउन पहिला आमाबाबुलाई शिक्षा–दीक्षा दिनुपर्छ भन्ने उद्देश्यले जापानमै संस्था खोलेर लागि परेकी छन् ।

समाज, परिवार र शान्तिलाई आधार बनाएर यसअघि उनले जापानी भाषामा एक दर्जन पुस्तक लेखकी छन् ।

प्रकाशित : पुस १६, २०७२ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?